News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानमा निरन्तरको वर्षा र हावाहुरीले रूख ढाल्दा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि १० गते रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आएको छैन।
- नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलले मर्मतमा आज दिनभर लाग्न सक्ने बताए।
- लगातारको वर्षाका कारण पहिरो खसेपछि लुहाम–कपुरकोट–तुलसीपुर सडकखण्ड भोलि ११ गते बिहानसम्म पूर्णरूपमा बन्द गरिएको छ।
९ असोज, काठमाडौं । सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण १० गते रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन । विभिन्न स्थानमा रूख ढल्दा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।
नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार, ३३ केभी प्रसारण लाइनअन्तर्गत लुहाम, अरिङ्गालेफेदी (खारखोला) खण्डमा रुख ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेको छ ।
कपुरकोट क्षेत्रमा गएराति केही मर्मत गरिए पनि अन्य स्थानमा समेत समस्या देखिएको सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलले जानकारी दिए । उनका अनुसार मर्मतका क्रममा एकपछि अर्को समस्या फेला परिरहेको छ ।
‘विभिन्न ठाउँमा समस्या देखिएको छ । मर्मतमा आज दिनभर लाग्न सक्छ,’ रावलले भने ।
लगातारको वर्षाका कारण माटो गलेको र शुक्रबार बिहानैदेखि तीव्र गतिमा हुरीबतास चलिरहेकाले विद्युत संरचनामा थप क्षति पुगेको प्राधिकरणले जनाएको छ । विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली बिहानैदेखि परिचालन गरिएको छ ।
विद्युत अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम, उद्योग तथा अन्य विद्युतीय सेवासमेत प्रभावित भएका छन् ।
राप्ती राजमार्ग पनि बन्द
यसैबीच, लगातारको वर्षाका कारण राप्ती राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात सेवा पनि प्रभावित भएको छ ।
केही ठाउँमा सडक खुले पनि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै लुहाम–कपुरकोट–तुलसीपुर सडकखण्ड भोलि ११ गते बिहानसम्म पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले जानकारी दिइन् ।
सडकमा पहिरो खस्ने क्रम जारी रहेको र वर्षा पनि नरोकिएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर सडक बन्द गरिएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया 4