News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर बिन्दुमा पुगेको बताएका छन् ।
- १८ औं नाडा अटो शो २०२६ को उद्घाटनमा उनले अर्थतन्त्र चूनौतीपूर्ण र बजार शिथिल भएकाले समग्र माग बढ्न नसकेको बताए ।
- श्रेष्ठले अटोमोबाइल क्षेत्रमा गत आवमा १ खर्ब ६ अर्बको आयात र ८१ अर्ब राजस्व योगदान भएकाले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
९ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताएका छन् । १८ औं नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु ।’ अर्थतन्त्र चूनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल रहेको उनले बताए । उनले भने, ‘समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन् । व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ ।’
नयाँ सरकारले बजेटको प्रतिवद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको उनले बताए । ‘सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेको छ, ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता छ,’ उनले भने, ‘बजेटका घोषणा अगाडि बढेनन् ।’ सो अनुसारका रणनीति नआएको उनको भनाइ छ । अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको समेत उनले बताए ।
अटोमोबाइल क्षेत्रमा गत आवमा १ खर्ब ६ अर्बको आयात भएको तथ्यांक प्रस्तुत गर्दै सो आयातबाट राज्यले ८१ अर्ब राजस्व संकलन गरेको उनले बताए । यति ठूलो राजस्व दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट हुनु पर्ने उनको माग छ । उनले भने ‘१२ खर्ब राजस्व मध्ये एक्लैले ८१ अर्ब योगदान गर्ने क्षेत्रलाई सरकारको प्राथमिकता हुनु पर्छ ।’
अटोमोबाइल क्षेत्रमा आयात प्रतिस्थापनका लागि स्वदेशमै उद्योग खुल्नु पर्ने भन्दै त्यसका लागि राज्यको संरक्षण आवश्यक रहेको उनले बताए । उनले भने, ‘कतिपय उद्योग खुले, तर सरकारले ध्यान दिएन, समस्या बुझेन ।’
वर्तमान सरकारले बन्द रहेका उद्योग खोल्ने तदारुकता देखाएकोमा उनको फरक टिप्पणी छ । सरकारले दशकौंसम्म बन्द उद्योग खोल्दै गर्दा चलिरहेका उद्योगको अवस्था के छ भन्नेमा ध्यानै नदिइएको उनले गुनासो गरे । उनले भने, ‘भुइँको टिप्दा पोल्टाको खस्ला भन्नेमा सचेत गराउन चाहन्छु ।’
प्रतिक्रिया 4