१६ असोज, काठमाडौं । अमेरिकाले इरान आसपासको क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको जनाएको छ ।
अमेरिकी एक अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार इरान नजिक तीनवटा विमानवाहक पोत (एयरक्राफ्ट क्यारियर) र दुईवटा मरीन ल्यान्डिङ समूह तैनाथ गर्ने तयारी भइरहेको छ ।
अधिकारीका अनुसार अमेरिकी नौसेनाको रुजवेल्ट स्ट्राइक ग्रुप र करिब २ हजार अमेरिकी मरीन सैनिकसहितको मकिन आइल्यान्ड फोर्स स्यान डिएगोबाट प्रस्थान गरिसकेका छन् । यो सैन्य तैनाथीको पूर्ण विस्तार नोभेम्बरसम्म पूरा हुने बताइएको छ ।
यसैबीच, बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्सले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरु) हुँदै गइरहेको एक विशाल तेल ट्यांकरमा अज्ञात वस्तु प्रहार भएर आगलागी भएको जनाएको छ । घटनामा २५ लाख ब्यारेल तेल बोक्न सक्ने सुपरट्यांकरमा आगलागी भएको बताइएको छ ।
युके मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार घटना होर्मुज जलडमरुको क्षेत्रमा भएको हो । कसले के प्रहार गरेको हो भन्नेबारे तत्काल पुष्टि हुन सकेको छैन । घटनापछि जहाजको अवस्था र सुरक्षासम्बन्धी थप विवरण सार्वजनिक हुन बाँकी छ ।
विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज जलडमरुमा पछिल्ला वर्षहरूमा सैन्य तनाव र समुद्री सुरक्षाका घटना बढ्दै आएका छन् ।
प्रतिक्रिया 4