+
+
Shares

बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी रोक्न खाद्य स्वच्छतामा ध्यान दिन अपिल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा पानीजन्य रोग र फुड पोइजनिङको उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
  • विभागले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, पिउने पानी र तयारी भोजनको स्वच्छतामा उच्च निगरानी बढाएर दूषित वस्तु जफत तथा नष्ट गरिरहेको छ।
  • विभागले बाढीले भिजेका वा मरेका माछा, पशुपन्छी र दूषित खाद्य वस्तु नखान, पानी उमालेर पिउन र गुनासो भए सम्पर्क गर्न आग्रह गरेको छ।

१९ भदौ, काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक तथा व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न अपिल गरेको छ ।

जनस्वास्थ्यलाई ध्यानमा राख्दै विभागले बाढी प्रभावित क्षेत्रमा वितरण भइरहेका खाद्यान्न, प्रशोधित पिउने पानी तथा तयारी भोजनको स्वच्छता सुनिश्चित गर्न उच्च निगरानी बढाएको पनि बताएको छ ।

राहत संकलन तथा वितरणस्थलमै पुगेर प्रत्यक्ष अनुगमन गरिरहेको विभागले मातहतका कार्यालयबाट प्राविधिक टोलीहरू परिचालन गरेको छ ।

विभागका अनुसार ती टोलीले बजार, भण्डारण स्थल र राहत शिविरहरूमा पुगेर खाद्य वस्तुको परीक्षणलाई तीव्रता दिएका छन् । यसै क्रममा स्थानीय प्रशासनसँगको समन्वयमा बाढीको पानीले भिजेका, म्याद गुज्रेका वा दूषित पाइएका खाद्य वस्तुहरूलाई तत्काल जफत गरी नष्ट गर्ने कार्यसमेत धमाधम भइरहेको विभागले जनाएको छ ।

यस विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका लागि उपभोक्ता स्वयं पनि सचेत हुनुपर्नेमा विभागको जोड छ । बाढीले बगाएर ल्याएका वा मरेका माछा, पशुपन्छी र अन्य कुनै पनि खाद्य वस्तुहरूमा रासायनिक तथा जैविक विषाक्तता हुने अत्यधिक जोखिम रहने भएकाले त्यस्ता वस्तुहरू संकलन तथा उपभोग नगर्न विभागले निर्देशन दिएको छ ।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा खानेपानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पानीलाई राम्ररी उमालेर मात्र पिउन आग्रह गरिएको छ ।

बाढीले भिजेका प्याकेट, बोरा वा खुला रूपमा राखिएका चामल, दाल र पिठोजस्ता खाद्यान्न सङ्क्रमित भई दूषित हुने हुँदा तिनको प्रयोग नगर्न सुझाइएको छ ।

पकाएको खाना तुरुन्तै खान, म्याद गुज्रेका, बासी, खुला, झिँगा भन्केका तथा सडेगलेका फलफूल र सागपात नखान पनि विभागले सचेत गराएको छ ।

खाना बनाउनु वा खानुअघि र शौचालयको प्रयोगपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्ने जनस्वास्थ्यको आधारभूत नियम पालना गर्न पनि अनुरोध गरिएको छ ।

राहत वितरक तथा व्यवसायीहरूका लागि पनि विभागले निर्देशन जारी गरेको छ । जसअनुसार, राहत स्वरूप वितरण गरिने खाद्य पदार्थहरू अनिवार्य रूपमा सुरक्षित, ताजा र उपभोग्य मिति बाँकी रहेका मात्र हुनुपर्नेछ ।

वितरणका लागि राखिएका खाद्य पदार्थलाई ओस, बाढीको पानी वा कीटनाशक विषादीबाट टाढा सुरक्षित र ओभानो ठाउँमा मात्र भण्डारण गर्न व्यवसायी तथा वितरकहरूलाई सचेत गराइएको छ ।

आम नागरिकलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन आफू सजग र प्रतिबद्ध रहेको जनाउँदै विभागले प्रभावित क्षेत्रमा अस्वस्थकर वा दूषित खाद्य सामग्री बिक्री–वितरण भएको पाइएमा तत्काल उजुरी गर्न आग्रह गरेको छ ।

खाद्य स्वच्छतासम्बन्धी कुनै पनि जिज्ञासा वा गुनासो भएमा विभागको बबरमहलस्थित केन्द्रीय कार्यालयको मोबाइल नम्बर ९८५१३१९४८४ र ९८५१३१९४८२ मा सम्पर्क गर्न सकिनेछ ।

त्यसैगरी, काठमाडौं डिभिजन कार्यालयका लागि ९८५१३४२८३०, नुवाकोट डिभिजनका लागि ९८५१३१०८४९, तनहुँ डिभिजनका लागि ९८५६०६१५८१ र चितवन डिभिजन कार्यालयका लागि ९८५५०३४१४५ मा सम्पर्क गरेर जानकारी गराउन सकिने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?