+
+
Shares

पहिरो प्रभावित रिसाङमा फेरि संकट, सडक र खानेपानी दुवै बन्द

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ १४ गते ९:२८

१४ भदौ, सुर्खेत । जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा पहिरो प्रभावित क्षेत्रका बासिन्दाले वर्षाका कारण थप समस्या झेल्नुपरेको छ । शनिबार राति परेको वर्षापछि पहिरो खस्दा रिसाङ क्षेत्रमा आवतजावत गर्ने मुख्य बाटो अवरुद्ध भएको छ भने खानेपानीको पाइपलाइनसमेत पहिरोले बगाएपछि स्थानीयवासी र पहिरोपीडित परिवार खानेपानीको समस्यामा परेका छन् ।

रिसाङमा साउन ३० गएको पहिरोबाट १६८ घरधुरीका ८९७ जना विस्थापित भएका थिए । उनीहरूलाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरी राख्ने व्यवस्था गरिएको थियो । रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गरिएको तथ्यांक छ ।

तर, प्रभावित परिवारका लागि सुरक्षित आश्रयको व्यवस्था हुँदै गर्दा उनीहरूलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार भने वर्षाले थप प्रभावित बनाएको छ । विशेषगरी सडक र खानेपानीको संरचनामा क्षति पुगेपछि दैनिक जीवनयापनमा थप कठिनाइ भएको हो ।

बिहान खुल्छ, साँझ फेरि बन्द हुन्छ सडक

पहिरो प्रभावित परिवारहरू बस्दै आएको क्षेत्रसम्म पुग्ने सडक तथा पैदलमार्ग वर्षाका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा दैनिक उपभोग्य सामग्री पुर्‍याउनसमेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।

स्थानीय बिर्खबहादुर कार्कीका अनुसार वर्षा भएपछि रिसाङको बाटो नियमितजस्तै अवरुद्ध हुने गरेको छ । बिहान स्थानीयवासी तथा सम्बन्धित निकायको पहलमा बाटो खुलाउने गरिए पनि साँझ पुनः पहिरो खसेर बाटो बन्द हुने गरेको उनले बताए । ‘बिहान बाटो मर्मत हुन्छ, बेलुकी फेरि अवरुद्ध हुने गरेको छ । आज त पुरै बाटो नै पहिरोले पुरेको छ । मानिसहरूलाई आवतजावत गर्नसमेत निकै समस्या भएको छ’, कार्कीले भने ।

रिसाङ क्षेत्रमा यसअघि पनि पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार तथा खोजी कार्यमा समेत कठिनाइ भएको थियो । पहिरो गएको समयमा सुरक्षाकर्मीसमेत घटनास्थलसम्म पुग्न पैदल हिँड्नका लागि समेत बाटाे बनाएर गएका थिए ।

सदरमुकाम खलंगा जाने सडक पनि बन्द

रिसाङ क्षेत्रबाट जिल्ला सदरमुकाम खलंगा आवतजावत गर्ने मुख्य बाटोसमेत पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । सदरमुकाम जाने–आउने स्थानीयवासी, बिरामी, विद्यार्थी, कर्मचारी तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नेहरूलाई बाटो बन्द भएपछि समस्या भएको छ ।

त्यस्तै, कुशे गाउँपालिकाबाट भेरी नगरपालिका हुँदै सदरमुकाम खलंगा आउने–जाने मानिसहरूले समेत यही मार्ग प्रयोग गर्ने भएकाले बाटो अवरुद्ध हुँदा समस्या थपिएको स्थानीयवासीको भनाइ छ । लुम्बिनी रारा राजमार्गका समेत रही रहेको छ ।

रिसाङ–कुशे सडक अवरुद्ध हुँदा यातायातसँगै खाद्यान्न आपूर्ति र अन्य अत्यावश्यक सामग्रीको ढुवानीमा समेत असर परेको यसअघि पनि जनाइएको थियो ।

वर्षाको समयमा पहिरो जाने क्रम नरोकिएपछि सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको छ । एक ठाउँको पहिरो हटाएपछि अर्को ठाउँमा पहिरो खस्ने तथा सडकको माथिल्लो भागबाट माटो र ढुंगा खसिरहने भएकाले स्थानीयले जोखिमयुक्त क्षेत्रमा दीर्घकालीन रूपमा सडक संरक्षणको काम गर्न माग गरेका छन् ।

खानेपानीको पाइपलाइन पनि पहिरोले बगायो

पहिरोका कारण रिसाङ क्षेत्रमा खानेपानीको समस्या पनि थपिएको छ । स्थानीयवासी तथा पहिरो प्रभावित परिवारले प्रयोग गर्दै आएको खानेपानीको पाइपलाइन पहिरोले बगाएपछि नियमित रूपमा पानी आउन छाडेको छ ।

पहिरो प्रभावित क्षेत्रमा अस्थायी रूपमा बस्दै आएका सयौँ परिवारलाई सडकसँगै खानेपानीको समस्या देखिएपछि उनीहरूको दैनिक जीवन थप कष्टकर बनेको छ । खानेपानी ल्याउन टाढासम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयवासीले बताएका छन् ।

