+
+
Shares

सडक सञ्जाल खुलाउन देशभरि युद्धस्तरमा काम, कोरला नाका प्राथमिकतामा

सडक विभागको अनुमान अनुसार काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने सडकमध्ये बीपी राजमार्गलाई भने केही समय लाग्ने देखिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ असोज १२ गते २१:३४

१२ असोज, काठमाडौं । पछिल्लो वर्षा र बाढीपहिरोका कारण देशभरि सडक सञ्जाल टुट्यो । तर, बाढीले गरेको क्षति भोटेकोशी–त्रिशूली करिडोरमा जस्तो विनाशकारी नरहेको सडक विभागको निष्कर्ष छ ।

अहिले अवरुद्ध सडक खुलाउन युद्धस्तरमा काम भइरहेको र आज धेरै खण्ड खुलिसक्ने विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।

‘पहिरो हटाएर सडक पुन: सुरु गर्ने स्थानमा वर्षा कम भएसँगै काम थालिएको छ,’ उनले भने, ‘जहाँ सडक पूरै क्षति गरेको अवस्था छ, त्यसको दुरी पनि कम छ, सजिलै ट्र्याक खोल्न सकिन्छ ।’

रसुवा र नुवाकोटमा जस्तो भयानक अवस्था नरहेका कारण सबैजसो सडक लामो समय अवरुद्ध नहुने उनले बताए । ‘थप क्षति नभएको अवस्थामा यो बाढीबाट अवरुद्ध खण्डहरू हामी छिट्टै खुलाउँछौं,’ उनले भने ।

बेनी–जोमसोम–कोरला सडक खण्डमा पर्ने पोखरेबगर–नौली बजार जोड्ने मोटरेबल पुलको एप्रोच बाढीले बगाएपछि यो खण्डमा सडक सम्पर्क टुटेको छ । जसले गर्दा अहिले नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाकासमेत ठप्प भएको छ ।

यद्यपि, यहाँ पुल सुरक्षित रहेको र एप्रोच सडक मर्मत गर्न धेरै समय नलाग्ने भएकाले यो नाकालाई प्राथमिकतामा राखेर खुलाइने महानिर्देशक जैसीले बताए ।

‘पुल सुरक्षित छ, काम थालेको २४ घण्टाभित्र एप्रोच सडक बनिसक्छ,’ उनले भने, ‘त्यो पुलले नेपाल–चीन व्यापार अवरुद्ध हुने अवस्था हामी बनाउँदैनौं ।’

बाढीले स्याङ्जा मिर्मी र गुल्मी हर्मिचौर जोड्ने मोटरेबल पुल बगाएको थियो । उक्त पुल सडक विभागको भने होइन । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले समेत आज सडक विभागको टोली सडक खुलाउने काममा खटिएको जानकारी दिए ।

आज पूर्वाधार विकास समितिमा आयोजित बैठकमा उनले यस्तोे जानकारी गराएका हुन् । ‘आज सडकको टोली यातायात खुलाउन खटिएको छ,’ उनले भने ।

बीपी राजमार्गलाई समय लाग्ने

सडक विभागको अनुमान अनुसार काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने सडकमध्ये बीपी राजमार्गलाई भने केही समय लाग्ने देखिएको छ ।

महानिर्देशक जैसीका अनुसार बीपी राजमार्गमा डाइभर्सन र सडक दुवै बगाएका कारण केही समय लाग्ने देखिएको छ । बीपी राजमार्गको काभ्रे, रोशी गाउँपालिकामा पर्ने कालढुङ्गा, डालाबेँसी, माम्ती र पिप्लेमा सडक अवरुद्ध छ ।

यसैगरी रोशीकै घुमाउने, पिन्थलीबेँसी तथा सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित बालुवामा समेत सडक क्षतिग्रस्त बनेसँगै बीपी राजमार्ग अवरुद्ध भएको हो ।

बाढीका कारण कुन–कुन सडक भए प्रभावित ?

