+
+
Shares

नेपालको दु:खमा विश्वका नेताको साथ

नेपालमा बुधबार आकस्मिक रूपमा रसुवा जिल्लाको भोटेकोशी / त्रिशूली नदीमा आएको बाढीले अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यान तानेको छ । देशको मानवीय क्षतिसँगै आन्तरिक संरचनाहरूमा त गम्भीर क्षति पुग्यो नै , यसका साथै विदेशी नागरिकहरूले पनि ज्यान गुमाएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी/त्रिशूली नदीमा बुधबार आएको बाढीले ६०० भन्दा बढी पर्यटक सम्पर्कविहीन बनाएको छ, जसमा ५१७ विदेशी नागरिक छन्।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा भएको क्षतिलाई ‘क्रुर’ घटना भनेका छन् र आवश्यक सबै सहयोग दिने प्रस्ताव गरेका छन्।
  • भारत, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलिया, संयुक्त राष्ट्रसंघ र अन्य निकायले नेपाललाई उद्धार, राहत र आर्थिक सहयोग घोषणा गरेका छन्।

१२ भदौ, काठमाडौं । नेपालमा बुधबार आकस्मिक रूपमा रसुवा जिल्लाको भोटेकोशी/त्रिशूली नदीमा आएको बाढीले अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यान तानेको छ । देशको मानवीय क्षतिसँगै आन्तरिक संरचनाहरूमा त गम्भीर क्षति पुग्यो नै, यसका साथै विदेशी नागरिकहरूले पनि ज्यान गुमाएका छन् । 

नेपाल पर्यटन बोर्डको पछिल्लो आधिकारिक तथ्यांक अनुसार, ६०० भन्दा बढी पर्यटक सम्पर्कविहीन भएका छन्। तीमध्ये ५१७ जना विदेशी नागरिक र बाँकी नेपाली पर्यटक तथा सहयोगीहरू रहेका छन्। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा घटेको विपत्तिलाई ‘क्रूर’ घटनाको रूपमा लिएका छन् । बिहीबार ओभल अफिसमा उपस्थित पत्रकारहरूसँग कुरा गर्दै  नेपालमा भएको संरचनाहरूको क्षति  टुथपिक बगाएको झैं लागेको बताएका थिए  । 

‘त्यो केवल बाढी मात्र थिएन। त्यो हिलो र पानीको मिश्रण थियो। त्यस्तो दृश्य कसैले पनि पहिले कहिल्यै देखेका थिएनन्। त्यहाँ ठूला र बलिया भवनहरू पनि टुथपिक जस्तै पखालिएका थिए’, ट्रम्पले भने ।

साथै नेपालसँग राम्रो सम्बन्ध रहेको भन्दै आवश्यक पर्ने हरेक सहयोगको प्रस्ताव गरेको बताएका थिए । 

‘यो धेरै दुःखद् कुरा हो। हामी सहायता पठाउँदैछौं। हामीले त्यहाँको नेतृत्वसँग कुरा गरेका छौं। उनीहरूलाई जे चाहिन्छ, त्यो सबै हामी दिनेछौं भनेर खबर गरेका छौं।’ 

बाढीमा कति अमेरिकी नागरिक परेका भन्ने तथ्यांक र सूची नपाएको कुरा उल्लेख गरेका थिए । र नागरिक सुरक्षित छन् भन्ने कुरामा आशावादी रहेको बताएका थिए।

उनले नेपालका नेताहरूसँग कुरा गरेको र ‘उनीहरूलाई चाहिने जति सहयोग’ दिने प्रस्ताव गरेको बताए। उनले प्रभावित क्षेत्रमा करिब ५० देखि ६० अमेरिकी नागरिक रहेको अनुमान गरेका छन् तर पूर्ण हिसाब अझै पूरा नभएको स्वीकार गरेका छन्। 

अमेरिकी विदेश मन्त्रालयले करिब ९० अमेरिकी नागरिक प्रभावित हुनसक्ने र तीन जनाको उद्धार भइसकेको जनाएको छ। कुनै अमेरिकीको मृत्यु भएको जानकारी नभएको पनि बताइएको छ।

बेलायत सरकार तथा बेलायती राजपरिवारले गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत तथा आर्थिक सहायताको घोषणा गरेका छन्। 

बेलायती प्रधानमन्त्री एन्डी बर्नमले सीमा क्षेत्रबाट प्राप्त दृश्यहरू अत्यन्तै हृदयविदारक र सो क्षेत्रमा देखिएको क्षति अहिलेसम्म कहिल्यै नदेखिएको स्तरको भएको बताएका छन्। 

