News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतमा ठूलो क्षति पुर्याउँदा ९५ शव फेला परेका छन् र पहिचान बाँकी छ।
- बाढीपछि नेपाल प्रहरीका ३२, सशस्त्रका ९ र सैनिकका ४४ गरी ८५ सुरक्षाकर्मी सम्पर्कविहीन छन्।
- सरकारले प्रभावित पालिकालाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गरी सेना, प्रहरी र सशस्त्रलाई उद्धारमा खटाएको छ, ९७ जनाको हवाई उद्धार भएको छ।
१० भदौ, काठमाडौं । बुधबार बिहान करिब ९ बजेतिर चीनको समावर्ती क्षेत्र तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले नेपालको उत्तरी जिल्ला रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भयो । रसुवाको भोटेकोशी हुँदै आएको बाढीले टिमुरे, स्याप्रुबेंशी, मेलुङ, हुँदै बेत्रावती, त्रिशुली बजार ढुंगेबजारलगायत क्षेत्रमा ठूलो विध्वंश मच्चायो । धादिङ समरमुकाम जाने पुलसहित करिब १९ वटा पुलहरू बाढीले बगायो ।
यो समाचार तयार पर्दासम्म नेपाल प्रहरीको तथ्यांकअनुसार अहिलेसम्म ९५ वटा शवहरू फेला परेका छन् । ती शवहरूको यकिन पहिचान हुन बाँकी नै रहेको छ ।
ठूलो संख्यामा मान्छेहरू बेपत्ता छन् । बेपत्ता हुनेहरूको समेत यकिन विवरण प्राप्त गर्न बाँकी नै रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् । उनका अनुसार नेपाल प्रहरीका मात्रै ३२ सुरक्षाकर्मी बेपत्ता छन् । यता, सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापा पनि ९ जना सशस्त्र प्रहरी अहिलेसम्म सम्पर्कविहीन रहेको बताउँछन् ।

त्यस्तै, ४४ जना सैनिक पनि सम्पर्कविहीन छन् । सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ४४ जना सैनिकहरू अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज र होइड्रोपावरको सुरक्षार्थ खटिएका ४४ सैनिक सम्पर्कविहीन भएका हुन् । योसँगै सुरक्षाकर्मी मात्रै ८५ जना सुरक्षाकर्मी बेपत्ता भएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर ४१ सुरक्षाकर्मी अहिलेसम्म बेपत्ता छन् । इलाका प्रहरी कार्यालय टिमुरे, स्याप्रुबेंशी, रसुवागढी र मैलुङ प्रहरी चौकीमा कार्यरत प्रहरी बेपत्ता छन् । सशस्त्र प्रहरीतर्फ बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेमा कार्यरत ९ सशस्त्र प्रहरी बेपत्ता छन् । घटनाका प्रतक्ष्यदर्शीसमेत रहेका प्रहरीका सहायक हवल्दार सन्तोष रिजाल क्षतिको विवरण यकिन गर्न सक्ने अवस्थाकै नरहेको बताउँछन् ।
बेत्रावती प्रहरी चौकीमा कार्यरत उनी बाढी आउँदै गरेको सूचना दिँदै माइकिङ गर्दागर्दै एक्कासि बाढी आएपछि भागेर ज्यान जोगाएका थिए । अहिलेसम्म ९७ जनाको हवाई उद्धार भएको छ ।
०००
एक्कासि आएको बाढीपछिको खोज तथा उद्धारमा भने सरकार र सुरक्षा निकायको सक्रियता छ । प्रधानमन्त्री बालेन शाहले घटनाको जानकारी पाउनासाथ सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे जानकारी गराउँदै खोज तथा उद्धारमा खटिने निर्देशन भइसकेको खुलाए ।
उनले रसुवा बाढीको घटनालाई सुरुबाटै प्राथमिकताका साथ काम गर्न खोजेको देखियो । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बाढी प्रभावित क्षेत्रतर्फ मुभ भइसकेको उनले जानकारी गराएका थिए ।
घटनापछि मन्त्रिपरिषद् बैठकसमेत बसेको थियो । बैठकले बाढी प्राभावित क्षेत्रका पालिकाहरूलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गर्दै खोज उद्धारमा केन्द्रित हुने निर्णय गर्यो । यसका साथै बैठकले गृहमन्त्रीलाई हेलिकप्टरसहित सबै साधन परिचालन गर्ने अधिकार पनि दिएको थियो ।
बाढीका कारण घाइते भएका तथा बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको थियो । यसले पनि रसुवा बाढीलाई सरकारले निकै गम्भीरताका साथ लिएर काम गर्न खोजेको देखिन्छ ।

