१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका श्रमिकले तलब नपाएको भन्दै यो विषय संसद्मा उठाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रश्न उठाएका हुन् ।
‘म मेरो निर्वाचन क्षेत्र अवस्थित हिमाल आइरन एन्ड स्टिल उद्योगको सयौं श्रमिकहरूले ९ महिना देखिको अढाई करोड भन्दा बढी पारिश्रमिक नपाएको दु:खद पिडा यस सम्मानित सदनमा राख्न चाहन्छु’, उनले भने ।
दशैंको मुखमा ती श्रमिकहरूको तलब यथाशीघ्र भुक्तानीका लागि समन्वय एवं सहजीकरणको पहल गरिदिन सरकारको ध्यानाकर्षण गरे ।
‘कुनै समय हजारौं श्रमिकहरूलाई रोजगारी दिने ज्योति समूहको यो व्यापारिक प्रतिष्ठान अहिले १५० जना श्रमिकको समेत ज्याला दिन नसक्ने दयनीय अवस्थामा पुग्नुको मुख्य कारण के हो ?,’ उनले प्रश्न गरे ।
पछिल्ला सरकारहरूको गलत आर्थिक एवं बैंकिङ लगानी नीतिकै कारण निम्तिएका यस्ता औद्योगिक संकटको गम्भीर समीक्षा गर्दै त्यस्ता संकटग्रस्त उद्योगहरूलाई उकास्न विशेष आर्थिक नीति ल्याई मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन उनले सरकारसँग आग्रह गरे ।
प्रतिक्रिया 4