+
+
Shares

डाकुको हातमा चक्कुले अटोग्राफ दिने बलिउडकी ‘ट्राजेडी क्वीन’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १७:१७

फिल्म निर्माता र निर्देशक केदार शर्माको एउटा बानी थियो – कुनै कलाकारको कामबाट खुसी हुना साथ उनी पुरस्कार स्वरूप दुअन्नी अर्थात् दुई आनाको सिक्का दिन्थे । पछि उनले यो पुरस्कार बढाएर चवन्नी अर्थात ४ बनाएका थिए । भनीहालौं १ रुपैयाँमा १६ आना हुन्छ ।

चित्रलेखा फिल्मको सुटिङका क्रममा मीना कुमारीले उनै शर्मालाई पुरस्कारको दर बढाउनुपर्ने बताइन् । त्यसको केही समयपछि शर्माले १०० रुपैयाँ दिन थाले । त्यो पाउने पहिलो व्यक्ति उनै मीना कुमारी नै थिइन् ।

ट्राजेडी क्वीन मीना कुमारी

मीना कुमारीको सिङ्गो जीवन भारतीय महिलाको दुःख र पीडालाई स्क्रिनमा देखाउँदै बित्यो । उनले आफ्नो निजी जीवनको दुःखबारे सोच्ने समय नै पाइनन् । तर मीना कुमारीको अभिनयमा दुःख र रोदनबाहेक अरू केही थिएन भन्नु गलत हुन्छ ।

परिणिता की सोझी र चञ्चल केटी होस्, बैजू बावरा की सुन्दरी प्रेमिका होस्, साहब बीबी और गुलाम की दुःख सहने बुहारी वा पाकिजा की साहबजान – यी सबै भूमिकाहरू उनलाई चिनाउने हुन् ।

१ अगस्ट १९३२ मा जन्मेकी मीना कुमारीले ३२ वर्षसम्म भारतीय चलचित्र क्षेत्रमा राज गरिन् । अरूलाई सधैं सहयोग गर्न तयार हुने, अलि भावुक मीना कुमारीको जीवन अरूलाई खुसी बाँड्दै र अरूकै दुःख समेट्दै बित्यो ।

कमाल अमरोहीका छोरा ताजदार अमरोहीका अनुसार मान्छेहरूले मीना कुमारीलाई मधुबाला जस्तै सुन्दरी रूपमा कहिल्यै हेरेनन्, जसरी मधुबालालाई भेनस अफ द इन्डियन स्क्रिन वा नरगिसलाई फर्स्ट लेडी अफ इन्डियन स्क्रिन भनिन्थ्यो ।

मीना कुमारीले ट्राजेडी क्वीनको उपनाम पाइन् । पछि त दुःखलाई नै आफ्नो जीवनको अभिन्न हिस्सा बनाइन् । मान्छेहरूले उनी पर्दामा जस्तो अभिनय गर्थिन्, वास्तविक जीवनमा पनि त्यस्तै छिन् भन्ने ठानेका थिए । पछि स्वयम् मीना कुमारीले पनि त्यसैलाई सही मान्न थालेकी थिइन् ।

मौसमको जुसबाट सुरु भएको प्रेम

१९४९ मा मीना कुमारी पहिलोपटक कमाल अमरोहीलाई भेट्दा कमाल विवाहित थिए । उनको फिल्म महल निकै हिट भएको थियो । कमाल मीनालाई अनारकली फिल्ममा खेलाउन चाहन्थे । त्यसैले उनी मीनाको घर आउनजान थाले ।

यसैबीच, पुनाबाट फर्किने क्रममा मीना कुमारीको कार दुर्घटना भयो । चर्चित पत्रिका आउटलुकका पूर्व सम्पादक विनोद मेहताले मीना कुमारीको जीवनी मीनाकुमारी – अ क्लासिक बायोग्राफी लेखेका छन् ।

विनोद मेहताका अनुसार उनीहरूको प्रेम मौसमको जुसबाट सुरु भएको थियो । कमाल अमरोही मीना कुमारीलाई भेट्न पुनाको अस्पताल पुग्दा मीनाकी कान्छी बहिनीले दिदीले जुस नपिएको गुनासो गरिन् । त्यसपछि कमालले आफैं गिलास समातेर मीनाको टाउको अड्याउँदै जुस पिलाएका थिए । मीनाले पनि एकै घुट्कामा सबै जुस सक्काएकी थिइन् ।

त्यसपछि कमाल हरेक हप्ता गाडी चलाएर सायनबाट मीनालाई भेट्न पुना पुग्थे । हप्तामा एक दिनको भेटघाट अपुग लाग्न थालेपछि भेट नहुने दिन उनीहरू दैनिक एकअर्कालाई चिठी लेख्थे ।