त्यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक पनि बसेको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा बाढीले पुर्याएको क्षतिको बारेमा ब्रिफिङ भएको थियो ।
विपद्को क्षणमा सबैलाई आ-आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार तथा खोज र राहतमा केन्द्रित हुन निर्देशन पनि दिएका थिए ।
यसअघि काठमाडौंमै आएको बाढीमा समेत नख्खु खोलामा जस्ताको टहरोमाथि बसेर उद्धारको पर्खाइ गरिरहेका नागरिकलाई खोलाले बगाएको थियो । त्यतिबेला राज्यले उद्धारमा तदारुकता नदेखाएको भन्दै आलोचना भएको थियो ।
रोशीमा आएको बाढीदेखि धादिङमा पुरिएका बसहरूको घटनामा पनि राज्य संयन्त्र प्रि-एक्टिभ हुन नसेकेको भन्दै आलोचना भएको थियो । तर अहिलेको रसुवा बाढीपछिको खोज तथा उद्धारमा भने सरकारको सक्रियता देखिएको जानकारहरूको बुझाइ छ ।
०००
गृहमन्त्री सुधन गुरुङ आफैं पनि उद्धार तयारीका लागि भन्दै काठमाडौंस्थित विमानस्थल पुगेका थिए । सरकारको निर्देशनपछि खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय परिचालन भए ।
खोज तथा उद्धारका लागि नेपाली सेनाको धुन्चे र त्रिशूली ब्यारेकबाट टोली परिचालन भए । धादिङको गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनको दक्ष टोलीसमेत खटाइएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत बताउँछन् ।
त्यसैगरी, नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिमसहित एमआई-१७ हेलिकप्टर खटिएको थियो । हवाईमार्फत मात्रै ९७ जनाको उद्धार गरिएको सैनिक प्रवक्ता बस्नेतले बताएका छन् । सेनाका साथै सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटियो । सशस्त्रका अनुसार उद्धारका लागि ११ सय जनशक्ति परिचालन भएका छन् । नेपाल प्रहरीको टोली पनि खोजी, उद्धारको लागि खटिएको छ ।

यो विपद्मा सुरक्षा निकाय र सरकारले खोज, उद्धारमा सक्रियता देखाएको नेपाली सेनाका अवकाशप्राप्त महासेनानी तथा संकट, आपतकालीन र विपद् व्यवस्थापन विशेषज्ञ रतिन्द्र खत्री बताउँछन् ।
‘सुरक्षाकर्मीहरू आफैं ठूलो संख्यामा बेपत्ता हुनुहुन्छ । अझै पनि बाढीको जोखिम नै छ । तैपनि, उहाँहरू खोज तथा उद्धारमा सक्रिय हुनुहुन्छ,’ खत्रीले अनलाइनखबरसँग भने, ‘यो सक्रियतालाई सकारात्मक रूपमा लिनुपर्छ ।
तर, उद्धारका लागि पर्याप्त स्रोत-साधनमा भने कमी भएको महसुस सुरक्षा निकायहरू आफैंले गरेका छन् । विपद् उद्धारको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलसँग उद्धारका लागि एउटा पनि हवाई साधन छैन । पैदल नै हिँडेर जानुपर्ने बाध्यता रहेको तर त्यो सम्भव नहुँदा समस्या हुने गरेको सुरक्षाकर्मीहरू बताउँछन् ।
नेपाली सेनाले आफूसँग भएका हेलिकप्टरमार्फत उद्धारलाई तीव्र पार्दा सशस्त्र प्रहरीले भने निजी हेलिकप्टर कुरेर बस्नुपर्ने अवस्था थियो । जसले गर्दा पनि उद्धारमा सशस्त्रलाई केही कठिनाइ भएको उनीहरू स्वयंले महसुस गरेका छन् ।
‘हाम्रोतर्फबाट सक्दो प्रयास गरेर खोज तथा उद्धार भएको छ । तर हामीसँग हवाई साधन नहुँदा भने समस्या भएको छ,’ एक सुरक्षाकर्मी भन्छन् । नेपाल प्रहरीसँग पनि हवाई साधनदेखि उद्धारका लागि पर्याप्त स्रोत-साधन छैन ।
०००
खोज तथा उद्धार गरेर ल्याइएका घाइतेहरूलाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालदेखि, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरहरूमा ठाउँ खाली गरेर तयारी अवस्थामा राखिएको थियो ।
ट्रमा सेन्टरदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डाक्टरसहित त्रिशूली पठाएका थिए । उद्धार गरेर काठमाडौं ल्याइएकाहरूलाई एपीएफ अस्पतालदेखि त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टरमा राखेर उपचार गरिएको छ ।

नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ गरी १५ हेलिकप्टरले उद्धार गरेका थिए । हेलिकप्टरमार्फत उद्धार गरेर ल्याइएकालाई अस्पतालसम्म पुर्याउन विमानस्थलमा १० वटा एम्बुलेन्स स्ट्यान्डबाइ राखिएको थियो । यी घटनाक्रमले उद्धारपछिको उपचार तथा व्यवस्थापन पनि सरकारको सक्रियता देखिन्छ ।
सरकारले भ्याएसम्म आफ्नो स्रोत-साधन प्रयोग गरेको बुझाइ खत्रीको छ । ‘अहिलेको समय भनेको खोज, उद्धार तथा राहतका लागि सहयोग गर्ने भएकाले कमीकमजोरी केलाउनेभन्दा पनि एकजुट भएर विपत्तिविरुद्ध लड्नुपर्छ,’ उनी भन्छन्, ‘आपतकालीन गोदाम घरमा भएका सामानहरू पनि प्रयोग भएको देखिन्छ ।’
प्रतिक्रिया 4