भारतको नागाल्यान्डमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म यी घटना मोकोकचुङ र तुएनसाङ जिल्लामा भएका हुन् ।
मोकोकचुङमा ८ जना र तुएनसाङमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोकोकचुङका वरिष्ठ प्रहरी उपरीक्षक वेसुप्रा केजोका अनुसार बिहीबार मिसावट गरिएको मदिरा सेवनबाट चार जनाको मृत्यु भएको पहिलो जानकारी आएको थियो ।
त्यसपछि प्रहरीले तत्काल उक्त क्षेत्रमा छापा मारेर अनुसन्धान अघि बढाएको थियो । हालसम्म त्यहाँ मिसावट गरिएको मदिरासहित सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले मृतकहरूले सेवन गरेको मदिरा बिक्री गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले सर्वसाधारणलाई सावधानी अपनाउन र मदिरा सेवन नगर्न आग्रह गरेको छ ।
यस्तै, तुएनसाङ जिल्ला प्रहरीले जारी गरेको विवरणअनुसार सेप्टेम्बर ११ सम्म विषाक्त मदिरा सेवनका कारण जिल्लामा नौ जनाको मृत्यु भइसकेको थियो ।
सेप्टेम्बर १२ मा तुएनसाङ प्रहरीले सिभिल अस्पतालमा मदिरा सेवनसँग सम्बन्धित मृत्युको एउटा नमुना देखिएको जानकारी पाएको थियो ।
प्रहरीका अनुसार अधिकांश मृतकले मदिरा सेवन गरेका थिए । त्यसपछि अनुसन्धानका क्रममा विभिन्न स्थानमा छापा मारेर ४७० भन्दा बढी बोतल संदिग्ध विषाक्त मदिरा बरामद गरिएको थियो ।
यसबीच तुएनसाङमा थप दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
प्रहरीले दुवै जिल्लामा जारी छापा अभियानका क्रममा तीन हजारभन्दा बढी मदिराका बोतल बरामद गरेको र १५ जनाभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले लेबल वा पहिचान नखुलेको मदिरा सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । मदिरा सेवनपछि चक्कर लाग्ने, दृष्टि धमिलो हुने वा श्वास फेर्न समस्या हुनेजस्ता लक्षण देखिए तत्काल अस्पताल जान पनि प्रहरीले आग्रह गरेको छ ।
नागाल्यान्डमा सन् १९९० देखि मदिरामाथि प्रतिबन्ध छ । घटनाको अनुसन्धान तथा अवैध मदिराको स्रोत र आपूर्ति सञ्जाल पत्ता लगाउन अतिरिक्त प्रहरी उपरीक्षक आई बुंगलाङ चाङको नेतृत्वमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ ।
दीमापुरस्थित फरेन्सिक विज्ञान प्रयोगशालाले तुएनसाङ प्रहरीले पठाएको संदिग्ध मदिराको नमुनामा मेथानोल भेटिएको जनाएको छ । यद्यपि नमुनाको विस्तृत मात्रात्मक परीक्षणका लागि गुवाहाटीस्थित केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशालामा पठाइएको छ ।
प्रतिक्रिया 4