ती चिठीहरू उनीहरू एकअर्कालाई भेटेको बेला दिने गर्थे ।

मन्जु र चन्दन

अस्पतालमै उनीहरूको धेरै भेटघाट भयो । त्यो बीचमा उनीहरूले एकअर्कालाई फरक नाम पनि दिए । कमाल अमरोहीले उनलाई मन्जु नाम दिए भने मीनाले कमाललाई चन्दन भनेर बोलाउन थालिन् । विनोद मेहताका अनुसार अस्पतालपछि उनीहरू फोनमा पनि कुराकानी गर्न थालेका थिए । अमरोही प्राय:जसो राति ठीक साढे ११ बजे मीनालाई फोन गर्थे । कहिलेकाहीँ त उनीहरूको कुराकानी बिहानको ५ बजेसम्म लम्बिन्थ्यो ।

यसरी राति अबेरसम्म कुरा गर्ने बानीले गर्दा पछि दुवै जनालाई अनिद्राको समस्या भएको थियो ।

कान्छी आमा

१९५२ मे २४ मा मीना कुमारी र कमाल अमरोहीले विवाह गरे ।

त्यतिबेला कमालकी पहिलो श्रीमती अमरोहामा बस्थिन् । गर्मीको बिदामा उनले आफ्ना छोरा ताजदारलाई मीनासँग भेट्न बम्बई पठाइन् । उनी त्यहाँ पुग्दा कमाल अमरोही बिरामी थिए । उनलाई ज्वरो आएको थियो । ताजदारका अनुसार सेतो साडी लगाएकी कान्छी आमा बुबाको सिरानीमा बसेर निधारमा सुगन्धित पानीमा भिजाएको पट्टी लगाइदिँदै थिइन् भने एउटी सुसारे बुबाको गोडा मालिस गर्दै थिइन् ।

त्यसबेला अक्कन बक्क परेर उभिएका ताजदारको दोधार मीनाले तुरुन्तै बुझेकी थिइन् । त्यतिबेला बुबा मुस्कुराए पनि केही बोलेनन् । त्यसपछि मीना आफैंले उनलाई नजिकै बोलाएर अङ्गालो हाल्दै आजैदेखि आफू उनको कान्छी आमा भएको बताएकी थिइन् ।

कमालका तीन सर्त

तर विवाहको केही समयपछि नै उनीहरूबीच खटपट सुरु भयो ।

कमाल अमरोहीले मीनालाई फिल्ममा काम गर्न त दिए, तर तीनवटा सर्त राखे ।

विनोद मेहताका अनुसार पहिलो सर्त थियो – मीना कुमारी साँझ साढे ६ बजेभित्र घर फर्किसक्नुपर्ने । दोस्रो सर्त – उनको मेकअप रुममा मेकअप म्यानबाहेक अरू कुनै पुरुष बस्न पाउने छैन । र तेस्रो सर्त – मीना कुमारी सधैं आफ्नै कारमा मात्र आउजाउ गर्नेछिन् ।

मीनालाई यी सर्तहरू मञ्जुर थियो । तर, उनले पहिलो दिनदेखि नै सर्तहरू तोड्न थालेकी थिइन् । पहिलो घटना शारदा फिल्मको सुटिङका क्रममा भएको थियो । त्यसबेला उनलाई राज कपूरले एउटा पार्टीमा बोलाएका थिए ।

विनोद मेहताका अनुसार बम्बई आएको एउटा रुसी फिल्म टोलीको स्वागतमा राज कपूरले पार्टी आयोजना गरेका थिए । मीनाले उक्त निमन्त्रणा स्वीकार गरेकी थिइन् । कमाललाई भने फोन गरेर सुटिङ ढिलोसम्म चल्ने भएकाले घर फर्कन अबेला हुने बताएकी थिइन् ।

भोलिपल्ट संयोगले कमाल अमरोहीको भेट राज कपूरको पार्टीमा उपस्थित पाहुनाहरूसँग भयो । त्यसपछि उनले श्रीमती सुटिङमा नभई पार्टीमा रमाइरहेकी थिइन् भन्ने थाहा पाइहाले ।

यता मीनाले घर फर्केपछि पनि यसबारे केही भनिनन् । पछि कमाल आफैंले यो कुरा उठाउँदा उनले कमाललाई चिन्तित बनाउन नचाहेकाले त्यसो गरेको जवाफ दिएकी थिइन् ।

