+
+
Shares
सिनेमा :

बा बनेका दिव्यदेव, वाह ! नबनेका रुद्रप्रसाद

त्यागी र कर्तव्यनिष्ठ बाका रूपमा उभ्याइएको रुद्रप्रसाद नेपाली फिल्म उद्योगले दिएको ‘बा’ को बलियो पात्र भने बन्नबाट चुकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिव्यदेव पन्त अभिनित ‘बा’ मा उनले रुद्रप्रसाद अधिकारीको भूमिकामा अभिनय गरेका छन् र पात्रलाई जीवन्त बनाउन खोजेका छन्।

दिव्यदेव पन्तले अहिलेसम्म पाएका साना भूमिका होउन् वा ठूला – त्यसमा पूर्णत न्याय गर्न खोजेको देखिन्छ । हालसम्म सानाठूला गरेर १२ फिल्ममा भूमिका निभाएका उनले आफूलाई प्राप्त पात्रहरूलाई पृथक बनाउन खोजेको देखिन्छ । एकअर्थले पृथकता नै उनको अभिनयको पहिचान पनि बनेको छ ।

उदाहरणका लागि, चिसोएष्ट्रेमा देखिएका उनी र अहिले हलमा चलिरहेको बा: एक योद्धामा देखिएका उनी । नितान्त फरक छ, उनको अभिनय शैली र निभाएको पात्र ।

तर, यात्रा हेर्दा उनी त्यस्ता अभागी कलाकार पनि हुन्, जसले आजसम्म क्षमता अनुसारको गतिलो पात्र पाएनन् । त्यसैले हुन सक्छ – उनी कार्यक्रम चलाउने, विज्ञापनहरूमा भोइसओभर गर्ने जस्ता व्यावसायिक काम तिर लागेका । भलै यो पाटो नराम्रो भने होइन ।

अहिलेको समयमा भ्वाइस ओभरको काममा उनले राम्रै प्रभाव छाड्न सकेका छन् । संयोग यस्तो छ कि उनी अभिनित बा हलमा चलिरहेको छ । ब्रेक टाइममा उनकै भोइस ओभर रहेको विज्ञापन चल्छ ।

परन्तु यी यस्ता उपलब्धि उनको क्षमता अघि करिब सुक्ष्म नै हुन् ।

उनले गरेको अभिनयको ट्य्राक रेकर्ड हेर्दा उनी पात्र चिन्न सक्छन् । कलाकारहरू जसले आफ्नो पात्र चिन्छन्, तिनले स्वत: आफ्नो पात्रलाई न्याय गर्न सक्छन् । त्यो पात्रलाई क्यामेराले कति देखाउन खोजेको छ; त्यो त फाल्तु प्राविधिक पाटो न हो ।

उदाहरणका लागि, ‘बा’ मा रुद्रप्रसाद अधिकारीको भूमिकामा छन् दिव्यदेव । रुद्रप्रसाद अवकास पाइसकेका अहेव हुन् ।  गाउँघरमा मानिसहरूले उनलाई डाक्टरकै रूपमा मान्छन् र उनले दिएको औषधिले निको हुन्छ भन्ने पूर्ण विश्वास गर्छन् ।

उनले जीवनमा निकै दुःख र संघर्ष गरेर परिवार सम्हालेका छन् । उनी आफ्नो दुःख र कष्टको छायाँसम्म पनि परिवारमा नपरोस् भन्ने चाहन्छन् । यसैले आफ्ना बालबच्चा र परिवारको खुसीका लागि  आफ्नो हरकुरा दाउमा राख्न र त्याग गर्न तयार हुन्छन् । छोरी (कृपा) को खुसीका लागि ऋण खोजेर भए पनि धूमधामसँग बिहे गराइदिनु, छोरा (विशाल) र बुहारीलाई विदेश पठाउन लाखौं पैसा आवश्यक पर्दा आफ्नो प्रिय जायजेथा धितोमा राख्नु आदि यसका उदाहरण हुन् ।

भलै रुद्रप्रसाद पात्र फिल्मका लागि निर्माण गरिएको एउटा आदर्श पिता मात्र हो । आफ्ना सन्तान र परिवारको खुसीका लागि आफ्नो दुःख, सम्पत्ति र भावना सबै थोक समर्पण गर्न तयार रहने एक आदर्श पिता ।

यो पात्रमा युवा उमेरमै रहेका दिव्यदेव भावनाको आधारमा पर्फेक्ट देखिएका छन् । मेकअपले साथ नदिएको कुरा एउटा रह्यो ।

तर, बुढ्यौली उमेरको हैरानी, समय र परिस्थितिले सिर्जना गरेको दु:ख, चिन्ता, पीडा र वैचेनीलाई उनले अनुहारको भावभङ्गिमा, शारीरिक हाउभाउ तथा बोलीको उतारचढावमार्फत जीवन्त रूपमा उतार्न सफल भएका छन् ।

स्पोइलर अर्लट !

दिव्यदेव प्रौढ रुद्रप्रसादसँगै युवा रुद्रप्रसादको भूमिकामा पनि देखिएका छन् । तर, उसको सिन फिल्ममा असाध्यै कम छ । तर, त्यसले पनि दिव्यदेव भर्सटाइल कलाकार हुन् र उनले अवसर मिले गरेर देखाउन सक्छन् भन्ने बुझाउन सकेका छन् ।

तर, फिल्म हेरिरहँदा उनले पात्रलाई लिएर सोचेको कुरा र मेकरले सोचेको कुरा कताकता नमिलेको  हो कि जस्तो लाग्छ । यसको मुख्य कारण मेकअप र संवाद हो ।

कम्तीमा पनि रुद्रप्रसादको उमेर ६० माथि नै छ । तर, उनको संवादमा युवापन झल्किन्छ । अनि केही ठाउँ बाहेक उनलाई मेकअपले साथ दिएको छैन । अर्थात् सामाजिक यथार्थवादको धरातलमा टेकेर बनाइएको फिल्ममा तत्वहरू नै यथार्थ छैनन् । यी प्राविधिक कमजोरीले गर्दा रुद्रप्रसाद वाह ! बनेका छैनन् ।

यद्यपि रुद्रप्रसाद हरकोहीले चाहने ‘बा’ हुन् । उनमा सन्तानप्रति अपार माया छ । तर, उनको यो मायाले उनले के पाउँछन् ? त्यो त फिल्मले नै भन्ने कुरो रह्यो । तर, समग्रमा फिल्ममा बाआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामाथि भन्ने उखानलाई चरितार्थ पनि गर्न प्रयास गरिएको छ ।

नेपाली समाजमा पाइने निःस्वार्थ, त्यागी र कर्तव्यनिष्ठ बाका एक प्रतिनिधि तथा आदर्श पात्रको रूपमा उभ्याइएको रुद्रप्रसाद नेपाली फिल्म उद्योगले दिएको ‘बा’ को बलियो पात्र भने बन्नबाट चुकेको छ ।

यद्यपि दिव्यदेवका लागि बा एउटा मेजरमाइल स्टोन भने हुन सक्छ ।

प्राविधिक कमीकमजोरी भए पनि उनले बाको महसुस दर्शकलाई गराउन सकेका छन् । बा हेरेर दिव्यदेवको फ्यानका रूपमा के भन्न सकिन्छ भने उनले राम्रो मौका पाए काम गजबै गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?