+
+
Shares

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने आईएमएफ प्रक्षेपण

आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएमएफले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत र गत आव २०८२/८३ मा ३.६ प्रतिशत सीमित हुने प्रक्षेपण गरेको छ।
  • आईएमएफले गत अप्रिलको ४.६ प्रतिशत प्रक्षेपण घटाएर २०२७ का लागि नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतमा झारेको छ।
  • आईएमएफले २०२७ मा नेपालको मूल्यवृद्धि ५.८ प्रतिशत हुने र २०२६ मा विश्व आर्थिक वृद्धि ३.१ प्रतिशत रहने अनुमान गरेको छ।

२७ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै गत आव २०८२/८३ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि आईएमएफले गरेको छ ।

आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको हो ।

यसअघि गत अप्रिलमा आईएमएफले २०२७ मा ४.६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । ६ महिनापछि उसले आर्थिक वृद्धि प्रक्षेपण शून्य दशमलव ९ प्रतिशत विन्दुले घटाएको हो ।

आईएमएफले गत आव २०२६ को प्रक्षेपण भने गत अप्रिलको तुलनामा बढाएको छ । गत अप्रिलमा आईएमएफले २०२६ मा ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

नेपाल सरकारले चालु आव ७ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । तर आईएमएफ मात्रै होइन, केही दिनअघि विश्व बैंकले पनि ३.७ प्रतिशत नै आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

१० भदौमा आएको रसुवा बाढीका कारण चालु आवको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकले अनुमान गरेको थियो । विश्व बैंकको ‘नेपाल डेभलपमेन्ट अपडेट’ का अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने भएकाले २०८४/८५ मा चाहिँ आर्थिक वृद्धिदर ५.२ प्रतिशत उक्लिन सक्ने छ ।

आईएमएफले चालु आव २०२७ मा मूल्यवृद्धि भने ५.८ प्रतिशत हुने अनुमान गरेको छ । गत आव २०२६ मा मूल्यवृद्धि दर ३.१ प्रतिशत मात्रै भएको आईएमएफ प्रक्षेपण छ । नेपाल राष्ट्र बैंकले पनि गत आव ३.०८ प्रतिशत मूल्यवृद्धि भएको जनाएको छ ।

२०२६ मा विश्व आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण

आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुकले पश्चिम एसियाको युद्ध र व्यापारिक तनावबीच विश्व अर्थतन्त्र उत्थानशील देखिएको विश्लेषण गरेको छ । यद्यपि, उच्च ऋण र इन्धन मूल्यवृद्धिका कारण विश्वमा जोखिम कायमै रहेको पनि प्रतिवेदनले जनाएको छ ।

२०२६ को पहिलो अर्धवार्षिक अवधिमा विश्वव्यापी आर्थिक गतिविधि अपेक्षाभन्दा राम्रो रहेको प्रतिवेदनले जनाएको छ । २०२६ मा विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहने अनुमान आईएमएफको छ ।

त्यस्तै २०२७ मा विश्व आर्थिक वृद्धिदर बढेर ३.४ प्रतिशत पुग्ने प्रक्षेपण पनि आईएमएफको छ ।

आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा भएको उच्च लगानी र प्रविधि चक्रले विश्वव्यापी मागलाई बढावा दिएको प्रतिवेदनले उल्लेख गरेको छ ।

‘तर, भूराजनीतिक तनाव र प्रविधिको संयुक्त प्रभावले विश्व अर्थतन्त्रलाई स्पष्ट दुई भागमा विभाजन गरेको छ, प्रविधि निर्यात गर्ने तथा अनुकूल व्यापार अवस्था भएका देशहरूले राहत पाइरहेका छन् भने ऊर्जा आयातमा निर्भर देशहरूले उच्च आयात खर्च र कमजोर मागको दबाब झेलिरहेका छन्,’ प्रतिवेदनमा छ ।

मुद्रास्फीति ४.७ प्रतिशत पुग्ने, विश्व व्यापारमा सुस्तता

२०२६ मा विश्वव्यापी कुल मुद्रास्फीति (हेडलाइन इन्फ्लेसन) बढेर ४.७ प्रतिशत पुग्ने अनुमान प्रतिवेदनको छ । खाद्यान्न र ऊर्जा मूल्यमा भएको वृद्धिका कारण मुद्रास्फीति यसअघि प्रक्षेपण गरिएभन्दा ०.७ प्रतिशत विन्दुले बढी हुने अनुमान गरिएको हो ।

यद्यपि, २०२७ मा यो घटेर ४.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । अर्कातिर भन्सार महसुल, उत्पादन शृङ्खलामा भइरहेको अवरोध तथा र प्रविधि सम्बन्धी व्यापार तनावका कारण २०२६ मा विश्व व्यापारमा सुस्तता आउने र २०२७ मा स्थिर हुने प्रक्षेपण आईएमएफको छ ।

प्रतिवेदन अनुसार प्रविधि मूल्य शृङ्खलामा नजोडिएका र ऊर्जा आयातमा निर्भर रहेका अर्थतन्त्रहरूले अहिले सबैभन्दा कठिन परिस्थिति सामना गर्नुपरेको छ ।

यस्ता देशहरूले उच्च आयात लागत, मुद्रा विनिमय दरमा दबाब, वास्तविक आयमा कमी र सीमित वित्तीय क्षमता सामना गर्नुपरिरहेको छ ।

‘धेरैजसो न्यून आय भएका र जोखिममा रहेका देशहरू यही समूहमा पर्ने भएकाले उनीहरूबीच र देश भित्रै आयको असमानता अझ फराकिलो हुने खतरा छ,’ आईएमएफको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?