प्रधानमन्त्री बर्नमले साउथ वेल्स भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै तथा औपचारिक विज्ञप्ति मार्फत प्राकृतिक विपत्तिबाट प्रभावित बेलायती नागरिक र उनीहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन्। 

उनले  भनेका छन्, ‘यस घटनामा बेलायती नागरिकहरू पनि बेपत्ता भएका छन्। मेरो सहानुभूति तिनका परिवार र आफन्तहरूसँग छ। हामी त्यस क्षेत्रमा प्रभावित बेलायती नागरिकहरूलाई सहयोग गर्न सम्भव भएसम्म सबै प्रयास गर्नेछौं। हामी सहयोग उपलब्ध गराउन सम्बन्धित निकायहरूसँग लगातार सम्पर्कमा छौं।’ 

पत्रकारहरूसँगको कुराकानीमा उनले थप टिप्पणी गर्दै घटनास्थलमा आपत्कालीन उद्धारकर्ताहरू पठाउने प्रस्ताव गरिएको र यो विषय नेपाल सरकारको हातमा रहेको बताए । 

नेपाललाई सकेसम्म उद्धार र राहतका प्रस्ताव गरेको कुरा पनि उल्लेख गर्दै बर्नमले भनेका छन्, ‘हामी त्यस क्षेत्रमा काउन्सिलर सपोर्ट स्टाफ खटाउँदै छौं। यसबाट बेलायती नागरिकहरूले २४/७ सहयोग पाउन सक्नेछन्। त्यस क्षेत्रमा आपत्कालीन उद्धारकर्ताहरू पठाउने प्रस्ताव गरिएको छ। तर यो विषय पूर्ण रूपमा नेपाली सरकारको निर्णयमा भर पर्छ। हामीले उद्धार र राहतका लागि ५ मिलियन पाउन्डको सहयोग पनि प्रस्ताव गरेका छौं।’

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आपतकालीन बैठक बोलाएर भनेका छन् ‘हामीले अनियोजित आपत्कालीन बैठक बोलाउनु परेको छ। हाम्रा नागरिकहरूको सुरक्षा र ज्यान अत्यन्त गम्भीर अवस्थामा छ।’

‘नेपालको जलविद्युत् आयोजना निर्माण स्थलमा काम गरिरहेका नौ जना हाम्रा नागरिक अझै सम्पर्कविहीन छन्। उनीहरू अत्यन्त खतरामा रहेको देखिन्छ।नागरिकहरूको ज्यान र सुरक्षा जोगाउने कुरामा कुनै पनि कदम बढी हुँदैन। त्यसैले सबै उपलब्ध स्रोतसाधन परिचालन गरेर अधिकतम प्रयास गर्नुहोस्।’

राष्ट्रपतिले सबै कूटनीतिक च्यानल सक्रिय बनाउन निर्देशन दिएका छन्। उनले नेपाल सरकारसँग नजिकबाट परामर्श गर्न भनेका छन्। उनले खोजी तथा उद्धारका लागि आवश्यक स्रोतसाधन परिचालन गर्न जोड दिएका छन्। साथै उनले नेपाललाई सहयोग गर्न सकिने जनशक्ति वा अन्य सहयोगको पहिले नै समीक्षा गर्न पनि निर्देशन दिएका छन्।

यस बैठकमा विदेश मन्त्रालय, भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए। राष्ट्रिय आगो निभाउने एजेन्सी, राष्ट्रिय प्रहरी एजेन्सीका प्रतिनिधिहरू पनि बैठकमा उपस्थित थिए। नेपालस्थित दूतावासका प्रतिनिधिहरूले पनि यस बैठकमा भाग लिएका थिए।

राष्ट्रपतिले हराएका नागरिकका परिवारलाई निरन्तर जानकारी दिन विशेष अधिकारी तोक्न निर्देशन दिएका छन्। उनले ती परिवारहरूलाई आवश्यक सहयोग पुर्‍याउन पनि आदेश दिएका छन्।

यसअघि नै अगस्ट २६ मा उनले नयाँ आदेश जारी गरेका थिए। उनले सबै उपलब्ध स्रोतसाधन परिचालन गर्न भनेका थिए। उनले नागरिकको ज्यान र सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएर खोजी तथा उद्धारमा पूर्ण प्रयास गर्न आदेश दिएका थिए।