गृह मन्त्रालय मातहत विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाको पछिल्लो विवरण अनुसार पछिल्लो बाढी र पहिरोले विभिन्न दुई दर्जन बढी स्थानमा यातायात अवरुद्ध छ ।

गल्छी–रसुवागढी सडकको अधिकांश खण्ड १० भदौको बाढीले बगाएको छ । सोहीकारण यो खण्ड पूरै अवरुद्ध छ । पृथ्वी राजमार्गका विभिन्न खण्डमा गएको पहिरो आज दिनभरि हटाएर सडक पुन: सुरु गर्ने प्रयास जारी राखिएको महानिर्देशक जैसीले जानकारी दिए ।

उनका अनुसार कान्ति लोकपथ समेत आजै चालु हुने उनले बताए । बेनी–जोमसोम खण्डका विभिन्न क्षेत्रमा सडकमा पुगेको क्षतिसमेत प्राथमिकता साथ मर्मतको काम सुरु गरिएको उनको भनाइ छ । यस खण्डको म्याग्दी जिल्लाका बैसरी, सुकेबगर लगायत क्षेत्रमा बढी क्षति भएको छ ।

बाढीले चामे बेँसीसहर खण्डमा समेत क्षति पुर्‍याएको छ । मध्यपहाडी राजमार्गको बागलुङ र रुकुम खण्डमा बढी क्षति पुगेको छ । कर्णाली राजमार्गका विभिन्न स्थानमा समेत बाढीले क्षति गरेको छ ।

सडकमा क्षतिको स्तर कस्तो ?

पूर्वाधार विकास मन्त्रालयका अनुसार वर्षा र बाढीका कारण कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी पोखरेबगर, बागलुङ मालढुंगा तथा तनहुँ नवलपरासीको देदगाउँस्थित पुलका एप्रोच सडक बगाएको छ ।

कालीगण्डकीको पक्की पुल बगाएको छ । कालीगण्डकी करिडोरका विभिन्न सडकखण्डका साथै डुम्रे बेँसीसहर चामे सडकखण्डमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणमा देखिएको छ ।

डुम्रे बेँसीसहर चामे सडक खण्ड अन्तर्गत रामबजार स्याङगे लमजुङमा मर्स्याङ्दी नदीको कटानका कारण करिब ४० मिटर सडक पूर्णरूपमा भासिएको छ । नासो, खोत्रो मनाङमा ढुङ्गासहित पहिरोका कारण सडक अवरुद्ध छ ।

नासो, बगरछाप मनाङमा मर्स्याङ्दी नदीको कटानका कारण करिब ५० मिटर सडक पूर्णरूपमा भासिएको छ । चामे, मनाङमा बाढीका कारण तीन अस्थायी काठे पुल बगेका छन् । बाढी र पहिरोका कारण काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्ग सहित जिल्लाका दर्जनभन्दा बढी सडकमा क्षति पुगेको छ ।

बाढी तथा पहिरोका कारण रुकुम पूर्वको नाथीगाड झोलुङ्गे पुल, बागलुङ–पर्वत जलजला फोर्से झोलुङ्गे पुलमा पूर्णरूपमा क्षति पुगेको छ । तनहुँ घिरिङ करुवाटार–नवलपुरको बुलिङटार मचेडी जोड्ने झोलुङ्गे पुल, स्याङ्जा गल्याङ बेल्चौर–पाल्पाको रम्भा नौगाउँ–साठी बजार जोड्ने झोलुङ्गे पुल, पाल्पा कासिबन–तनहुँको अत्रौली जोड्ने झोलुङ्गे पुल, पर्वत–स्याङ्जा जोड्ने सेतीवेणी झोलुङ्गे पुल तथा म्याग्दी बेनी–पर्वतको जलजला जोड्ने झोलुङ्गे पुलमा आंशिक  क्षति पुगेको छ । बाढी र पहिरोले ३१ वटा खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

नेपाल–चीन व्यापार अवरुद्ध

पछिल्लो बाढीले सडक र पुलमा पुगेको क्षतिका कारण नेपाल–चीन वैदेशिक व्यापार भने तत्कालका लागि अवरुद्ध भएको छ । १० भदौको बाढीले रसुवागढी नाका बगेसँगै नेपाल–चीन व्यापार कोरला डाइभर्ट भएको थियो । तर, ९ असोजयताको बाढीले बेनी–जोमसोम खण्डमा क्षति गरेपछि कोरलाबाट भइरहेको व्यापार समेत अवरुद्ध हुन पुग्यो ।

अहिले अरनिको राजमार्ग भने चालु छ । तर, तातोपानी नाकाबाट चीनले एकतर्फी व्यापार बन्द गरेको छ । यससँगै तत्कालका लागि भने नेपाल–चीन व्यापार अवरुद्ध बनेको हो ।

