News Summary
Generated by OK AI. Editorially reviewed.- बंगालको खाडीको गहिरो न्यूनचापीय प्रणालीले नेपालका केही जिल्लामा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना कायम राखेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
- महाशाखाले असोज ८ देखि १० गतेसम्म कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा रातो, सुन्तला र पहेँलो जोखिम संकेत जारी गरेको छ।
- मौसमविद् डेभिड ढकालले बाढी–पहिरो, डुबान, गेग्रान बहाव र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै उच्च सतर्कता र रातिको यात्रा नगर्न आग्रह गरेका छन्।
८ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर बन्न सक्ने सम्भावना रहेको जनाएको छ ।
यद्यपि त्यसको असरले नेपालका केही जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना भने कायम रहेकाले जनजीवन पनि प्रभावित हुनेसक्ने सम्भावना छ । त्यसैले उच्च सतर्कता कायम राख्न आवश्यक रहेको मौसमविदले सुझाव दिएका छन् ।
यो प्रणालीको प्रभावले बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रमा उच्चसतर्कता अपनाउन र सकेसम्म रातिमा यात्रा नगर्न भनिएको छ ।
बंगालको खाडीको विकसित भएको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले नेपालका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना औंल्याइएको छ ।
गएरातिदेखि नै देशका धेरै स्थानमा पानी पर्ने क्रम जारी छ । आज वर्षाको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिए ।
कुन जिल्लामा कस्तो प्रभाव पर्ला ?
महाशाखाले बुधबार साँझ ६ बजे आगामी पाँच दिनको मौसम पूर्वानुमानको आधारमा जोखिम नक्सा सार्वजनिक गरेको छ ।

सो नक्सामा आज असोज ८ गते विहीबार कोशी, बागमती र गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी पहाडी जिल्लामा सुन्तला रंगले संकेत गरेर सतर्क रहन भनिएको छ । सुन्तला रंगले जोखिम अवस्था हुनसक्ने भएकाले जनधनको सतर्क हुनुपर्ने भन्ने संकेत गर्दछ ।
यसैगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका जिल्लामा पहेँलो रंगले संकेत गरेर मौसमी अवस्थाबारे अध्यावधिक रहन भनिएको छ । जोखिम नक्सामा कर्णाली प्रदेशका केही जिल्लालाई पनि पहेँलो रंगले संकेत गरिएको छ ।
असोज ९ गते ८ गतेको तुलनामा अझ बढी जोखिम हुने संकेत गरिएको छ । यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भेगमा रातो रंगले संकेत गरिएको छ । यसको अर्थ प्रतिकार्य गर्नुपर्ने भन्ने बुझिन्छ ।

रातो रंगले संकेत गरिएका जिल्लाहरुमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङ छन् ।
यसैगरी कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लालाई पहेँलो रंगले संकेत गरेर मौसमी अवस्थामा अध्यावधिक रहन भनिएको छ । अरु बाँकी सबै जिल्लालाई सुन्तला रंगले संकेत गरेर सतर्क हुन भनिएकोमा आज बिहान भने हल्का संशोधन गरिएको छ ।
हिजो साँझ सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लालाई पनि सुन्तला रंगले संकेत गरेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान भने ती पाँच जिल्लालाई पहेँलो रंगले संकेत गरी मौसमी अवस्थामा अध्यावधिक हुन भनेको छ ।
असोज १० गते शनिबार कर्णाली र सुदूरपश्चिमतिर अलि बढी जोखिम रहने सम्भावना छ । त्यसैले मौसम विज्ञान विभागले डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुला जिल्लालाई रातो रंगले संकेत गरेको छ ।
यसैगरी लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्लालाई सुन्तला रंगले संकेत गरेर सतर्क अवस्थामा रहन भनिएको छ ।
असोज ८, ९ र १० गतेको तुलनामा ११ गते पानी पर्ने क्रम अलि कम हुने सम्भावना छ । असोज ११ गते बागमतीभन्दा पश्चिमतिरका सबै जिल्लालाई पहेँलो रंगले संकेत गरिएको छ ।

पहेँलो रंगको अर्थ जोखिम नरहेको तर मौसमी अवस्थामा अध्यावधिक रहन भनिएको हो । कोशी, मधेश र बागमतीका सबै जिल्लालाई हरियो रंगले संकेत गरेर अवस्था सामान्य हुनसक्ने भनिएको छ ।
कमजोर बन्दै न्यूनचापीय प्रणाली
बंगालको खाडीको पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी क्षेत्रमा गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) विकसित भएकाले त्यसैको प्रभावले नेपालका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना औंल्याइएको हो ।
बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्रले भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ ।
यो प्रणाली आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमश: कमजोर हुने सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ । साथै नेपाल मौसम विज्ञान विभागले पनि आज बिहान जारी गरेको बुलेटिनमा न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि क्रमशः कमजोर हुँदै जाने सम्भावना रहेको जनाएको छ ।
यद्यपि उक्त मौसम प्रणालीका कारण नेपालका केही स्थानमा हुने भारी वर्षाले जोखिमयुक्त क्षेत्रमा बाढी, पहिरोको सम्भावना हुने भएकाले सतर्क रहनुपर्ने नेपालको मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले बताए ।
महाशाखाको विशेष बुलेटिनमा लेखिएको छ, ‘सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’
यो मौसम प्रणालीको प्रभावका कारण नेपालको हिमाली क्षेत्रमा भारीसम्म हिमपात हुन सक्ने सम्भावना रहेको भन्दै महाशाखाले पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका अन्य व्यक्तिलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । मौसममा हुने परिवर्तनअनुसार थप सूचना तथा चेतावनी नियमित रूपमा अद्यावधिक गरिने भएकाले महाशाखाबाट जारी हुने मौसम पूर्वानुमान तथा मौसमी सूचना नियमित रूपमा हेर्न पनि सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4