विशेषगरी १६८ घरधुरीका ८९७ जना प्रभावित तथा विस्थापित रहेको अवस्थामा खानेपानीको नियमित व्यवस्था नहुँदा समस्या गम्भीर बन्ने देखिएको छ ।

पहिरो प्रभावित परिवारका लागि खानेपानी अत्यावश्यक रहेकाले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने माग स्थानीयले गरेका छन् । निरन्तर वर्षा भइरहेका कारण क्षतिग्रस्त पाइपलाइन तत्काल मर्मत गर्नसमेत कठिनाइ भइरहेको छ ।

चार जनाको मृत्यु, १० जना घाइते

रिसाङमा गएको विनाशकारी पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पहिरोले भूकम्पपछि कमजोर बनेको बस्तीलाई थप जोखिममा पारेपछि ठूलो संख्यामा स्थानीय विस्थापित भएका हुन् ।

पहिरोपछि उच्च जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । सुरुमा करिब ६०–७० घरपरिवारका दुई सयभन्दा बढी नागरिकलाई त्रिभुवन आधारभूत विद्यालयमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको थियो । पछि प्रभावित सबै परिवारका लागि अस्थायी सेल्टर निर्माण गर्ने निर्णय गरिएको थियो ।

पहिरोपीडितको अवस्था झनै कठिन

पहिरोका कारण विस्थापित भएका परिवार सुरक्षित स्थानमा बसिरहेका भए पनि सडक तथा खानेपानीजस्ता आधारभूत पूर्वाधार अवरुद्ध हुँदा उनीहरूको दैनिकी सहज हुन सकेको छैन ।

सडक अवरुद्ध भएपछि राहत सामग्री, खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन समस्या भएको छ । बिरामी तथा ज्येष्ठ नागरिकलाई उपचारका लागि बाहिर लैजानसमेत कठिनाइ हुने अवस्था छ ।

पहिरो प्रभावित क्षेत्रमा वर्षाका कारण सडक र खानेपानीको संरचनामा थप क्षति हुन थालेपछि स्थानीय तह तथा सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी आवश्यक पूर्वाधार मर्मत गर्नुपर्ने अवस्था आएको छ ।

स्थानीयका अनुसार अहिलेको समस्या केवल आवतजावतमा मात्र सीमित छैन । खानेपानी, खाद्यान्न, स्वास्थ्य उपचार, राहत सामग्री तथा अन्य अत्यावश्यक सेवासमेत प्रभावित हुने अवस्था बनेको छ ।

वर्षा रोकिएन भने थप जोखिम

रिसाङ क्षेत्रमा पहिरोको जोखिम अझै कायमै छ । लगातार वर्षा भइरहेमा अहिले अवरुद्ध भएको सडकमा थप पहिरो खस्ने तथा बस्ती आसपासका अन्य संरचनामा समेत क्षति पुग्न सक्ने स्थानीयको चिन्ता छ ।

भूकम्पपछि कमजोर बनेको जमिनमा निरन्तर वर्षा हुँदा पहिरोको जोखिम बढेको जिल्ला प्रशासनले यसअघि नै जनाएको थियो । जाजरकोटका विभिन्न भूकम्प प्रभावित बस्ती पहिरोको उच्च जोखिममा रहेको प्रशासनको भनाइ छ ।

स्थानीयवासीले तत्काल सडक खुलाउने, खानेपानीको पाइपलाइन मर्मत गर्ने र जोखिमयुक्त स्थानको पहिचान गरी आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन् । विशेषगरी पहिरो प्रभावित परिवार बसिरहेको क्षेत्रलाई सुरक्षित राख्न स्थानीय सरकार, जिल्ला प्रशासन तथा सम्बन्धित निकायले समन्वय गरेर काम गर्नुपर्ने उनीहरूको माग छ ।

रिसाङमा यसअघि पनि वर्षाका कारण पहिरो र बाढीजन्य समस्या देखिँदै आएको छ । चार जनाको ज्यान गएको, १० जना घाइते भएको र १६८ घरधुरीका ८९७ जना विस्थापित भएको अवस्थाले प्रभावित बस्तीको जोखिमको गम्भीरता देखाउँछ ।

प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने तथा उनीहरूको आधारभूत आवश्यकता पूरा गर्ने कामसँगै जोखिमयुक्त सडक र खानेपानी संरचनाको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

अहिले स्थानीयको तत्कालीन माग एउटै छ– पहिले सुरक्षित रूपमा आवतजावत गर्न बाटो खुलाइयोस् र खानेपानीको व्यवस्था गरियोस् । लगातार अवरुद्ध भइरहने सडक र खानेपानीको समस्याका कारण जोखिममा रहेका परिवारसम्म राहत तथा अत्यावश्यक सेवा पुर्‍याउन कठिन हुने भएकाले सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?