News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटन मन्त्रालयको ‘नेपाल कलिङ’ अभियानअन्तर्गत बंगलादेशबाट आएको १८५ जनाको वाल्टन प्लाजा टोलीलाई त्रिभुवन विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरिएको छ।
- १० भदौ २०८३ को बाढीपछि पर्यटनबारे नकारात्मक सन्देश फैलिएका बेला यति ठूलो कर्पोरेट टोलीको आगमनलाई पर्यटन क्षेत्रले सकारात्मक सन्देशका रूपमा लिएको छ।
- श्रीलंकाका दुई संस्थााबाट १३३ जनाको टोली बिहीबार नेपाल आउँदैछ र उनीहरूले १७ देखि २० सेप्टेम्बरसम्म काठमाडौंसहितका गन्तव्य भ्रमण गर्नेछन्।
१ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियान अन्तर्गत नेपाल आउने पर्यटकलाई स्वागत गर्न थालिएको छ ।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले आज बंगलादेशबाट आएका १८५ जनाको कर्पोरेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरे ।
चीनको तिब्बतस्थित गिरोङ काउन्टी हुँदै १० भदौ २०८३ मा भोटेकोशी र त्रिशूलीमा आएको बाढीपछि नेपालको पर्यटनबारे नकारात्मक सन्देश प्रवाह भएका छन् । पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बद्ध संस्थाहरूसँग सो सन्देश चिर्नुपर्ने दबाब छ ।
बंगलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका १८५ जना प्रतिनिधि नेपाल भ्रमणका लागि आएका छन् । थप ३० जना १८ सेप्टेम्बरमा काठमाडौं ओर्लिने कार्यक्रम छ । नेपालमा हालै आएको बाढीका कारण अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटन सुरक्षाबारे केही नकारात्मक धारणा देखिएको अवस्थामा यति ठूलो कर्पोरेट टोलीको आगमनलाई नेपालको पर्यटन क्षेत्रका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको बोर्डका प्रवक्तासमेत रहेका निमित्त निर्देशक शर्माले बताए ।
बंगलादेशका पर्यटकले नेपाल सुरक्षित, पर्यटकका लागि खुला र आतिथ्यका लागि तयार रहेको प्रतिक्रिया दिएको बोर्डले जनाएको छ । वााल्टन प्लाजाको यस भ्रमणले नेपाल र बंगलादेशबीचको पर्यटन तथा कर्पोरेट सम्बन्धलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
श्रीलंकाको आइटा एजेन्ट्स एसोसियसन अफ श्रीलंका र ट्राभल एजेन्ट्स एसोसियसन अफ श्रीलंका गरी दुई वटा संस्थाबाट १३३ जनाको टोली बिहीबार नै नेपाल अवतरण गर्दैछ । उनीहरू आ–आफ्नो संस्थाको वार्षिक साधरण सभाका लागि नेपाललाई रोजेका हुन् । उनीहरू १७ सेप्टेम्बरदेखि २० सेप्टेम्बरसम्म काठमाडौंसहित नेपालका विभिन्न गन्तव्यहरूको भ्रमण गर्नेछन् ।
प्रतिक्रिया 4