कमाल अमरोहीले मनाउन सकेनन्

कुरा त्यत्तिमा रोकिएन । एक दिन कमाल अमरोहीका सेक्रेटरी बाकरले मीनालाई अभिनेता प्रदीप कुमारको कारबाट ओर्लँदै गरेको देखे । पछि अरू पनि धेरै कुरा बिग्रिँदै गए । त्यसपछि मीना कमालको घरमा बसिरहन सकिनन् । अनि कहिल्यै नफर्कने निर्णय लिएर घरबाट निस्किइन् ।

ताजदारका अनुसार स्वतन्त्र भएर जिउनका लागि मीनाले कमालको घर छाड्ने बहाना खोजिरहेकी थिइन् । घर छाडेर गएपछि कमालले श्रीमानका नाताले मीनालाई सम्झाइबुझाइ गर्ने प्रयास गरेका थिए ।

त्यो बेला मीना महमूदको घरमा गएर बसेकी थिइन् । पछि कमाल त्यहीँ पुगेका थिए । तर, उनलाई मीनाले भेटिनन् । मीना आफूलाई कोठाभित्र थुनेर बसेकी थिइन् । उनको कोठाबाहिर कमालले ढोका ढकढक्याउँदै बाहिर आएर कुरा गर्न र आफ्ना गुनासा भन्न आग्रह गरिरहेका थिए । तर मीना बाहिर आइनन् ।

त्यसपछि महमूदले अहिल्यै नमान्ने र पछि भेट्न आउन सुझाव दिएका थिए । कमालले ३/४ पटक ढोका ढकढक्याउँदै आफू फर्किएर कहिल्यै नआउने सुनाइरहेका थिए । धेरै मनाउने कोसिस गर्दा पनि नमानेपछि आफ्नो घरको ढोका सधैँ खुला रहने र चाहेको बेला आउन सक्ने सुनाउँदै उनी घर फर्किएका थिए ।

कमालको वाकआउट

त्यसैबीच केही घटनाहरूले उनीहरूबीचको दूरी झन् बढाइदियो । जस्तो, विनोद मेहताका अनुसार सोहराब मोदीले मीना र कमाल दुवैलाई इरोज सिनेमा हलमा फिल्म प्रिमियरमा बोलाएका थिए ।

त्यसक्रममा सोहराबले महाराष्ट्रका राज्यपालसँग यी प्रसिद्ध अभिनेत्री मीना कुमारी हुन् र यी उनका श्रीमान कमाल अमरोही भन्दै उनीहरूको परिचय गराइरहेका थिए । तर, अमरोहीलाई त्यो कुरा चित्त बुझेन । उनले ‘होइन, म कमाल अमरोही हुँ र यी प्रसिद्ध अभिनेत्री मीना कुमारी मेरी श्रीतमी होइनन्’ भनेर बीचमै भनिदिए।

त्यसपछि केही नभनी उनी हलबाट बाहिरिए । हलमा मीना कुमारीले एक्लै बसेर फिल्म हेरेकी थिइन् ।

‘साहब बीबी और गुलाम’ मा अभिनय

तर निजी जीवनको यो तनावले मीनाको अभिनयमा कुनै असर पारेन । उनले एकभन्दा अर्को उत्कृष्ट फिल्महरू गर्दै गइन् । र तीनबाट प्रशंसा पाउँदै पनि गइन् । मीनालाई नजिकबाट चिन्ने निर्देशक सावन कुमार टाकका अनुसार उनको हरेक फिल्ममा फरकफरक रूप देख्न पाइन्छ । दिल एक मन्दिर, पाकिजा, परिणिता – ती सबैमा मीनालाई फरक अवतारमा देख्न सकिने उनको भनाइ छ ।

त्यस्तै, सावनका अनुसार साहब बीबी और गुलाम उनलाई मीनाको सबैभन्दा मन परेको फिल्म हो । यसमा मीनाले अरुले गर्न नसक्ने अभिनय गरेको उनको भनाइ छ ।

‘पाकिजा’

कमाल र मीना अलग भए पनि कलाकारका रूपमा मीनाले कमालका फिल्ममा काम गर्न आफूलाई रोकिनन् । त्यही कारण ५ वर्षसम्म छुट्टिएर बसे पनि उनले पाकिजा पूरा गरिन् ।

ताजदारका अनुसार जसरी शाहजहाँले ताज महल बनाएर मुम्ताजलाई अमर बनाए, त्यसरी नै कमालले पाकिजा बनाएर मीनालाई अमर बनाएका थिए । हुन पनि, भारतीय सिनेमाको इतिहास लेखिँदा पाकिजाको चर्चा सधैँ हुने गर्छ ।

