News Summary
Generated by OK AI. Editorially reviewed.- जसपा सांसद पूजा चौधरीले सरकारी स्वास्थ्य संस्थामा औषधि र खोपको चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।
- उनले नेपालका २४.९ प्रतिशत नागरिकले उपचार खर्च आफैं बेहोर्नुपर्दा आर्थिक कठिनाइ भोग्नुपरेको तथ्य विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमार्फत खुलाएकी छिन्।
- मधेश प्रदेशमा सर्पदंशको जोखिम बढेकाले एन्टि स्नेक भेनमको मौज्दात विवरण सार्वजनिक गर्न उनले सरकारसँग माग गरेकी छिन्।
२८ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद पूजा चौधरीले सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि तथा खोपको चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चौधरीले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याका बारेमा सरकारको ध्यनाकर्षण गराएकी हुन् ।
सांसद चौधरीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क प्रश्तुत गर्दै नेपालका करिव २४.९ प्रतिशत नागरिकले उपचारका लागि आफ्नै खल्तीबाट खर्च गर्नुपर्दा आर्थिक कठिनाइ भोग्नुपरेको बताइन् ।
सरकारी स्वास्थ्य संस्थामा खरिद प्रक्रिया समयमै अघि नबढ्दा गर्भवती, सुत्केरी र किशोरीहरूका लागि आवश्यक आइरन चक्की तथा रेबिजविरुद्धको खोपको अभाव भएको उनले उल्लेख गरिन् ।
मधेश प्रदेशमा गर्मी र वर्षायामको शुरुवातसँगै सर्पदंशको जोखिम बढेको प्रति चिन्ता व्यक्त गरिन् । उनले मधेश प्रदेशका कुन अस्पताल र उपचार केन्द्रमा कति ‘भाइल’ एन्टि स्नेक भेनम मौज्दात छ, सोको विवरण उपलब्ध गराउन सरकारसँग माग गरिन्।
‘सरकारी स्वास्थ्य केन्द्रहरूमा एन्टि स्नेक भेनमको उपलब्धता अत्यन्त न्युन छ । एउटा केन्द्रमा औषधि सकिँदा अर्को केन्द्रबाट ल्याउनुपर्ने अवस्थाले बिरामीको ज्यान जोखिममा परेको छ,’ उनले भनिन् ।
सांसद चौधरीले नेपालको समृद्ध विविधता, संस्कृति र परम्परालाई अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन सरकार र सम्बन्धित निकायलाई सचेत गराइन् ।
प्रतिक्रिया 4