काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ ले विस्तारै गति समातेको छ । पहिलो दिन ६ लाख रुपैयाँ व्यापार गरेको फिल्मले बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
सात दिनमा यो ४० हजार ८२३ दर्शकले हेरेका छन् । क्रमशः दर्शकको फ्लो हलमा बढाउँदै गएको फिल्म आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ। यो सिनेमाका बा अथवा दिव्यदेवले ‘बाः एक योद्धा’ लाई इभी गाडीसँग तुलना गरेका छन् । उनले पेट्रोल/डिजेल गाडी जस्तै यसले विस्तारै गति लिएको बताएका छन् ।
दर्शकको माया बढ्दै जाँदा र शोहरु भरिँदै जाँदा बक्सअफिस पनि विस्तारै उचालिने विश्वास निर्माण पक्षको छ ।
‘हरेक दिन सिनेमाको व्यापार बढिरहेको छ । फिल्म हेर्ने दर्शकले परिवारका सबै सदस्यलाई सिनेमा हेर्न पठाउने बताइरहनु भएको छ’ निर्देशक हरि लम्सालले भने, ‘यसले अब हरेक दिन दर्शकको संख्या बढ्दै जानेमा हामी ढुक्क छौँ ।’
वर्ड अफ माउथ राम्रो पाउँदा फिल्ममा हरेक दिन दर्शकको चाप बढ्दै गएको उनको दावी छ ।

वितरकका अनुसार देशभर फिल्मले १०० भन्दा बढी शो पाएको छ । दर्शकको माग बढ्दै गएपछि विभिन्न हलहरूले थप शो थपिरहेका छन् ।
फिल्मको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई फिल्मले कथाको केन्द्रमा राखेको छ ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।
फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।
प्रतिक्रिया 4