News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको रानीकोटमा बीएन जोशीको नियात्राकृति ‘फुकुवा’ को अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौँ । साहित्यकार बीएन जोशीको नियात्राकृति ‘फुकुवा’ को अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । भक्तपुरको रानीकोटमा आयोजित कार्यक्रममा निबन्धकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव रोशन शेरचनले जोशीका नियात्रा रोमाञ्चक र विस्मयकारी रहेको टिप्पणी गरे।
‘लेखक बीएन जोशी बिनायोजना घरबाट निस्कने घुमक्कड रहेछन्, घर छोडेपछि यात्राले आफैँ लय पकड्दो रहेछ’ शेरचनले भने, ‘त्यसरी भौँतारिँदा यात्रा निकै रोमाञ्चक र विस्मयकारी हुने रहेछन् ।’
समीक्षक राजकुमार बानियाँले ‘फुकुवा’ मा यात्रा र अनुभूतिको प्रतिध्वनि रहेको सुनाए । अन्य नेपाली लेखकहरू नपुगेका स्थानमा पुगेर देश र दृश्यहरूको चित्ताकर्षक वर्णन गर्नु जोशीको नियात्राकारिताको प्रमुख विशेषता भएको उनको धारणा थियो ।
कवि एवं समीक्षक सबिता गौतम दाहालले जोशीका नियात्रामा यात्राको रोमाञ्चकताका साथै भाषिक लालित्यको प्रचुरता रहेको बताइन् । पुस्तकले सामान्य ज्ञानको समेत प्रशस्त जानकारी दिने हुँदा स्कुल तथा कलेजका पाठ्यपुस्तकका रूपमा समेत समावेश गर्न सकिने उनको कथन थियो ।
प्राज्ञ दीपक सापकोटाले लेखकले आफूले भोगेका घटना र अनुभूतिलाई आधिकारिक ढंगले नियात्रामा प्रस्तुत गरेकाले भावी पुस्ताले तत्कालीन समयको इतिहासको समेत जानकारी पाउने भनाइ राखे ।
कवि रमी प्रियाले ‘ब्राइटनको वैभव’ नियात्रा पढ्दा आफू १५ वर्षअगाडि उक्त सहरमा जाँदा देखेका, भोगेका कुरा दुरुस्तै रहेको विचार व्यक्त गरिन् । कृतिभित्रको भाषा र शैली अत्यन्तै परिष्कृत रहेको उनले बताइन् ।
नियात्राकार जोशीले ‘फुकुवा’ मा देश-विदेशको यात्रा र परिवेशलाई आफूले सकेसम्म कलात्मक र इमानदारीपूर्वक पाठकसामु प्रस्तुत गरेको बताए । कार्यक्रममा साहित्यकार शैलेन्द्र अधिकारी, रूपक अलंकार, पुष्पराज पौडेललगायतले पनि कृतिबारे आआफ्ना धारणा राखेका थिए ।
शिखा बुक्सले बजारमा ल्याएको उक्त पुस्तकमा देश-विदेशका २० नियात्रा समेटिएका छन्। यसअघि जोशीका संस्मरण ‘श्रमाटन’ र उपन्यास ‘मोर्डन बेली’ प्रकाशित छन्।
प्रतिक्रिया 4