News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको उत्तरगया गाउँपालिकामा भोटेकोशी बाढीले घर, विद्यालय र बस्ती बगाउँदा सयौँ परिवार घरबारविहीन र झन्डै सय बालबालिका अभिभावकविहीन बनेका छन्।
- शिवालय आधारभूत विद्यालयमा आश्रय लिएका ९ वर्षीया भुजना तामाङ र १० वर्षीया अप्सरा तामाङ आफ्ना परिवार सम्पर्कविहीन भएपछि फर्केर आउने आशमा बसिरहेका छन्।
- नीलकण्ठ माध्यमिक विद्यालयसहित उत्तरगयाका तीन विद्यालयका संरचना ध्वस्त भएका छन् भने करिब दुई सय विद्यार्थी र चार शिक्षक–कर्मचारी सम्पर्कविहीन छन्।
१५ भदौ, रसुवा (उत्तरगया) । केही बालबालिका टोलाएर बसेका छन् । केही रोइरहेका छन् । कोही खाना खाँदै छन् । कोही खेल्दै । रसुवाको उत्तरगया गाउँपालिकाको शिवालय आधारभूत विद्यालय परिसरमा आइतबार दिउँसो अनलाइनखबरको टोली पुग्दा भोटेकोशी बाढीले पुगेको मानवीय क्षतिको सहजै अनुमान लगाउन सकिन्थ्यो।
बाढीबाट ज्यान जोगाएका अगुवा, नागरिक समाज, शिक्षक लगायतको समूह ती बालबालिकाको व्यवस्थापनमा खटिएका थिए । जहाँ एक सय जति विद्यार्थी बसिरहेका छन् ।
विद्यालयमा कोही आएको चाल पाउनासाथ बालबालिकाहरू झुम्मिन्छन् । सायद उनीहरूलाई हराइरहेका आफ्ना आमा-बुबा आएको आश हुनुपर्छ ।
दिनहरू बित्दैछन् । तर पनि उनीहरूमा आशा हराइसकेको छैन ।
त्यही भिडमा थिइन्, ९ वर्षीया भुजना तामाङ । भुजना कक्षा ३ मा पढ्छिन् । बाढी आउनुअघिसम्म उनी परिवारसँग खेल्ने, रमाउने गरिरहेकी थिइन् ।
तर अहिले उनको बाल्यकालमाथि बाढीको त्रासदी आइपरेको छ । बाढी आएको दिन पनि उनी अरू दिनजस्तै विद्यालयको ड्रेस लगाएर घरबाट निस्किएकी थिइन् ।
विद्यालयको बस उनलाई लिन आउँदै थियो । तर त्यस दिन स्कुल पुग्ने बाटोभन्दा अगाडि नै उनको जीवनको बाटो फेरियो । उनको घर उत्तरगया गाउँपालिका-५ खाल्टेमा पर्छ ।
भुजनाका बुबा नजिकैको हाइड्रोपावरमा काम गर्थे । आमा खेतीपातीको काम गर्थिन् । घरमा पाँच वर्षका भाइ र १६ वर्षकी दिदी पनि थिए । बाढी आएपछि उनीहरू सबै सम्पर्कविहीन छन् ।

भुजनाले बाढी आएको क्षण सम्झँदै सुनाइन्, प्रहरीले ‘खोला बढेको छ’ भन्दै उनलाई माथि जंगलतिर लगेका थिए । ‘मलाई प्रहरीले खोला बढेको छ भनेर माथि जंगलतिर लैजानुभयो,’ उनले त्यो बेलाको क्षण सम्झिँदै सुनाइन् ।
त्यतिबेला उनका आमा, भाइ र दिदी बाटोमा बसेर बाढी आएको हेरिरहेका थिए । त्यसपछि उनीहरूबीच भेट भएको छैन । भुजना अहिले पनि आफ्ना परिवारका सदस्यहरू फर्केर आउने आशामा छिन् ।
वरिपरिका मानिसहरूले उनका बुबा-आमा, भाइ र दिदीलाई बाढीले बगाएको हुन सक्ने आकलन गरिरहेका छन् । तर ९ वर्षकी भुजनाको मनले त्यो स्वीकार गर्न मानेको छैन ।
रुन्चे स्वरमा उनले भनिन्, ‘बाढीपछि कसैसँग भेट भएको छैन । सबैले मेरो बुबा-आमा, भाइ र दिदीलाई बगायो भन्छन् । तर मलाई आउनुहुन्छ जस्तो लाग्छ । सपनामा आउनुभएको देख्छु ।’
उनी अझै पनि आफ्ना बुबा-आमा आउने बाटो हेरिरहेकी छन् । उनलाई बाढीले के गर्यो भन्नेभन्दा पनि एउटा प्रश्नले सताइरहेको छ- ‘उहाँहरू कहिले आउनुहुन्छ ?’

