१४ असोज, काठमाडौं । पछिल्लो वर्षा र बाढीपहिरोले सञ्चालनमा रहेको नेपाल–चीन नाका कोरला बन्द भएको छ । यससँगै नेपाल र चीनको अन्तर्राष्ट्रिय व्यापार ठप्प छ ।
रसुवागढी नाका भदौ बाढीले बगाएको छ । तातोपानी नाका भने चीनले एकतर्फी बन्द गरेको छ । यता बेनी–जोमसोमका विभिन्न खण्डमा सडक र पुल क्षतिग्रस्त बन्दा यो नाकासमेत बन्द हुन पुगेको हो ।
सडक विभागका अनुसार घासा–कोरला सडक पहिरो हटाइ दुईतर्फी सुरु भएको छ । मुस्ताङ–बेनीको बीचमा भने विभिन्न स्थानमा सडक बगेको छ । यी स्थानमा भित्तो काट्ने र आवश्यक स्थानमा पर्खाल लगाएर यातायात सुरु गर्न काम भइरहेको छ ।
यो खण्डमा बिहीबार बेलुकासम्म यातायात पुन: सुरु हुने गरी काम भइरहेको विभागले जनाएको छ ।
उता, तातोपानी क्षेत्रमा भएको कटान समेत मर्मत गरी आज बेलुकीसम्म यातायात सुरु गर्ने तयारी रहेको विभागको भनाइ छ । पोखरेबजार पुलका एप्रोचसमेत भोलि बेलुकीसम्म निर्माण सम्पन्न गरी यातायात सञ्चालन गरिने भएको छ ।
त्यस्तै राघुघाट जलविद्युत् आयोजना रहेको स्थानमा भएको सडक कटान समेत ब्याक कटिङ र टेवा पर्खाल लगाइ भोलि बेलुकासम्म यातायात सुरु गर्ने तयारी छ ।
यता मालढुंगा–बेनी–केराबारीमा समेत भित्तातर्फ ट्र्याक खोल्ने र टेवा पर्खाल लगाइ यातायात सुरु गर्ने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।
प्रतिक्रिया 4