+
+
Shares

जलविद्युत्‌मा बाढी कहर : ६७९ अझै सम्पर्कविहीन, उद्धारमा पुग्न सकेन हेलिकप्टर

बाढी र पहिरोका कारण निर्माणाधीन तथा निर्माण सम्पन्न आयोजनाहरू प्रभावित हुँदा आयोजनामा कार्यरत सयौँ कामदार समेत संकटमा परेका छन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ भदौ १२ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा प्रत्यक्ष क्षति पुर्‍याएको र ९३३ कामदार सम्पर्कविहीन छन् ।
  • इप्पानका अनुसार अपर त्रिशूली–१ मा मात्रै ५७६ कामदारको अवस्था अज्ञात छ र सुरुङभित्र फसेको आशंकामा तत्काल उद्धार आवश्यक छ ।
  • ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले थप हेलिकप्टर पठाएर नुवाकोट र रसुवाका आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार तीव्र पारेका छन् ।

१२ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्‍याएको छ ।

बाढी र पहिरोका कारण निर्माणाधीन तथा निर्माण सम्पन्न आयोजनाहरू प्रभावित हुँदा आयोजनामा कार्यरत सयौँ कामदार समेत संकटमा परेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीका कारण १३ जलविद्युत् आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ । ती आयोजनामा कार्यरतमध्ये ९ सय ३३ जना सम्पर्कविहीन बनेका थिए । उनीहरूमध्ये २ सय ५४ जनाको उद्धार भइसकेको छ भने केही सम्पर्कमा आए पनि ठूलो संख्यामा अझै सम्पर्कविहीन छन् ।

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनका अनुसार अहिले निजी क्षेत्रका आयोजना मात्र नभई सरकारी तथा निजी सबै प्रकारका आयोजना प्रभावित भएका छन् ।

‘सोचेभन्दा बढी क्षति भएको छ, अहिले सबैको ध्यान उद्धार र राहतमा केन्द्रित छ,’ उनले भने, ‘हाइड्रोपावरका आयोजनामा तत्काल उद्धार र राहत आवश्यक पर्ने अधिकांश ठाउँमा काम भइरहेको छ, तर केही ठाउँमा अझै गम्भीर अवस्था छ ।’

उनका अनुसार लाङटाङ हाइड्रो, अपर त्रिशूली, त्रिशूली–३ ‘बी’ र चिलिमे लगायत आयोजनामा तत्काल उद्धार आवश्यक पर्ने अवस्था छ । ती आयोजनामा रहेका कतिपय मानिस सुरुङभित्र फसेको हुन सक्ने अनुमान गरिएको छ ।

तर, सडक तथा सञ्चार सम्पर्क बिहीबारसम्म पूर्णरूपमा विच्छेद भएकाले उद्धारमा कठिनाइ भएको छ । मोबाइल तथा टेलिफोन सम्पर्क समेत नहुँदा आयोजनाभित्र रहेका मानिस कहाँ र कस्तो अवस्थामा छन् भन्ने यकिन गर्न नसकिएको इप्पानले जनाएको छ ।

उद्धारका लागि निजी हेलिकप्टर प्रयोग गर्न खोजिए पनि आयोजनास्थलमा अवतरण गर्ने ठाउँ अभाव र अन्य प्राविधिक तथा सुरक्षा कारण समस्या भइरहेको भ्लोनले बताए ।

‘जो उद्धार भएर बाहिर आएका छन्, उनीहरूसँग मात्रै सम्पर्क भइरहेको छ, माथि जान सडक छैन, मोबाइल पनि चल्दैन,’ उनले भने, ‘निजी हेलिकप्टर लगेर पनि ल्यान्ड गर्ने ठाउँ छैन, राज्यले नै तत्काल समन्वय गरेर उद्धार गर्नुपर्ने अवस्था देखिएको छ ।’

एउटै आयोजनामा ५७६ जना सम्पर्कविहीन

इप्पानका अनुसार बाढीबाट प्रभावित आयोजनामध्ये अपर त्रिशुली–१ मा मात्रै ५ सय ७६ जना कामदारको अवस्था अज्ञात छ । उक्त आयोजनामा करिब १ हजार ३ सय ५० जना कामदार कार्यरत रहेकोमा केहीलाई उद्धार गरिए पनि ठूलो संख्याका कामदारसँग अझै सम्पर्क हुन नसकेको इप्पानले जनाएको छ ।

इप्पानका अनुसार प्रभावित आयोजनाहरूमा कार्यरतमध्ये कतिपयलाई सुरक्षित स्थानमा ल्याइएको छ । तर, कतिपयको अवस्था भने अझै अज्ञात छ । विशेषगरी सुरुङ तथा आयोजना परिसरभित्र रहेका मानिसको उद्धारलाई तत्काल प्राथमिकता दिनुपर्ने अवस्था रहेको इप्पानले जनाएको छ ।

