News Summary
Generated by OK AI. Editorially reviewed.- साउन ३० को पहिरोबाट प्रभावित भेरी नगरपालिका–२ रिसाङका ८८ घरधुरीलाई २२ लाख १५ हजार ३२० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ।
- पहिरोमा चारजनाको निधन भएको छ भने तीन जना गम्भीर घाइतेको नेपालगन्ज र काठमाडौंमा उपचार भइरहेको छ।
- पहिरोका कारण ३ स्थानका अस्थायी टेन्टमा ४६९ विस्थापित बसिरहेका छन् र स्थानीयले दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन्।
१० भदौ, जाजरकोट । साउन ३० गते परेको अविरल वर्षासँगै गएको पहिरोबाट प्रभावित भेरी नगरपालिका–२, रिसाङका ८८ घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ।
पहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएपछि विस्थापित तथा जोखिममा रहेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको हो।
लगातारको वर्षापछि रिसाङका विभिन्न गाउँमा पहिरो जाँदा चारजनाको निधन भएको थियो। पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूको नेपालगन्ज र काठमाडौंमा उपचार भइरहेको छ। अन्य सात जना घाइते भने घरमै रहेर नियमित स्वास्थ्य जाँच गराइरहेका छन्।
पहिरोका कारण स्थानीयका घर, गोठ, खेतबारी तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। जमिन भासिने र पहिरो जाने क्रम नरोकिएपछि बस्ती नै जोखिममा परेको छ। कतिपय परिवार घरमा बस्न सक्ने अवस्था नभएपछि सुरक्षित स्थानमा सरेका छन्। पहिरोका कारण चौपाया तथा बालीनालीमा समेत ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।
बसोबासका लागि जोखिमयुक्त क्षेत्र
पहिरो प्रभावित क्षेत्रको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अध्ययनसमेत गरेको थियो। भूगर्भविद्सहितको अध्ययन टोलीले जमिनको अवस्थाका आधारमा रिसाङका केही क्षेत्र मानव बसोबासका लागि जोखिमयुक्त रहेको निष्कर्ष निकालेको थियो।
अध्ययन टोलीले निरन्तर वर्षाका कारण जमिन कमजोर बनेको र थप पहिरो तथा जमिन भासिने जोखिम रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएको थियो। जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा सुरक्षित बस्ती व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने अवस्था देखिएको छ।
२२ लाखभन्दा बढीको राहत
यसैबीच, पहाडी क्षेत्र विकास अभियान (एचआरडीसी) जाजरकोटको समन्वय तथा केयर नेपाल र मानवीय सहायता साझेदारी मञ्च (एचपीपी)को सहयोगमा राहत सामग्री वितरण गरिएको हो।
केयर नेपालका प्रतिनिधि कालिदास जोशी, पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदीपजंग शाह, भेरी नगरपालिका–२ का वडाध्यक्ष भीमबहादुर कार्कीसहितको टोलीले प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको थियो।
अभियानका रणबहादुर कार्कीका अनुसार प्रत्येक घरधुरीलाई करिब २५ हजार १७४ रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको छ। ८८ घरधुरीका लागि कुल २२ लाख १५ हजार ३२० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको उनले जानकारी दिए।
राहत सामग्रीमा प्रभावित परिवारको तत्कालीन आवश्यकता लक्षित गरी विभिन्न सामग्री समावेश गरिएको छ। स्वच्छता किट, सोलार किट, पानी किट, भान्सा किट र पी–फर्मलगायत ४१ प्रकारका सामग्री वितरण गरिएको कार्कीले बताए।
अस्थायी टेन्टमा ४६९ विस्थापित
पहिरोका कारण घरमा बस्न नसक्ने अवस्थामा पुगेका परिवारलाई अहिले तीन स्थानमा निर्माण गरिएका अस्थायी सेल्टरमा राखिएको छ। ती अस्थायी टेन्टमा हाल ४६९ जना विस्थापित बस्दै आएका छन्।
अस्थायी सेल्टरमा बस्दै आएका परिवारले तत्कालका लागि राहत सामग्रीले ठूलो सहयोग पुगेको बताएका छन्। घरमा रहेका खाद्यान्न, कपडा, भाँडाकुँडा तथा दैनिक प्रयोगका सामग्री पहिरोका कारण क्षति वा विस्थापित भएपछि राहत सामग्रीले दैनिक जीवन सञ्चालनमा केही सहज भएको उनीहरूको भनाइ छ।
तर, अस्थायी सेल्टरमा लामो समय बस्नुपर्ने अवस्था आएमा खानेपानी, सरसफाइ, स्वास्थ्य, खाद्यान्न र बालबालिकाको शिक्षालगायतका विषयमा थप समस्या आउन सक्ने स्थानीयको चिन्ता छ। वर्षा अझै पूर्ण रूपमा रोकिइनसकेकाले रातिको समयमा पहिरो तथा जमिन भासिने जोखिमका कारण प्रभावित परिवार त्रसित छन्।
दीर्घकालीन व्यवस्थापनको माग
स्थानीयले तत्कालीन राहतसँगै पहिरो प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। जोखिमयुक्त बस्तीको भूगर्भीय अध्ययन गरी सुरक्षित स्थान पहिचान गरेर पुनःस्थापना गर्नुपर्ने उनीहरूको माग छ।
पहिरोले घरबार गुमाएका तथा जोखिममा रहेका परिवारलाई सुरक्षित आवासको व्यवस्था, क्षतिग्रस्त घर तथा संरचनाको पुनर्निर्माण, कृषि तथा पशुपालनमा भएको क्षतिको मूल्यांकन र आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने स्थानीयको भनाइ छ।
साथै, पहिरोका कारण क्षतिग्रस्त सडक, खानेपानी, विद्युत् तथा अन्य पूर्वाधारको तत्काल मर्मत गर्नुपर्ने अवस्था रहेको छ। स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारबीच समन्वय गरेर प्रभावित परिवारको पुनःस्थापना र जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने स्थानीयको माग छ।
राहत सामग्री वितरणले तत्कालीन समस्या समाधानमा सहयोग पुगे पनि पहिरोबाट प्रभावित परिवारलाई सुरक्षित र स्थायी बसोबासको व्यवस्था नगरेसम्म समस्या समाधान नहुने स्थानीयको भनाइ छ।
प्रतिक्रिया 4