१६ असोज, काठमाडौं । फ्लाई दुबईको उडान एफजेड–१०७३ मा घाइते भएका भारतीय नागरिक क्याप्टेन स्मित मच्छरको बहादुरी अहिले चर्चामा छ । यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ प्रस्थान गरेको विमानको ककपिटभित्रै को–पाइलटले धारिलो हतियारबाट आक्रमण गरी घाइते बनाउँदा पनि स्मितको सुझबुझपूर्ण निर्णयबाट विमानमा रहेका सबै यात्रुको ज्यान जोगिएको थियो ।
सो विमानमा सवार इजरायली यात्रु यानिभ हयूनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बताएअनुसार, क्याप्टेन स्मित मच्छरले बेहोस हुनुअघि ककपिटको ढोका खोलिदिएका थिए । त्यसपछि अन्य व्यक्ति ककपिटभित्र पुग्न सके र विमानलाई जोगाउन सहयोग पुगेको थियो ।
प्रधानमन्त्री नेतन्याहुसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले क्याप्टेन स्मितको बहादुरीको प्रशंसा गरेका छन् । साथै विश्वभर उनको प्रशंसा भइरहेको पाइएको छ ।
यही बेला भारतीय विमानकर्मीको यस्तो साहसको चर्चा हुँदा करिब चार दशकअघिको एउटा घटना पनि सम्झनामा आउँछ– नीरजा भनोटको ।
१९८६ मा विमान अपहरणको घटना
सन् १९८६ मा प्यान एमको विमान अपहरण हुँदा वरिष्ठ फ्लाइट पर्सर रहेकी नीरजा भनोटले आफ्नो सुझबुझ र साहसका कारण ३०० भन्दा बढी यात्रुको ज्यान जोगाएकी थिइन् । तर यात्रुहरूलाई सुरक्षित निकाल्ने क्रममा उनी आफैं अपहरणकारीको गोलीको सिकार भइन् ।
५ सेप्टेम्बर १९८६ मा प्यान अमेरिकन वर्ल्ड एयरवेजको फ्लाइट–७३ मुम्बईबाट कराची, फ्र्याङ्कफ्रट हुँदै न्यूयोर्क जाँदै थियो । कराची विमानस्थलमा पुगेपछि चार जना हतियारधारी विमानभित्र प्रवेश गरे र विमान अपहरण गरे ।
विमानमा ३६० यात्रु र चालक दलका १९ सदस्य थिए । अपहरणकारीहरूको योजना विमानलाई नियन्त्रणमा लिएर उडाउने थियो ।
अपहरण सुरु भएपछि नीरजाले तत्काल ककपिटमा रहेका पाइलटहरूलाई घटनाबारे जानकारी गराइन् । त्यसपछि पाइलट, को–पाइलट र फ्लाइट इन्जिनियर आपत्कालीन बाटो हुँदै विमानबाट बाहिरिन सफल भए ।
अपहरणकारीसँग करिब १६ घण्टासम्म चलेको तनावकाबी अँध्यारो हुन थालेपछि नीरजाले विमानको आपत्कालीन ढोका खोलिन् । त्यसपछि यात्रुहरू विमानबाट बाहिर निस्कन थाले ।
धेरैजसो यात्रु बाहिर निस्किसकेका थिए । तर तीन जना बालबालिका अझै विमानभित्रै थिए ।
नीरजा ती बालबालिकालाई बाहिर निकाल्दै गर्दा अपहरणकारीले उनलाई देखे । बालबालिका जोगिए, तर नीरजा उनीहरूको गोलीबाट बच्न सकिनन् ।
घटनामा २२ जनाको मृत्यु भएको थियो भने १५० जना घाइते भएका थिए ।
३० वर्षपछि चालक दलका सदस्यले खोलेको रहस्य
विमान अपहरण भएको ३० वर्षपछि सन् २०१६ मा प्यान एम–७३ का चालक दलका ६ सदस्यले पहिलोपटक सञ्चारमाध्यमसँग त्यस घटनाबारे विस्तृत अनुभव सुनाएका थिए ।
फ्लाइट अटेन्डेन्ट नुपुर अबरोलका अनुसार सुरुमा उनलाई विमानको विंगबाट बाहिर निस्किएर आफू बच्ने विचार आएको थियो । तर त्यसो गर्दा अन्य यात्रुको ज्यान जोखिममा पर्न सक्ने महसुस भएपछि उनले त्यसो गरिनन् ।
उनले उक्त अपहरणको मानसिक असर वर्षौंसम्म आफू र आफ्ना सहकर्मीमा रहेको बताएकी थिइन् ।
कसरी विमानभित्र प्रवेश गरेका थिए अपहरणकारी ?