‘५ सय ७६ जना सम्पर्कविहीन छन्, उनीहरू कहाँ छन् भन्ने स्पष्ट जानकारी छैन,’ भ्लोनले भने, ‘सुरुङतिर फसेका केही मानिसलाई उद्धार गर्न सकियो भने उनीहरू बाँच्न सक्ने अवस्था हुन सक्छ, त्यसैले हेलिकप्टरका लागि निरन्तर प्रयास भइरहेको छ ।’

उद्धारमा राज्यकै भर

जलविद्युत् आयोजनामा फसेका कामदारको उद्धारका लागि निजी क्षेत्रले आफ्नो स्तरबाट पहल गरिरहे पनि भौगोलिक अवस्था र पहुँचविहीनताका कारण तत्काल उद्धार गर्न नसकिएको इप्पानको भनाइ छ ।

इप्पानले आयोजनामा फसेकाहरूको अवस्थाबारे सरकार, नेपाली सेना र नेपाल प्रहरीलाई निरन्तर जानकारी गराइरहेको जनाएको छ । उद्धार तथा राहतका लागि संस्थागत रूपमा समेत सहयोग जुटाउने तयारी भइरहेको इप्पान वरिष्ठ उपाध्यक्ष भ्लोनले बताए ।

उनका अनुसार ऊर्जा मन्त्रालयले प्रभावित आयोजनाका प्रतिनिधिहरूसँग छलफल समेत गरेको छ । मन्त्रालयले सबै आयोजनाको क्षति तथा मानवीय अवस्थाबारे जानकारी लिएको छ ।

त्यस्तै बाढीपछि पुनर्निर्माणका लागि बनाइएको समितिमा इप्पानका तर्फबाट एक जना सिभिल इन्जिनियर समेत पठाइएको छ ।

‘हाम्रा तर्फबाट उद्धार र राहतका लागि सक्दो सहयोग गर्छौं, सरकारको कोषमा समेत सहयोग जुटाउने विषयमा काम भइरहेको छ,’ भ्लोनले भने, ‘अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसको उद्धार हो, क्षतिको पुनर्निर्माण त पछि पनि गर्न सकिन्छ ।’

निर्माण सम्पन्न आयोजना समेत बन्द

बाढीका कारण निर्माणाधीन आयोजना मात्र नभई निर्माण सम्पन्न भइसकेका पनि प्रभावित भएका छन् । केही आयोजनाको संरचनामा क्षति पुगेको छ भने कतिपय आयोजनाको प्रसारण तथा सडक सम्पर्क विच्छेद हुँदा विद्युत् उत्पादन तथा सञ्चालन प्रभावित भएको छ ।

इप्पानका अनुसार बाढीबाट प्रत्यक्ष क्षति पुगेका आयोजना संख्या १३ पुगेको छ । यसबाहेक बाढीका कारण आयोजनासँगको सडक, सञ्चार तथा अन्य पहुँच टुटेका कारण अप्रत्यक्ष रूपमा प्रभावित आयोजना संख्या अझै ठूलो हुन सक्ने इप्पानको आकलन छ ।

अहिले इप्पानले आयोजनाहरूबाट प्राप्त विवरणलाई पुन: प्रमाणीकरण गरिरहेको छ । त्यस क्रममा उद्धार भइसकेका तथा सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गरिने र वास्तविक रूपमा सम्पर्कविहीन रहेकाहरूको संख्या यकिन गरिने जनाइएको छ ।

भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका आयोजना, सडक तथा सञ्चार सम्पर्क विच्छेद र प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । त्यसैले तत्काल उद्धारका लागि राज्यका सुरक्षा निकाय, हेलिकप्टर र सम्बन्धित सबै निकायबीच तीव्र समन्वय आवश्यक देखिएको इप्पानले जनाएको छ ।

उद्धारमा थप हेलिकप्टर परिचालन

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार तीव्रता दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्ति सहित थप हेलिकप्टर काठमाडौंबाट प्रभावित क्षेत्रतर्फ पठाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै हेलिकप्टर घटनास्थलतर्फ पठाइएको प्राधिकरणले जनाएको छ ।

विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार र शान्तिबजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट प्रभावित आयोजनामा कार्यरत जनशक्तिको सुरक्षा तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ । आवश्यकता अनुसार उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले विपद्को यस कठिन परिस्थितिमा सबैलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न अनुरोध गरेको छ ।

तस्विरहरू : श‌ंकर गिरी/अनलाइनखबर

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?