सडक विभाग महानिर्देशक जैशीले भने, ‘अहिले नेपाल–चीनलाई अरनिको राजमार्गले जोडिरहेको छ, यो नाकाबाट व्यापार चालु हुने हो भने नेपालतर्फ सडकमा कुनै अवरोध छैन ।’

अरनिको राजमार्गको धुलिखेल–खावा खण्डको पहिरो हटाएर आइतबारदेखि नै यातायात खुलाइएको छ ।

सोमबार साँझसम्म अवरुद्ध सडक खण्ड

रसुवा/बारा घुम्तीदेखि रसुवागढीसम्म पासाङल्हामु राजमार्ग : अवरुद्ध

रसुवा/त्रिशुली–बेत्रावती–खाल्टे–मैलुङ–स्याफ्रुबेँसी–टिमुरे : त्रिशूली–मैलुङ–रसुवागढी : अवरुद्ध

नुवाकोट/त्रिशूलीबाट बेत्रावतीसम्म : मैलुङ–स्याफ्रुबेँसी : अवरुद्ध

धादिङ/गजुरी गाउँपालिका–२ फुर्केखोला : कालुपाँडे राजमार्ग : अवरुद्ध

धादिङ/गजुरी गाउँपालिका–२ चालिसे : पृथ्वी राजमार्ग : एकतर्फी सुरु

ललितपुर/बागमती गाउँपालिका–३ टाकुर्चे : कान्ति लोकपथ : अवरुद्ध

काभ्रे/रोशी गाउँपालिका–७ घुमाउने : बीपी राजमार्ग : अवरुद्ध

काभ्रे/रोशी गाउँपालिका–११ कालढुङ्गा, डालाबेँसी, माम्ती र पिप्ले : बीपी राजमार्ग : अवरुद्ध

काभ्रे/रोशी गाउँपालिका–९ पिन्थलीबेँसी : बीपी राजमार्ग : अवरुद्ध

सिन्धुली/सुनकोशी गाउँपालिका–१ बालुवा : बीपी राजमार्ग : अवरुद्ध

रामेछाप/मन्थली नगरपालिका–६ हातिटार : मन्थली–खुर्कोट : अवरुद्ध

मनाङ/नासो गाउँपालिका–३ खोत्रो : चामे–बेँसीसहर : अवरुद्ध

मुस्ताङ/लो–घेकरदामोदरकुण्ड गाउँपालिका–२ सेल्फीडाँडा : जोमसोम–कोरला : अवरुद्ध

म्याग्दी/रघुगंगा गाउँपालिका–२ बैसरी : बेनी–जोमसोम : अवरुद्ध

म्याग्दी/अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर : बेनी–जोमसोम : अवरुद्ध

पर्वत/जलजला गाउँपालिका–७ केराबारी : मालढुङ्गा–बेनी : अवरुद्ध

तनहुँ/भानु नगरपालिका–१ अमिलिपाटा : डुम्रे–बेँसीसहर : अवरुद्ध

लमजुङ/बेँसीसहर नगरपालिका–६ खरखरे भिर : बेँसीसहर–मनाङ : अवरुद्ध

लमजुङ/मर्स्याङ्दी गाउँपालिका–४ रामबजार : बेँसीसहर–मनाङ : अवरुद्ध

लमजुङ/मध्यनेपाल नगरपालिका–६ आँपचौर : मध्यपहाडी लोकमार्ग : अवरुद्ध

बाग्लुङ/निसिखोला गाउँपालिका–४ कानबगर : मध्यपहाडी राजमार्ग : अवरुद्ध

बाग्लुङ/बडिगाड गाउँपालिका–५ भीमगिठे : मध्यपहाडी राजमार्ग : अवरुद्ध

बाग्लुङ/ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ : मध्यपहाडी राजमार्ग : अवरुद्ध

गुल्मी/कालीगण्डकी गाउँपालिका–२ राक्से, चन्द्रकोट–७ सिस्नेभिर र ८ तल्लोखाद : कालीगण्डकी करिडोर : अवरुद्ध

पाल्पा/तिनाउ गाउँपालिका–३ नागको मन्दिर : सिद्धार्थ राजमार्ग : अवरुद्ध

सल्यान/कपुरकोट गाउँपालिका–५ खारखोला : राप्ती राजमार्ग : अवरुद्ध

डोल्पा/त्रिपुरासुन्दरी नगरपालिका–५ अन्बेदुला : भेरी करिडोर : अवरुद्ध

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?