News Summary
Generated by OK AI. Editorially reviewed.- बझाङको जयपृथ्वी नगरपालिका–१० र ११ बीचको पानकोट पुलबाट कुकुरलाई खसाल्ने महिलाको खोजी प्रहरीले सुरू गरेको छ।
काठमाडौं । उर्लिँदो सेती नदीमा एउटा अबोध कुकुरलाई जबरजस्ती धकेलेर फाल्ने महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि महिलालाई पक्राउ गर्न चौतर्फी आवाज उठेको थियो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
यद्यपि अझै ती महिला फेला नपरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दीपक विष्टले घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको र संलग्न व्यक्तिको खोजी सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार घटना जयपृथ्वी नगरपालिका–१० र ११ को बीचमा पर्ने सेती नदीमाथिको पानकोट पुलमा भएको देखिन्छ । ‘घटनाबारे हामीलाई जानकारी प्राप्त भएको छ । अहिले अनुसन्धान सुरु गरेका छौँ’ विष्टले भने, ‘भिडिओमा देखिएको व्यक्तिको पहिचान र घटनाको वास्तविकताबारे बुझ्ने काम भइरहेको छ ।’
प्रहरीले भिडिओको आधारमा घटनास्थल र संलग्न व्यक्तिबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।
‘यस्तो घटना देखे प्रहरीलाई उजुरी गर्न सकिन्छ’
पशुमाथि हुने हिंसा देखेर सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्नु मात्रै पर्याप्त नहुने कानुन वरिष्ठ अधिवक्ता श्रेष्ठ बताउँछन् । घटनाबारे सम्बन्धित निकायमा उजुरी गर्न सकिने उनको भनाइ छ ।
उनका अनुसार कुकुर वा अन्य पशुपन्छीमाथि कुनै प्रकारको दुर्व्यवहार भएको देखेमा प्रहरी कार्यालयमा उजुरी दिन सकिन्छ । प्रहरीले जाहेरी लिन नमानेमा जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा समेत उजुरी दिन सकिने उनले बताए ।
यस घटनामा पनि भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भइसकेकाले प्रहरीका लागि अनुसन्धानको प्रारम्भिक आधार बनेको छ । अब भिडिओमा देखिएको महिला को हुन्, कुकुरलाई किन पुलबाट खसालियो र कुकुरको अवस्था के भयो भन्ने विषय अनुसन्धानबाट खुल्नुपर्ने देखिन्छ ।
पशुपन्छीलाई निर्दयी व्यवहार गर्नेलाई के हुन्छ कारबाही ?
घटनाको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा महिलामाथि कारबाहीको माग भइरहेको छ । तर भिडिओका आधारमा सामाजिक सञ्जालमै निष्कर्ष निकाल्नुभन्दा प्रहरीले घटनाको वास्तविकता अनुसन्धानबाट स्थापित गर्नुपर्ने हुन्छ ।
२०७४ सालभन्दा अघि यस विषयमा कुनै नियम कानुन बनेको थिएन । तर मुलुकी अपराध संहिता २०७४ भदौबाट लागु भएपछि भने यसलाई अपराधको रूपमा लिइन्छ । पशुपन्छीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको वातावरण कानुन विज्ञ, वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन् ।
प्रतिक्रिया 4