 

भारतीय प्रधानमन्त्री मोदीले अगस्ट २६ मा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमा कुरा गरेपछि आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेँ। नेपालमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति संवेदना व्यक्त गरेँ। यस कठिन समयमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी र दाजुभाइहरूको साथमा छन्।’

छिमेकी देश नेपाललाई सहयोग गर्न भारत तयार रहेको उनले बताए। उनले भने, ‘भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता प्रदान गर्न तयार छ।हाम्रा टोलीहरूले उद्धार र राहत कार्यमा निकट रहेर समन्वय गरिरहेका छन्।’

विदेश मन्त्रालयले सुरुमा २८८ जना भारतीय नागरिक सम्पर्कविहीन रहेको पुष्टि गर्‍यो। पछि उसले २९० जना नागरिक सम्पर्कविहीन रहेको जानकारी दियो । 

यसमा त्रिशूली-१ जलविद्युत् आयोजनामा काम गर्ने ७३ जना कामदार समावेश छन्। यसमा तमिलनाडु, पश्चिम बंगाल र केरलाका तीर्थयात्री समूहहरू पनि परेका छन्। 

विदेश मन्त्री एस. जयशंकरले उच्चस्तरीय समीक्षा बैठक गरे। बैठकपछि उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा रहेका सबै भारतीयहरूको अवस्था र कुशल मङ्गल पत्ता लगाउन तत्काल प्रयासहरू भइरहेका छन्। विदेश मन्त्रालयले यस सम्बन्धमा विभिन्न मन्त्रालयहरू,राज्य सरकारहरू, टुर अपरेटरहरू र आयोजना अधिकारीहरूसँग समन्वय गरिरहेको छ। हामी नेपाली पक्षसँग निकट रहेर काम गरिरहेका छौँ।’

विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जयसवालले प्रेस ब्रिफिङमा विभिन्न समूहहरूको विवरण दिए। उनले तमिलनाडुका २१ जना नागरिकको उद्धार भइसकेको जानकारी दिए। पछि अरू मानिसहरूको पनि थप उद्धार भएको रिपोर्ट आएको छ।

भारतले नेपाललाई सहयोग गर्न ठोस कदमहरू चालेको छ। भारतले ५० टन मानवीय सहायता सामग्री पठाएको छ।सहायता सामग्रीमा अस्थायी आश्रय, कम्बल र किट रहेका छन्। यसमा सौर्य बत्ती, औषधि र खाना पनि समावेश छन्।

भारतीय वायुसेनाका विमानहरूले सहायता सामग्री काठमाडौं पुर्‍याएका छन्। काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग निरन्तर समन्वय गरिरहेको छ। दूतावास हराएका भारतीय नागरिकहरूको खोजीमा सक्रिय रूपमा लागेको छ। उसले २४ घण्टे हेल्पलाइन र कन्ट्रोल रुम पनि सक्रिय बनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यस विपत्तिमा गहिरो दुःख व्यक्त गरे। 

उनले भने, ‘म नेपाल र चीनमा भएको गम्भीर बाढीले धेरै ज्यान लिएको, मानिसहरू बेपत्ता भएको र व्यापक विनाश पुर्‍याएको देखेर दुःखी छु। म पीडित परिवारहरूप्रति संवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’ 

गुटेरेसले संयुक्त राष्ट्रसंघका टोलीहरू र साझेदारहरूले आपतकालीन सामग्री र कर्मचारी परिचालन गरिरहेको जानकारी दिए। संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयका प्रमुख टम फ्लेचरले यस बाढीलाई ‘भयावह’ भने। उनले केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषबाट दुई मिलियन अमेरिकी डलर विनियोजन गरे। 

विश्व स्वास्थ्य संगठनले दश हजार मानिसलाई तीन महिनासम्म आधारभूत स्वास्थ्य सेवा दिन सक्ने चिकित्सा किट पठाएको छ। विश्व खाद्य कार्यक्रम र युनिसेफले पनि राहत सामग्री तयार पारे। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट संघले एक मिलियन स्विस फ्र्यांक आपतकालीन कोषबाट नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गरेको छ। 

रेडक्रसका नेपाल प्रतिनिधि डेभिड फिशरले भने, ‘अहिलेको प्राथमिकता प्रभावित समुदायमा पुग्नु र घर गुमाएका, घाइते भएका वा सम्पर्कविहीन भएका मानिसहरूलाई सहयोग पुर्‍याउनु हो।’

चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् । वैज्ञानिक तरिकाले उद्धार कार्य सञ्चालन गर्न र सेकेण्डरी डिजास्टर रोक्न विशेष सतर्कता अपनाउन समेत आग्रह गरेका थिए ।

प्रधानमन्त्री ली चियाङले पनि निर्देशन दिएका थिए र पछि आफैं तिब्बतको प्रभावित क्षेत्रमा गएर उद्धार कार्य निरीक्षण गरेका थिए। उपप्रधानमन्त्री झाङ ग्वोचिङ पनि स्थलगत रूपमा उपस्थित भएका थिए।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गहिरो सहानुभूति व्यक्त गरेका छन् । उनले अस्ट्रेलियाली अधिकारीहरू प्रभावित क्षेत्रका आफ्ना नागरिकहरूको जानकारी प्राप्त गर्न आपतकालीन रूपमा काम गरिरहेको बताए। 

अल्बानीजले भने, “प्रभावित क्षेत्रका अस्ट्रेलियालीहरूले स्थानीय अधिकारीहरूको सल्लाह पालना गर्नुपर्छ। हामी त्यस क्षेत्रमा रहेका धेरै अस्ट्रेलियालीहरूबारे जानकार छौं र अधिकारीहरू उनीहरूको कल्याण पुष्टि गर्न आपतकालीन रूपमा काम गरिरहेका छन्। हामी स्थानीय अधिकारीहरू र भ्रमण सञ्चालकहरूसँग समन्वय गरिरहेका छौं। हामी कन्सुलर सहयोग दिन तयार छौं।” 

अस्ट्रेलियाले पाँच मिलियन अस्ट्रेलियाली डलर सहयोग पठाउने घोषणा गरेको छ। अस्ट्रेलियाका लगभग पैंतीस नागरिक बेपत्ता छन्।

युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयेनले युरोप थप सहयोग परिचालन गर्न तयार रहेको बताइन्। युरोपेली संघले कोपरनिकस उपग्रह प्रणाली सक्रिय गरेर बाढी प्रभावित क्षेत्रको नक्साङ्कन गर्न सहयोग गरेको छ। 

दक्षिण कोरियाले आफ्ना नागरिकहरू प्रभावित भएकाले विशेष प्रतिक्रिया दिएको छ। 

जलविद्युत् आयोजनामा काम गर्ने केही दक्षिण कोरियाली नागरिक बेपत्ता छन्। दक्षिण कोरियाले सरकारी कार्यदल गठन गर्‍यो। विदेश मन्त्रीले प्रतिक्रिया टोली पठाइसकेको र थप विपद् राहत टोलीसहित एक मिलियन अमेरिकी डलर सहयोग दिने बताए ।

सोलले सरकारी, आगो निभाउने र प्रहरी कर्मचारीसहितको द्रुत प्रतिक्रिया टोली पठाउने योजना बनाएको छ। दक्षिण कोरियाली राष्ट्रपतिले आफ्ना नागरिकहरूको सुरक्षा प्राथमिकता दिन निर्देशन दिएका छन्।

श्रीलंकाले एक मिलियन अमेरिकी डलर मानवीय सहयोगको घोषणा गर्‍यो। राष्ट्रपति अनुरा कुमार दिसानायकले नेपालका जनताप्रति गहिरो दुःख व्यक्त गरे। 

स्विट्जरल्यान्डले एक मिलियन अमेरिकी डलर वा त्यसभन्दा बढी सहयोगको घोषणा गरेको छ। जर्मनीका चान्सलर फ्रिड्रिच मर्जले गहिरो चिन्ता व्यक्त गरे। उनले पीडित र उनीहरूका प्रियजनहरूप्रति विचार व्यक्त गरे। भ्याटिकनले पोप लियो चौधौंले बाढीबाट भएको मृत्यु र विनाशबाट दुःखी भएको र संवेदना पठाएको जानकारी दिए।

विश्व बैंकले नेपाललाई आपतकालीन सहयोगका रूपमा पच्चीस अर्ब नेपाली रुपैयाँसम्म परिचालन गर्न सकिने बताएको छ। भारत, चीन र अमेरिकासहितको प्रतिबद्धतासहित नेपालको राहत कोषमा दुई सय उनन्तीस मिलियन अमेरिकी डलरको प्रतिबद्धता आएको छ। नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत एकद्वार प्रणाली लागू गरेको छ। यसले सहयोग व्यवस्थित रूपमा वितरण गर्न मद्दत पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?