मुम्बईबाट उडेको विमान बिहान करिब ६ बजे कराची विमानस्थलमा अवतरण गरेको थियो । त्यही बेला चार जना हतियारधारी विमानस्थलको सुरक्षा घेरा तोड्दै गोली चलाएर विमानभित्र प्रवेश गरेका थिए ।
फ्लाइट अटेन्डेन्ट नुपुरले आफ्ना सहकर्मीको खुट्टानजिक गोली लागेको देखेकी थिइन् । त्यसपछि उनले विमानको ढोका बन्द गर्न भनेकी थिइन् ।
अर्की फ्लाइट अटेन्डेन्ट शिरीन पवनले गोली चलेको आवाज सुनेपछि इन्टरकमबाट ककपिटमा सम्पर्क गर्ने प्रयास गरिन् । दोस्रो प्रयासमा पाइलटले फोन उठाएपछि उनले अपहरण भएको संकेत दिने कोडमार्फत जानकारी दिइन् ।
त्यसबीच अर्को फ्लाइट अटेन्डेन्ट सनसाइन वेसुवालाले अपहरणकारीले नीरजा भनोटलाई नियन्त्रणमा लिएर टाउकोमा बन्दुक तेर्स्याएको देखेकी थिइन् ।
अपहरणकारीले ककपिटमा पुग्न खोज्दा त्यहाँ कोही थिएन । ककपिटमा विमानबाट बाहिर निस्कने उपकरण खुला अवस्थामा थिए । छतबाट बाहिर निस्कने बाटोसमेत खुला थियो । तर अपहरणकारीले त्यसतर्फ ध्यान दिएनन् ।
पाइलटहरू बाहिरिनु नै यात्रुका लागि फाइदा भयो ?
पाइलटहरू विमान छाडेर बाहिरिएपछि उनीहरूले यात्रुलाई अपहरणकारीको जिम्मामा छाडेको भन्दै आलोचना पनि भयो । तर चालक दलका सदस्य दिलीप बीडी चन्दानीका अनुसार पाइलटहरू बाहिरिनुले उल्टै धेरैको ज्यान जोगियो ।
उनका अनुसार पाइलट विमानभित्रै रहेको भए अपहरणकारीले उनीहरूलाई विमान उडाउन बाध्य पार्न सक्थे । विमानलाई कुनै भवनमा ठोक्काउन वा आकाशमै विस्फोट गराउनसमेत बाध्य पार्न सकिने अवस्था बन्न सक्थ्यो ।
अपहरणकारीहरूको योजना पाइलटलाई दबाब दिएर विमान साइप्रस र इजरायलतर्फ लैजाने थियो । त्यहाँ उनीहरूको संगठनका केही सदस्य बन्दी बनाइएका थिए ।
त्यसक्रममा २९ वर्षीय अमेरिकी नागरिक राजेश कुमारलाई अपहरणकारीले विमानबाट बाहिर निकाले । उनलाई घुँडा टेकाएर बन्दुक तेर्स्याइएको थियो । करिब एक घण्टासम्म कुनै पाइलट नआएपछि उनलाई गोली हानेर विमानबाट बाहिर फ्याँकिएको थियो ।
त्यस घटनापछि विमानभित्रको वातावरण झन् त्रासपूर्ण बनेको चालक दलका सदस्यहरूले बताएका थिए ।
अमेरिकी यात्रुलाई जोगाउन चालक दलको गोप्य योजना
अपहरण भएको करिब चार घण्टापछि अपहरणकारीले विमानमा रहेका अमेरिकी नागरिकको खोजी सुरु गरे ।
