News Summary
Generated by OK AI. Editorially reviewed.- बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८० मा नेपाल टेलिकमले सेवा सुचारू गरेको छ ।
- गोसाईंकुण्ड गाउँपालिका-६ धुन्चेमा हेलिकप्टरबाट कर्मचारी परिचालन गरी मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको छ ।
- रसुवाको गोलजुङ टावर र नुवाकोटको गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि सम्बन्धित क्षेत्रमा दूरसञ्चार सेवा सुचारू भएको छ ।
१२ भदौ, काठमाडौं । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा टेलिफोन सेवा पुनः सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिइएको छ । बिहीबार हेलिकप्टरबाट कर्मचारी परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको छ ।
आज सबेरैदेखि नेपाल टेलिकमका प्राविधिकहरू रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन हुन बाँकी रहेका स्थानहरुमा सेवा सञ्चालन गर्न तथा सञ्चालनमा आइसकेका टावरहरुलाई थप भरपर्दो बनाउन निरन्तर कार्यक्षेत्रमा खटिइरहेको टेलिकमले जनाएको छ ।
सो क्रममा रसुवा जिल्लामा बाढीका कारण बन्द भएको गोसाईंकुण्ड गाउँपालिका ५ मा अवस्थित गोलजुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याई स्याफ्रुबेसी, पार्वतीकुण्ड गाउँपालिका वडा नं ४, ५ तथा गोसाईंकुण्ड गाउँपालिका वडा नं ३, ५ तथा स्याफ्रुबेसी–टिम्मुरे राजमार्गका केही भागमा सेवा सुचारू भएको छ ।
नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका वडा नं ३ मा अवस्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आई विदुर नगरपालिकाको वडा नं १०, ११ तथा सूर्यगढी गाउँपालिका वडा नं ४ का केही भागमा दूरसञ्चार सेवा सुचारू भएको छ । यसका साथै २०८३।०५।१२ गते विदुर नगरपालिका – ८ मा अवस्थित तुप्चे टावर तथा गोसाईंकुण्ड गाउँपालिका वडा नं २, टिम्मुरे माथिको डाँडामा अवस्थित टेलिकम टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिकहरु खटाई सेवा सुचारू गर्ने क्रममा रहेको छ ।
सो क्रममा नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा जिल्लाको न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा खटिई बाढी प्रभावित स्थानहरुमा अनवरत सेवा सञ्चालन गराइराखेको बताइएको छ । अहिलेसम्म रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित १२० साइटहरु मध्ये ८० साइहरुमा सेवा सुचारू भइसकेको छ ।
प्रतिक्रिया 4