भुजनाजस्तै संकट बेहोरिरहेकी छन् १० वर्षीया बालिका अप्सरा तामाङ ।
रसुवाको पैरेवेशीमा बस्ने अप्सरा श्री मालिका देवी विद्यालयमा कक्षा ४ मा पढ्छिन्। बाढी आउनुअघि उनको दैनिकी अरू बालबालिकाको जस्तै थियो।
बिहान उठ्ने, कपाल कोर्ने र स्कुल जाने ।
बुधबार पनि उनी स्कुल जान बाटोमा निस्केकी थिइन् । बाढी आएको थाहा पाएपछि एक जना शिक्षिका (उमा)ले उनलाई बाढीबाट जोगाउन माथितिर लगिन् । अप्सराको ज्यान जोगियो।
तर घरमा रहेका परिवारका सदस्यहरूको अवस्था भने उनलाई थाहा छैन। उनका बुबा सुब्बा तामाङ होइड्रोपावरमा काम गर्थे । बाढीपछि बुबा सम्पर्कविहीन छन् ।
आमा पनि सम्पर्कमा छैनन् । हजुरबुबा र हजुरआमाको पनि अत्तोपत्तो छैन । बुबासँगै काम गर्ने उनका मामा पनि सम्पर्कविहीन छन् ।
अप्सराका १५ महिनाका भाइ पनि बेपत्ता छन्।
‘हजुरबुबा, हजुरआमा, ममी, फुपू र भाइ घरमा हुनुहुन्थ्यो,’ अप्सराले रुँदै भनिन्, ‘अहिले उहाँहरू कहाँ हुनुहुन्छ होला ?’
परिवारका सदस्यहरूलाई बाढीले बगाएको हुन सक्ने कुरा अरूले सुनाउँदा उनी झन् भक्कानिन्छिन्।
केहीबेरसम्म बोल्न सक्दिनन्। आँसु झार्दै उनी एउटै कुरा दोहोर्याइरहन्छिन्– ‘म एक्लै भएँ ।’
परिवारको पिरसँगै उनको अर्को चिन्ता छ– अब के गर्ने ? कहाँ बस्ने ? मलाई कसले हेर्छ ?
उनी अहिले शिवालय विद्यालयमा आश्रय लिएर बसेकी छन् । वरिपरि अरू बालबालिका पनि छन् । शिक्षक र अन्य व्यक्तिहरूले उनको हेरचाह गरिरहेका छन् ।

घर न विद्यालय
उत्तरगया गाउँपालिकाका मैलुङ, पहिरे बेसी, खाल्टे, कैदेल डाँडा, बोगटी, बेत्रावती क्षेत्र बाढीका कारण ठूलो क्षतिमा परेका छन् । बाढीले अधिकांश घर बगाएपछि ती बस्ती अहिले बगरमा परिणत छन् ।
सयौँ परिवार घरबारविहीन छन् । झन्डै सय बालबालिकाले अभिभावक गुमाएका छन् ।
शिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक भरत पौडेलका अनुसार बुधबार उत्तरगया क्षेत्रका चार विद्यालयमा विद्यार्थी पढ्न आएका थिए।
श्री नीलकण्ठ माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, मोडर्न ट्रिनिटी र उत्तरगया बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी मध्ये केहीलाई शिक्षकहरूले तत्काल सुरक्षित स्थानतर्फ लगेर बचाएका थिए।
बाढीपछि विस्थापित बालबालिकालाई सुरुमा नीलकण्ठ माध्यमिक विद्यालयमा राखिएको थियो। तर विद्यालय आसपास पटक–पटक बाढी र पहिरो आउन सक्ने त्रास बढेपछि उनीहरूलाई तुलनात्मक सुरक्षित मानिएको शिवालय आधारभूत विद्यालयमा सारिएको पौडेलले बताए ।
अहिले शिवालय विद्यालयमा बालबालिकासँगै उनीहरूका अभिभावक र नीलकण्ठ माध्यमिक विद्यालय आसपासका बाढीपीडित केही परिवार समेत बसिरहेका छन् । कतिपय बालबालिकालाई भने आफन्तले घर लगेका छन् ।

उत्तरगया गाउँपालिका–५ स्थित श्री नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षक प्रकाश नेपालका अनुसार भूकम्पपछि विस्थापित गरिएका बस्ती नै यसपटकको बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
‘भूकम्पपछि विस्थापित भएका बस्तीलाई खोला किनारमै लगेर बसोबास गराइएको थियो,’ नेपालले भने, ‘त्यही कारणले यसपटक ठूलो मानवीय क्षति भयो।’
उनका अनुसार ती बस्ती तत्कालीन हाकु गाविसका विभिन्न क्षेत्रका बासिन्दा हुन्।
भूकम्पपछि उनीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नुको सट्टा खोला किनारमा पुनर्बास गराइएको थियो।
अहिले त्यही बस्तीलाई बाढीले बगायो । नीलकण्ठ माध्यमिक विद्यालयमा करिब साढे पाँच सय विद्यार्थी अध्ययनरत थिए । तीमध्ये करिब दुई सय विद्यार्थी अहिले सम्पर्कविहीन रहेको नेपालले बताए ।

