+
+
Shares

नेपाल र चीनमा आएको बाढीप्रति राष्ट्रसंघका महासचिव दुःखी, प्रभावितलाई सहयोग गर्न तत्पर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ६:२२

११ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

महासचिवका प्रवक्ता स्टेफेन दुजारिकद्वारा जारी विज्ञप्तिअनुसार, गुटेरेसले बाढीका कारण धेरै मानिसले ज्यान गुमाएको, कैयौँ बेपत्ता भएको र व्यापक विनाश भएको घटनाप्रति चिन्ता व्यक्त गरेका हुन्।

उनले ज्यान गुमाउनेका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, यस विपद्बाट प्रभावित सबैप्रति उनले ऐक्यबद्धता जनाएका छन्।

संयुक्त राष्ट्रसंघले नेपाल सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ। विपद्ले पुर्‍याएको क्षतिको आकलन गर्न र अत्यावश्यक सहायता उपलब्ध गराउन राष्ट्रसंघ सक्रिय रहेको बताइएको छ।

राष्ट्रसंघीय टोली र यसका मानवीय सहायता साझेदार संस्थाहरूले बाढी प्रभावित समुदायलाई सहयोग पुर्‍याउन आवश्यक राहत सामग्री र जनशक्ति परिचालन गरिरहेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासचिव गुटेरेसले नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा खटिएका आपत्कालीन उद्धारकर्ताहरूको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता दोहोर्‍याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?