चालक दलका सदस्यहरूले यात्रुका पासपोर्ट संकलन गर्न थाले । तर उनीहरूले अमेरिकी नागरिकका पासपोर्ट भने जानाजान संकलन गरेनन्, ताकि अपहरणकारीले उनीहरूको पहिचान गर्न नसकून् ।
यसरी चालक दलले जोखिम मोलेर अमेरिकी यात्रुहरूलाई जोगाउने प्रयास गरेका थिए ।
पछि अपहरणकारीले पाइलट नआए हरेक १५ मिनेटमा एक जना यात्रुलाई गोली हान्ने चेतावनी दिए । त्यस क्रममा मेहरजी खारसको हत्या गरिएको थियो ।
यात्रुहरू भाग्न थालेपछि केही चालक दलका सदस्य विमानको विंगमा पुगे । करिब २० फिट उचाइबाट हाम फाल्दा केहीको हड्डीसमेत भाँचियो । त्यसपछि आपत्कालीन स्लाइडमार्फत यात्रुहरूलाई विमानबाट बाहिर निकालियो ।
घाइते अवस्थामा पनि नीरजा यात्रु जोगाउँदै थिइन्
धेरै यात्रु बाहिरिसकेपछि चालक दलका सदस्यहरू फेरि विमानभित्र प्रवेश गरे । त्यही क्रममा सनसाइनले नीरजालाई भेटिन् ।
नीरजाको कम्मरमा गोली लागेको थियो र धेरै रगत बगिरहेको थियो । तर उनी होसमै थिइन् । सनसाइन र दिलीपले उनलाई आपत्कालीन स्लाइडसम्म ल्याए र बाहिर निकाले ।
त्यतिबेला विमानमा रहेका तीन अपहरणकारीलाई सुरक्षा बलले पक्राउ गरिसकेको थियो । मुख्य अपहरणकारी भने विमानभित्रै थिए । नीरजालाई कराचीको जिन्ना अस्पताल पुर्याउँदासम्म उनी जीवितै रहेको उनका सहकर्मीहरूले बताएका थिए ।
नीरजा कस्ती थिइन् ?
नीरजा भनोटको जन्म ७ सेप्टेम्बर १९६३ मा पञ्जाबी परिवारमा भएको थियो । उनका पिता हरिश भनोट पत्रकार थिए ।
नीरजा छैटौं कक्षामा पढ्दै गर्दा उनको परिवार मुम्बई सरेको थियो । उनले बम्बे स्कटिस स्कुलमा अध्ययन गरिन् र जेभियर्स कलेजबाट स्नातक गरिन् ।
उनका भाइ अखिलका अनुसार नीरजा निडर स्वभावकी थिइन् । अन्याय देख्दा चुप लागेर बस्दिनथिन् ।
कलेज पढ्ने क्रममा एकपटक उनले सडकमा एक पुरुषले आफ्नी श्रीमतीलाई कुटिरहेको देखिन् । उनले स्कुटर रोकेर ती पुरुषको हात समातिन् । पीडित महिलाले त्यसलाई आफ्नो निजी मामिला भन्दै नीरजालाई पछि हट्न आग्रह गरे पनि उनी त्यहाँबाट हटिनन् ।
मोडलिङबाट प्यान एमसम्म
नीरजाले अध्ययनसँगै मोडलिङ पनि सुरु गरेकी थिइन् । १९ वर्षको उमेरमै उनी मोडलिङ क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
उनको तस्बिर एउटा पत्रिकामा प्रकाशित भएपछि विभिन्न कम्पनीका विज्ञापनका लागि प्रस्ताव आउन थाले । सन् १९८० को दशकमा उनले करिब ७० देखि ८० वटा विज्ञापनमा काम गरेको उनका भाइले बताएका छन् ।