यस फिल्ममा राजकुमार, अशोक कुमार तथा नादिराको पनि योगदान रहे तापनि तीनवटा नाम – मीना कुमारी, कमाल अमरोही र पाकिजा – सधैँ जीवित रहने उनको भनाइ छ ।

डाका अमृत लालसँगको भेट

पाकिजाकै सुटिङका क्रममा उनीहरूबीच एउटा चाखलाग्दो घटना घटेको छ । विनोद मेहताका अनुसार आउटडोर सुटिङमा जाँदा कमाल दुईटा गाडी लैजान्थे । एकपटक दिल्ली जाँदा मध्यप्रदेशको शिवपुरीमा गाडीको पेट्रोल सकियो । अमरोहीले राति गाडीमै बस्ने निर्णय गरे ।

त्यो डाकाहरूको इलाका थियो भन्ने उनीहरूलाई थाहा थिएन । मध्यराति करिब १२ जना डाकाहरूले गाडी घेरे र तल ओर्लन भने । कमाल ओर्लन मानेनन् । जसले भेट्न चाहन्छ, गाडीमै आओस् भनेर भनिदिए।

त्यसको केही बेरमा एउटा आएर परिचय सोध्यो । अमरोहीले आफू कमाल भएको, सुटिङ गर्न गइरहेको तर पेट्रोल सकिएर यतै रोकिएको बताइदिए । केही बेरमा डाकाको समूहले अर्को गाडीमा मीना पनि छिन् भन्ने थाहा पाए । त्यसपछि डाकाको समूहको व्यवहार नै बदलियो ।

उनीहरू तुरुन्तै नाचगान र खानाको व्यवस्था गरे । सुत्ने ठाउँ मिलाइदिए । र एकाबिहान पेट्रोल पनि मगाइदिए ।

बिदा हुने बेला हिजो परिचय सोध्ने डाकुले चक्कुले आफ्नो हातमा अटोग्राफ दिन भन्यो । डरैडरमा मीनाले उसको हातमा अटोग्राफ दिइन् । पछि अर्कै सहर पुगेपछि मात्र उनीहरूलाई थाहा भयो – उनीहरू मध्य प्रदेशका कुख्यात डाका अमृत लालसँग रात बिताइरहेका थिए ।

बिरामी हुँदा पनि अभिनय

रक्सी र धूम्रपानको लतले मीनाको स्वास्थ्य बिग्रँदै गइरहेको थियो ।

एक समय यस्तो आयो कि उनी करिब सुटिङ गर्नै नसक्ने अवस्थामा पुगिन् । तर, निर्देशक सावन कुमार टाकका अनुसार मीना जुनसुकै हालतमा पनि सुटिङ नरोकियोस् भन्ने चाहन्थिन् । मीनाले आफ्नो कारण सावनलाई दु:ख नहोस् भन्ने लाग्थ्यो । तर, त्यो बेला मीना यति कमजोर भइसकेकी थिइन् कि सट दिँदादिँदै लड्न सक्ने अवस्था थियो ।

त्यसैले सुटिङ भइरहेको बेला सावन कुमार आफैँले मीनालाई पछाडिबाट समातेर अड्याउँथे । सट सकिनेबित्तिकै कुर्सीमा बसाउँथे । उनी आफूलाई निर्देशक बनाएकोमा मीना कुमारीप्रति सधैं आभारी रहे, किनकि सावन कुमारले निर्देशन गरे मात्र फिल्ममा काम गर्ने उनको सर्त थियो ।

‘म मर्न चाहन्नँ’

जीवनको आखिरी दिनहरूमा मीना कुमारीलाई सेन्ट एलिजाबेथ नर्सिङ होममा भर्ना गरिएको थियो । नर्सिङ होमको कोठा नम्बर २६ मा उनकी ठूली दिदी खुर्शीद प्रायजसो सँगै हुन्थिन् । उनी कोमामा जानुअघि तिनै दिदीलाई उनले ‘दिदी, दिदी, म मर्न चाहन्नँ’ भनिरहेकी थिइन् । तर, त्यसपछि मीनाको कहिल्यै पनि होस फर्किएन ।

त्यसबेला उनी ३८ वर्षका मात्र थिइन् । यसरी बलिउडले आफ्नो ट्राजेडी क्वीन गुमाएको थियो । उनको मृत्युपछि सावन कुमारले एउटा शेर लेखेका थिए –

चांदनी मर गई, रोशनी मर गई
सारी शम्मे बुझा कर चले आए लोग
चादरे गुल से छिलता था जिसका बदन
उसको मिट्टी उढ़ा कर चले आए लोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?