विद्यालयको क्षेत्रभित्र रहेका ट्रिनिटी, रामचन्द्र आवासीय र उत्तरगया पब्लिक स्कुल पनि बाढीमा पूर्ण रूपमा ध्वस्त छन् । ती विद्यालयका समेत करिब डेढ सय विद्यार्थी बेपत्ता रहेको प्रारम्भिक जानकारी छ।
‘नीलकण्ठका मात्रै करिब दुई सय विद्यार्थी अझै सम्पर्कमा आएका छैनन्,’ नेपालले भने।
बाढीको जोखिम बढ्दै गएपछि विद्यालयले विगत दुई वर्षदेखि बिहान ९ बजेदेखि कक्षा सञ्चालन गर्दै आएको थियो। यसपटक पनि विद्यार्थीलाई समयमै विद्यालयमा ल्याउन सकेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको उनको भनाइ छ।
‘यदि विद्यालय त्यही समयमा सञ्चालन नगरेको भए झन्डै ८० प्रतिशत विद्यार्थी गुमाउनुपर्ने अवस्था आउन सक्थ्यो,’ उनले भने।

चार शिक्षक पनि सम्पर्कविहीन
बाढीमा विद्यालयले चार जना शिक्षक–कर्मचारीसमेत गुमाएको छ । एक जना कम्प्युटर इन्जिनियरिङका शिक्षक, एक जना प्लस टु तहका शिक्षक, एक जना बाल शिक्षिका र विद्यालयकी नर्स अहिले सम्पर्कमा छैनन् ।
‘हामीले आशा त्यागिसकेका छौँ । तैपनि उहाँहरू जीवितै भेटिनुहोस्, सम्पर्कमा आउनुहोस् भन्ने आशा अझै छ,’ उनले भने।
६० भन्दा बढिले विद्यार्थीले गुमाए अभिभावक विद्यालयले बाढीपछि विद्यार्थीको पारिवारिक अवस्थाबारे प्रारम्भिक तथ्यांक संकलन गरेको छ । त्यसक्रममा करिब सय जना विद्यार्थीले आफ्ना अभिभावक गुमाएको प्रारम्भिक विवरण आएको नेपालले बताए ।
‘अहिलेसम्म यही होल्डिङ सेन्टरमा रहेका विद्यार्थीमध्ये ६० जनाले अभिभावकविहीन भएको नाम सूचीकरण गरेका छौँ,’ उनले भने, ‘करिब सय पुग्न सक्ने अनुमान छ ।’
सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले वास्तविक क्षतिको विवरण अझै यकिन हुन सकेको छैन।

‘खोला होइन, आँधी आएजस्तो भयो’
बाढी आएको दिन आफू विद्यालय जाने तयारीमा रहेको नेपालले बताए। खाना खाएर विद्यालयको पोशाक लगाउँदै गर्दा माथिल्लो क्षेत्रमा केही बस्ती नरहेको र तल्लो क्षेत्रमा सडक किनारका बस्ती जोखिममा रहेको सूचना पाएपछि उनले विद्यार्थी तथा आफन्तलाई सम्पर्क गर्न थालेका थिए।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि स्थानीयलाई सचेत गराउँदै ‘खोला यसरी बढ्दैछ, वरपर सुरक्षित रहनुहोला’ भन्दै सूचना दिएका थिए। तर त्यसको केही मिनेटमै अवस्था नियन्त्रणबाहिर पुग्यो।
‘फोन गर्न थालेको पाँच–सात मिनेटमै धुन्चेबाट खोला आइसकेको खबर आयो,’ नेपालले भने, ‘त्यो खोला जस्तो लागेन। बरु आँधी वा हावाहुरी जस्तो आएको थियो।’
उनका अनुसार बाढीको दृश्य भयावह थियो । त्यसलाई शब्दमा बयान गर्नसमेत कठिन छ। ‘त्यो दृश्य हेर्नै नसकिने र अकल्पनीय थियो,’ उनले भने।

बाढीपछि फोन र इन्टरनेट सेवा बन्द भएकाले अहिले पनि धेरै विद्यार्थी, अभिभावक र स्थानीयसँग सम्पर्क हुन नसकेको उनी बताउँछन् । तर तत्कालीन समस्याहरूमा मात्रै केन्द्रित हुन नहुने उनी बताउछन् ।
‘तीन वटा विद्यालयको संरचना नै छैन, परिवार गुमाएका बालबालिकाको भविष्यबारे सरकारले दीर्धकालीन रूपमा सोच्नुपर्छ,’ शिक्षक नेपाल भन्छन् ।
प्रतिक्रिया 4