नीरजालाई संगीत मन पर्थ्यो । उनी हँसिली र जीवन्त स्वभावकी थिइन् । परिवारमा कोही दु:खी हुँदा उनी हँसाउँदै वातावरण हलुका बनाउने गर्थिन् ।

सन् १९८५ मा परिवारको इच्छामा उनको विवाह भयो । विवाहपछि उनी श्रीमानसँग शारजाह गइन् । तर दाइजोका कारण आफूले दु:ख पाएको भन्दै उनी करिब दुई महिनामै मुम्बई फर्किइन् र त्यसपछि फेरि श्रीमानकहाँ गइनन् । पछि उनले पुन: मोडलिङ सुरु गरिन् ।
प्यान एममा काम गर्ने एक साथीको अन्तर्वार्तामा साथ दिन जाँदा नीरजाको भेट एयरलाइनसँग सम्बन्धित व्यक्तिसँग भयो । उनले नीरजालाई पनि प्यान एममा आवेदन दिन सुझाव दिए ।
नीरजाको छनोट भयो र उनलाई प्रशिक्षणका लागि मियामी पठाइयो । प्रशिक्षणकै क्रममा उनलाई पर्सर पदमा बढुवा गरियो ।
सन् १९८६ मा प्यान एममा काम सुरु गरेकी नीरजाको त्यही वर्ष भएको विमान अपहरण सातौं यात्रा थियो । त्यो दिन उनको बिदा थियो । ड्युटीमा रहेकी अर्की कर्मचारी बिरामी भएपछि नीरजालाई काममा जान अनुरोध गरिएको थियो । उनले अनुरोध स्वीकार गरिन् ।
विमान अपहरण हुनुभन्दा करिब एक साताअघि मात्र उनले लन्डनबाट अपहरणको अवस्थासँग जुध्ने विशेष तालिम लिएर फर्किएकी थिइन् ।
जन्मदिनकै दिन घर आइपुगेको थियो नीरजा भनोटको शव
विमानमा ड्युटी जानुअघि नीरजा भनोटले एउटा विज्ञापनको सुटिङ गरेकी थिइन् । राति करिब ८ बजे घर पुगेपछि उनले परिवारसँग सुटिङका कुरा गरेकी थिइन् ।
त्यसक्रममा आफ्नो जन्मदिनबारे पनि कुरा भएको थियो । उनले यसपटक साथीहरूसँग नभई परिवारसँग मात्रै जन्मदिन मनाउने बताएकी थिइन् । तर उनको जन्मदिनकै दिन उनको शव घर आइपुग्यो ।

यात्रुहरूको ज्यान जोगाउन आफ्नो जीवन बलिदान गरेकी नीरजा भनोटलाई भारत सरकारले सन् १९८७ मा अशोक चक्रबाट सम्मान गर्यो । पाकिस्तान सरकारले उनलाई तमगा–ए–पाकिस्तान र अमेरिकी सरकारले हिरोइज्म अवार्ड प्रदान गरेको थियो ।
सन् २०१६ मा उनको जीवनमा आधारित ‘नीरजा’ नामको फिल्मसमेत बन्यो, जसमा सोनम कपुरले नीरजाको भूमिका निर्वाह गरेकी थिइन् ।
हाल क्याप्टेन स्मित मच्छरको बहादुरीको चर्चा भइरहेका बेला नीरजा भनोटको कथा फेरि सम्झनुका पछाडि एउटै समानता देखिन्छ–विमानभित्रको संकटपूर्ण क्षणमा आफ्नो ज्यानको पर्वाह नगरी अरूको जीवन जोगाउन विमानकर्मीले गरेको साहस ।
-बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4