+
+
Shares

म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस् : गृहमन्त्री गुरुङ

'कुर्सीमा बसेर निर्देशन दिने युग सकियो'

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर उठेका आलोचनाको जवाफ दिँदै पुरानो नेतृत्व शैलीको मागलाई ‘गलत युग’ भनेका छन्।
  • उनले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको र अनलाइनबाट हरेक ४ घण्टामा बैठक भइरहेको बताएका छन्।
  • रसुवाको भोटेकोशी बाढीपछिको उद्धार कार्यमा उनको कार्यशैली र प्रत्यक्ष उपस्थितिमाथि प्रश्न उठेपछि उनले परिणाममा ध्यान दिन आलोचकलाई आग्रह गरेका छन्।

१९ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्।

गृहमन्त्री गुरुङले ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेसन ग्याप रहेको टिप्पणी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको प्रष्ट पारेका छन्।

‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप),’ उनले लेखेका छन् ।

उनले अगाडि थपेका छन्, ‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ चिन्ता लिनु पर्दैन । अनलाइनबाट हामी हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ।’

फिल्डको वास्तविक यथार्थ नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम देशले वर्षौँदेखि भोग्दै आएको भन्दै उनले पुरानो कार्यशैलीको आलोचना गरेका छन्। ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ,’ गृहमन्त्री गुरुङले लेखेका छन्।

डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको उनको दाबी छ। आलोचकहरूलाई लक्षित गर्दै उनले भनेका छन्, ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु।’

रसुवाको भोटेकोशी बाढी र त्यसपछिको उद्धार कार्यमा गृहमन्त्रीको कार्यशैली र प्रत्यक्ष उपस्थितिलाई लिएर कतिपय राजनीतिक वृत्त र सामाजिक सञ्जालमा प्रश्न उठेपछि उनको यो स्पष्टीकरण आएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?