News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजको घटनामा दोषी देखिएका चिकित्सक, नर्स र कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताइन्।
- मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको टोलीले स्थलगत छानबिन गरी प्रतिवेदन बुझाएको र आचारसंहिता उल्लंघन देखिएकालाई सम्बन्धित काउन्सिलमा पठाइएको उनले जानकारी दिइन्।
- गजेन्द्रनारायण सिंह अस्पतालमा ८० अस्थायी दरबन्दी थप्ने प्रस्तावमा अर्थ मन्त्रालयको सहमति भएको र थप ७ चिकित्सक दुई वर्षका लागि खटाइएको उनले बताइन्।
३१ भदौ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजमा अस्पतालबाहिरै बच्चा जन्माउन बाध्य भएकी बबिताकुमारी पासवानको घटनामा दोषी देखिएका चिकित्सक, नर्स तथा कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएकी छिन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसद श्रीकृष्णप्रसाद अधिकारीको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी प्रतिवेदन बुझाइसकेको जानकारी दिइन् ।
उनले प्रतिवेदनले औंल्याएका आधारमा आचारसंहिता उल्लंघन गरेको देखिएका चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको बताइन् ।
अस्पतालको जनशक्ति व्यवस्थापनसमेत कमजोर रहेको पाइएको भन्दै मन्त्री मेहताले गजेन्द्रनारायण सिंह अस्पतालमा ८० जना अस्थायी दरबन्दी थप गर्ने प्रश्तावमा अर्थ मन्त्रालयको सहमति भइसकेको र मन्त्रिपरिषद्मा प्रश्ताव लैजाने तयारी रहेको जानकारी पनि दिइन् ।
‘थप सात चिकित्सकलाई समेत दुई वर्षका लागि अस्पतालमा खटाइएको छ । ‘सुरक्षित मातृत्व सुविधा होइन, हरेक आमाको अधिकार हो’ भन्दै कुनै पनि महिला प्रसव पीडामा स्वास्थ्य संस्थाको ढोकाबाहिर बस्नुपर्ने अवस्था दोहोरिन दिइँदैन,’ उनले भनेकी छिन् ।
मन्त्री मेहताले सरकारी अस्पतालमा बिरामीको लामो लाइन र टिकटको समस्या समाधान गर्न अनलाइन टिकट, टोकन प्रणाली, डिजिटल सेवा र फास्ट र्ट्याक विस्तार भइरहेको पनि बताइन् ।
उनका अनुसार अस्पतालको सेवा प्रवाह अनुगमनका लागि मन्त्रालयले ४० सदस्यीय समिति गठन गरेको छ। विभिन्न सरकारी अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन भइरहेको र वीर अस्पतालमा समेत ईएचएस सञ्चालनको तयारी भइरहेको छ ।

प्रतिक्रिया 4