News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य बीमाका ३२५ ओपीडी पुर्जा सकिएपछि दिदी र आमाको उपचार नपाई बिरामी फर्किन बाध्य भएका छन् ।
- अस्पतालले जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण जनरल मेडिकलतर्फ दैनिक ३२५ बिरामीको कोटा तोकिएको र ज्येष्ठ नागरिक तथा अशक्तका लागि छुट्टै व्यवस्था नभएको जनाएको छ ।
- सूचना अधिकारीका अनुसार अस्पताल ३२८ बेडको भए पनि २०५४ कै दरबन्दीअनुसार जनशक्ति छ र नयाँ सेवा थपिए पनि पूर्वाधार तथा कर्मचारी पर्याप्त छैनन् ।
६ असोज, जनकपुरधाम । बारा कलैया उपमहानगरपालिका–२१ का शिवपुजन चौरसिया सोमबार बिहान साढे ९ बजे दिदीको उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुगे ।
ओपीडीको पुर्जा लिन उनकी दिदी ११ बजेसम्म लाममा बसिन् । तर काउन्टरमा पुग्दा नपुग्दै टिकट सकिएको जानकारी दिइयो । र, विनाउपचार निराश बनेर घर फर्किन् ।
‘दिदी पुग्दासम्म काउन्टर बन्द भयो । स्वास्थ्य बीमाबाट एक दिनमा ३२५ वटा मात्र ओपीडी पुर्जा तोकिएको छ । दिदी उपचार नगराई फर्किनु पर्यो,’ शिवपुजनले गुनासो गरे ।
उनका अनुसार दिदी जस्तै सयौं बिरामी, अशक्त वृद्धवृद्धा लाम लागेर काउन्टरसम्म पुग्नै नपाई निर्धारित ३२५ बिरामी संख्या पुग्यो भने घर फर्किनुको विकल्प हुँदैन ।
बाराकै सुवर्ण गाउँपालिका–४ का सत्रुधन यादव पनि सोमबार बिहान सवा ९ बजे आफ्नी आमालाई उपचारका लागि लिएर नारायणी अस्पताल पुगे । उनी बिहान सवा ९ बजेदेखि स्वास्थ्य बीमासम्बन्धी जनरल मेडिकल ओपीडी पुर्जा लिन लाम बसे । तर ११ बजेपछि काउन्टर नजिक पुग्नै लाग्दा टिकट बन्द भयो । उनी निराश भएर फर्के ।
‘सवा ९ बजे नै अस्पताल पुगेर पुर्जा लिन लाइनमा बसें । तर ११ बजे काउन्टर बन्द भयो । आमाको उपचार नै हुन सकेन,’ सत्रुधनले भने ।
निर्धारित समय र पुर्जा प्रणालीको कारण नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउने सयौं बिरामी निराश भएर फर्किन बाध्य हुन्छन् । बीमातर्फ औषधि उपचारमा समस्या छ । टाढाटाढाबाट उपचार सेवा लिन आएका बिरामीका लागि सहज रूपमा लाम लाग्ने व्यवस्था छैन । लाम लागे पनि निर्धारित टोकन प्रणालीको कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ ।

‘एउटै लाममा २०० बढी मानिस हुन्छन् । पुरुष र महिलाको छुट्टाछुट्टै लाम छ । तर वृद्धवृद्धा, अशक्तलाई पनि त्यही लाममा लाग्नुपर्छ । यो दु:खद हो । कम्तीमा ज्येष्ठ नागरिक र अशक्तको लागि सहज रूपमा पुर्जा काट्न पाट्ने र सहज उपचार हुने व्यवस्था हुनु पर्छ नि,’ शिवपुजनको गुनासो छ ।
सत्रुधन यादवका अनुसार स्वास्थ्य बीमाको औषधि काउन्टरमा सस्ता औषधि मात्र हुन्छन् । महँगा औषधि बाहिरै किन्नुपर्ने बाध्यता छ ।
अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले जनशक्ति र भौतिक पूर्वाधार अभावको कारण यो स्थिति रहेको बताए । उनका अनुसार स्वास्थ्य बीमातर्फ एक दिनको युनिटमा ५/६ जना चिकित्सकले ओपीडी सेवा दिने गर्छन् । चिकित्सकको जनरल मेडिकलतर्फ ३२५ बिरामी हेर्नुपर्ने बाध्यता छ । हृदय रोगतर्फ ५० जना र डायलाइसिसतर्फ ४० जनाको टिकट काट्ने गरिन्छ ।
‘यसरी बिहानदेखि साँझसम्म एक जना चिकित्सकको भागमा ५० देखि ६० जनासम्म बिरामी पर्छन्,’ उनले भने ।
उनका अनुसार केही दिन अघिसम्म कोटा प्रणाली थिएन । तर जनशक्ति अभावका कारण जनरल मेडिकलतर्फ ओपीडीको सीमा निर्धारण गरिएको छ । जनशक्ति अभावकै कारण अशक्त तथा वृद्धवृद्धाको छुट्टै काउन्टर सुरु गर्न सकिएको छैन ।
‘हामीसँग १० जना चिकित्सक ओपीडीमा भएको भए यस्तो अवस्था आउने थिएन । तर त्यो जनशक्ति हामीसँग छैन । न त सेवा थप गर्ने आवश्यक भौतिक पूर्वाधार छ,’ निमित्त मेसु साहले भने ।
अस्पतालमा ओपीडी र अन्य गरी दैनिक १४ सय नयाँ बिरामी आउने गरेका छन् । तर अस्पतालको वर्तमान भौतिक संरचना र जनशक्तिले सहज उपचार सेवा प्रदान गर्न निकै कठिनाइ छ ।

अस्पतालका सूचना अधिकारी डा. उदय सिंहका अनुसार मेडिकलतिरकै औसतमा १५ जना बिरामीले दैनिक अस्पताल भर्ना हुन प्रतीक्षा गर्नुपर्ने बाध्यता छ । संघीय सरकार मातहतको यो अस्पताल हाल ३२८ बेडको छ । अस्पताल प्रशासनको २२८ बेड र अस्पताल विकास समितिबाट १०० बेड चलिरहेको छ । तर जनशक्ति भने २०५४ कै दरबन्दीअनुसार रहेको सूचना अधिकारी डा. सिंहको भनाइ छ ।
‘२०० बेडमा २०५४ कै स्वीकृत दरबन्दी अनुसारको जनशक्ति छ । अस्पतालमा क्रमिक रूपमा सेवा थपियो । आईसीयू १८ बेड, १५ बेडको डाउलाइसिस, एनआईसीयू १० बेड, पीआईसीयू लगायतको सेवा थपिएको छ । तर जनशक्ति पूर्ण छैन । धेरै ज्यालादारी र करारमा राखिएर उपचार सेवा दिइँदै छ,’ उनले सुनाए ।
अर्कोतर्फ, पूर्वाधारको चरम अभाव छ । त्यसकारण टहरामै काउन्टर तथा विभिन्न उपचार सेवा दिने गरिएको छ । २०४३ सालमा बनेको प्रसूति भवन बनेको थियो । त्यसयता क्याथ ल्याब भवन मात्र थपिएको छ । त्यसमा मेडिकल तथा ओपीडी सेवा दिने गरिएकाले अलिक सहज छ । तर मेडिकल सेवा बाहेक सबै टिनकै छानो भएको टहरामा छन् ।
‘जबसम्म भवन र जनशक्ति हुँदैन । तबसम्म हामीले सास्ती भोग्नुको विकल्प हुँदैन । व्यवस्थापन गर्न मुस्किल छ,’ डा. सिंह भन्छन् ।
उनका अनुसार मेडिकल ओपीडीमा ४५ वटा बेड छन् । तर दैनिक ६० देखि ७० जना बिरामी थपिने अवस्था छ । त्यसकारण भर्नाको लागि बिरामीले तीन दिनसम्म कुनुपर्ने हुन्छ । दैनिक १५ जना मेडिकलका बिरामी बाहिर उपचार गराउन जान बाध्य हुने गरेका छन् ।
भौतिक पूर्वाधार तथा जनशक्ति थपका लागि स्वास्थ्य मन्त्रालयलाई पटकपटक पत्राचार गरिए पनि प्रक्रिया अघि नबढेको निमित मेसु साहले बताए ।
प्रतिक्रिया 4