News Summary
Generated by OK AI. Editorially reviewed.- दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ।
- निर्माण पक्षले ‘हिमालयन गोल्ड’लाई थापाको सिनेमाघरमा प्रदर्शन हुने अन्तिम फिल्मका रूपमा प्रस्तुत गरेको छ।
- धिराज राजवंशीले निर्देशनमा डेब्यु गरेको यो सर्भाइभल थ्रिलरमा परीक्षा लिम्बू, कार्म र सुनील थापाले अभिनय गरेका छन्।
काठमाडौं । दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार फिल्मको प्रदर्शन मिति घोषणा गर्दै यसलाई थापाको अन्तिम ठूलो पर्दाको प्रस्तुतिका रूपमा उल्लेख गरेको छ।
हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर फिल्मबाट धिराज राजवंशीले फिचर फिल्म निर्देशनमा डेब्यु गर्दैछन्। फिल्ममा परीक्षा लिम्बू मुख्य भूमिकामा छिन् भने कार्म र सुनील थापाको पनि अभिनय छ।
फिल्ममा परीक्षाले सोनम नामक युवतीको भूमिका निर्वाह गरेकी छन्। हिमालतर्फको यात्राका क्रममा अप्रत्याशित रूपमा खतरनाक परिस्थितिमा फस्ने उनको पात्रलाई केन्द्रमा राखेर फिल्मको कथा अघि बढ्ने जनाइएको छ।
अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ। हिमालयको कठिन भूगोलमा मूल्यवान् वस्तुमाथि अधिकार जमाउने मानवीय प्रवृत्ति र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई फिल्मले प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
फिल्ममा कार्म महत्वपूर्ण भूमिकामा देखिनेछन्। निर्माण पक्षका अनुसार यसमा उनले आफ्ना अघिल्ला भूमिकाभन्दा फरक चरित्र निर्वाह गरेका छन्। उनी सुनील थापासँगै पर्दामा देखिनेछन्।
निर्माण पक्षले ‘हिमालयन गोल्ड’लाई थापाको सिनेमाघरमा प्रदर्शन हुने अन्तिम फिल्मका रूपमा प्रस्तुत गरेको छ। यद्यपि, यो उनको अन्तिम छायांकन गरिएको फिल्म हो वा प्रदर्शन हुन बाँकी रहेका फिल्ममध्ये अन्तिम हो भन्ने स्पष्ट पारिएको छैन।
फिल्मको आधिकारिक ट्रेलर आगामी असोज २५ गते अर्थात् अक्टोबर ११ मा सार्वजनिक गर्ने तयारी छ। ट्रेलरमार्फत फिल्मको कथा, हिमाली परिवेश र मुख्य पात्रहरूको संघर्षबारे थप जानकारी सार्वजनिक गरिने जनाइएको छ।
फिल्म नोभेम्बर २० अर्थात् मंसिर ४ देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने तय गरिएको छ।

प्रतिक्रिया 4