+
+
Shares

रसुवा बाढी : टेन्टमै बित्ने भो विस्थापितको दशैं-तिहार

रसुवा बाढीबाट विस्थापित भन्छन्, ‘सामूहिक रूपमा पकाएर खाइरहेका छौँ । दाल, नुन, तेल, चामल छ । पकाउने भाँडाकुँडा छन् । यसपालिको दशैं-तिहार रुँदै टेन्टमै मनाउनुपर्ने भयो ।’

दिनेश गौतम दिनेश गौतम
२०८३ असोज २७ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको बेत्रावतीका करिब २५ घरधुरी बाढीबाट विस्थापित भएपछि स्वारडाँडाको टेन्टमा बसिरहेका छन्।
  • विस्थापितले दशैं र तिहार टेन्टमै मनाउनुपरेको भन्दै सरकारले छिटो पुनर्वास र स्थायी बसोबासको व्यवस्था गर्न माग गरेका छन्।
  • जिल्ला प्रशासनका अनुसार रसुवाका ३८० भन्दा बढी विस्थापित टेन्टमा छन् भने २१८ जना ५ होल्डिङ सेन्टरमा राखिएका छन्।

२७ असोज, काठमाडौं । नुवाकोट विदुर नगारपालिका–१० बेत्रावतीका नारायणमान डंगोल बाढीबाट विस्थापित भएपछि गत २४ भदौदेखि स्वारडाँडास्थित टेन्टमा बसिरहेका छन् । अझै कति समय टेन्टमा बस्नुपर्ने हो टुंगो छैन ।

‘१० गते बाढी आयो । तीन/चार दिन तितिरबितर भइयो । त्यसपछि टेन्टमा बसिरहेका छौँ,’ उनले अनलाइनखबरसित भने, ‘दशैं आयो टेन्टको बसाइ छ । दिउँसो टेन्टमा गर्मी बेलुका शीत झर्छ ।’

बेत्रावतीका लगभग २५ घरधुरी स्वारडाँडामा टेन्ट टाँगेर बसेका छन् । ‘सामूहिक रूपमा पकाएर खाइरहेका छौँ । दाल, नुन, तेल, चामल छ । पकाउने भाँडाकुँडा छन्,’ उनले भने, ‘दशैं तिहार रुँदै टेन्टमै मनाउनुपर्ने भयो ।’
रसुवा बाढीबाट विस्थापित भएका नुवाकोटका धेरैजसो स्थानीयले होल्डिङ सेन्टर छोडिसकेका छन् । तर बेत्रावतीका स्थानीय भने अझै टेन्टमै छन् ।

‘गाउँ छोडेर जान सकिँदैन । आफन्तकोमा जाने ठाउँ छैन । १५ हजार रुपैयाँले कोठा भाडामा लिएर बस्न नसक्नेहरू टेन्टमा बसिरहनुभएको छ,’ स्थानीय शशि डंगोलले भने, ‘बसोबासको प्याकेज नआएसम्म टेन्टमै बस्ने हो । १५ हजार नलिनेहरू पनि बसिरहनुभएको छ । तर सरकारले टेन्टभन्दा राम्रो योजना पनि ल्याइरहेको छ ।’

उनका अनुसार ६ महिनालाई पुग्ने खाद्यान्न छ । ‘खान समस्या छैन । थातथलो छोड्न सकिँदैन । अन्त गएर बस्न सकिँदैन । सरकारले छिटो पुनर्वासको व्यवस्था गरोस् । चिसो हुन थाल्यो । अब स्थायी बसोबासको प्रबन्ध हुनुपर्छ,’ उनले भने ।

बेत्रावतीका कोही बटार र कोही काठमाडौंमा बसिरहेका छन् । ‘कहिले काठमाडौं, कहिले बटार, कहिले स्वारडाँडामा गइरहेको छु । बस्ने ठेगान नै छैन,’ स्थानीय ईश्वर थापाले भने ।

बेत्रावतीकै इन्द्रमाया डंगोल पनि कहिले बटार त कहिले स्वारडाँडा गइरहेकी छिन् । ‘छोरो स्वारडाँडामा छ । म बटारमा छु,’ उनले भनिन् ।

सरकारबाट १५ हजार रुपैयाँ बुझेका धेरैजसोले भने होल्डिङ सेन्टर छोडेका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि बेत्रावतीका २५ घरधुरी जति टेन्टमा रहेको जनाएको छ । ‘२५ घरधुरी टेन्टमा हुनुहुन्छ । अरू आ–आफ्नो हिसाबले बस्नुभएको छ,’ प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने ।

उनका अनुसार विदुर–५ मा रसुवा जिल्लाका विस्थापित पनि टेन्टमा बसेका छन् । ‘रसुवाका विस्थापित ३८० भन्दा बढी हुनुहुन्छ । उहाँहरू टेन्टमा बस्नुभएको छ । राहत र टेन्टको व्यवस्था हामीले गरेका छौँ,’ उनले भने, ‘कागजी सरकारी काम रसुवाबाट भएको छ । समस्या समाधान गर्न त्यही ठाउँमा रसुवाको सम्पर्क कार्यालय पनि छ ।’

उनीहरू रसुवा जाने वा त्यतै बस्ने भन्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । ‘यता बस्ने वा उता जाने उहाँहरूले रोज्ने हो । त्यो काम छिट्टै हुन्छ,’ उनले भने ।
रसुवामा अहिले पनि ५ वटा होल्डिङ सेन्टर छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीबाट विस्थापित भएका २१८ जना होल्डिङ सेन्टरमा छन् । सिड्स, भीमसेनस्थान मावि, कोमेन मावि, लिंग्लिंग कानिग छोलिंग गुम्बा र गणेश माविमा विस्थापितलाई राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नीलकण्ठ माविलाई छात्रवास बनाइएको छ । जहाँ बाढीबाट विस्थापित भएका सहितका विद्यार्थीलाई राखिएको छ ।

‘५ वटा होल्डिङ सेन्टर छन् । एउटा छात्रावास बनाइएको छ,’ उनले भने । विस्थापित भएकालाई अस्थायी र स्थायी बसोबासको प्रक्रिया अगाडि बढेको उनले बताए । ‘अस्थायीमा बस्ने कि स्थायीमा जाने भनेर कुरा भइरहेको छ । स्थानीय तहले ठाउँ पनि पठाएको छ । अब दशैंपछि कहाँ बस्ने टुंगो लाग्छ,’ उनले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?