News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय सुनुवाइ समितिले सरकारले सिफारिस गरेका १३ मध्ये १० राजदूतको नाम अनुमोदन गरेको छ ।
- समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको छ ।
- जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नामबारे समितिले थप कागजात हेरेपछि मात्रै निर्णय गर्ने भएको छ ।
२८ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारले प्रस्ताव गरेर पठाएका १३ मध्ये १० जना राजदूतहरूका नाम अनुमोदन गरेको छ भने दुई जनाको अस्वीकृत गरेको छ । एक जनाको अनुमोदन गर्ने नगर्ने निष्कर्षमा समिति पुगेको छैन ।
समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको हो । जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाम अनुमोदन गर्ने नगर्नेबारे समितिले थप कागजात बुझेपछि मात्र निर्णय गर्ने भएको छ ।
उनले जापानमा पीआर लिएको र त्यहाँको सरकारी सेवामा काम गरेको लगायतका उजुरी परेका छन् ।
यो चरणमा प्रस्ताव भएका राजदूतहरू मध्ये जसका नाममा गम्भीर उजुरीहरू आएका थिए ती उजुरीमाथि समितिले छानबिन गरी अस्वीकृत गर्ने निर्णय गरेको हो ।
सरकारले यसपटक खुला प्रतिस्पर्धा मार्फत् आवेदन मागेर राजदूत सिफारिस गरेको दाबी गरेको थियो । तर त्यसरी सिफारिस भएका व्यक्ति पनि गम्भीर चारित्रिक विवादहरूमा फसेको पाएपछि संसदीय समितिले उनीहरूलाई राजदूत बनाउने योग्यता नरहेको निष्कर्ष निकालेको हो ।
मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका गम्भीर उजुरी आएका थिए ।
ती उजुरीहरूमाथि सांसदहरूले राखेका जिज्ञाशामा उनले सुनुवाइका क्रममा चित्तबुझ्दो जवाफ दिन सकेनन् ।

त्यस्तै अस्वीकृत भएका साउदी अरबमा प्रस्तावित राजदूत सुनारमाथि विवाहेत्तर सम्बन्ध राखेको, मेलमिलाप गर्दै पूर्वप्रेमीसँग सम्बन्ध तोडेपछि पनि यातना, धम्की र आत्महत्या गर्न दबाब दिएको, जर्मन सरकारले हिरासतमा राखी हत्कडी लगाएर जर्मनीबाट नेपाल डिपोर्ट गरेको, प्रहरीको बढुवाका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको, पैसा उठाउने र व्यवस्थापन गर्ने गरेको लगायतका आरोप लागेका थिए ।
प्रष्टीकरण दिनेक्रममा सुनारले जसमाथि महिला हिंसा भएको भनेर उजुरी परेको थियो उनीसँग प्रेम सम्बन्धमा रहेको स्वीकार गरे ।
‘परस्त्री सम्बन्ध स्वीकार गरेको’ भन्दै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले यो उच्च नैतिक चरित्रको विषय नभएको स्मरण गराए ।
संविधानले सरकारले गर्ने निर्णय जाँच गर्दा कतै उच्च नैतिक चरित्र नभएको व्यक्ति समेत पर्न सक्ने भनेरै संसदीय सुनुवाइ समितिको अवधारणा राखिएको उनले चर्चा गरे ।
‘सरकारका कतिपय निर्णय जान अन्जानमा समेत त्रुटि हुन सक्छ । जानजान पनि हुन सक्छ र त्यसमाथि संसद्ले हेर्नुपर्छ भनेर संसदीय सुनुवाइको व्यवस्था हामीले अपनाएका हौं’ ढुंगानाले समितिकै बैठकमा भने ।
उनीहरूमाथि लागेका आरोपहरूमाथि सत्ता र प्रतिपक्षका सांसदहरूले एकै शैलीमा प्रश्न गरेका थिए । सांसदहरूले व्यक्तिगत रुपमा आफूहरूलाई आएका उजुरीहरूलाई पनि समिति राख्दै त्यसबारे के भएको हो भन्दै प्रश्न गरेका थिए ।
संसदीय सुनुवाइ समितिमा कुनै पनि व्यक्तिको नाम अस्वीकृत गर्न दुई तिहाइ सांसदले सहमति चाहिन्छ । त्यसैले रास्वपाको सहमति बिना दुई तिहाइ नपुग्ने अवस्था थियो । तर आफ्नै नेतृत्वको सरकारले गरेको सिफारिसलाई रास्वपाले नै संसदीय समितिबाट अस्वीकार गरेर संसदीय समिति अधिकारको ओज राखेको छ ।

गम्भीर प्रश्न उठेकाहरूलाई रास्वपाकै नेतृत्वको संसदीय समितिले पनि स्वीकार गर्दैन भन्ने नजीर यो निर्णयबाट स्थापति भएको छ ।
गलत व्यक्ति राज्यको प्रतिनिधिको रुपमा बाह्य मुलुकमा जाने र वा गलत व्यक्ति राज्यको उच्च ओहोदामा पुग्न सक्ने विषयलाई रोक्ने गरी सुनुवाइको व्यवस्था राखिएको स्मरण गर्दै सांसद ढुंगाना भन्छन्, ‘यसपटक हामीले सुनुवाइ समिति कति पावरफुल छ र कति विवेक प्रयोग गर्न सक्छ भनेर अभ्यास गर्ने प्रयास गर्यौं ।’
रास्वपाका सांसद मधुकुमार चौलागाईं आफूहरू अमेरिकाको ‘कन्फर्मेसन सुनुवाइ’ जस्तै अभ्यास नेपालमा पनि गर्ने प्रयासमा रहेको र यसले निरन्तरता पाउने बताउँछन् ।
सुनुवाईकै क्रममा अनलाइनखबरसँग कुरा गर्दै उनले भनेका थिए, ‘हामी कतिय गलत अभ्यास तोड्न र सभ्य र व्यवस्थित अभ्यास गर्न भनेर आएका हौं । अमेरिकाको ‘कन्फर्मेसन सुनुवाइ’ जस्तै अभ्यास गर्ने प्रयासमा छौं । गर्छौं ।’
संघीय संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङ यसअघि नेपालको संसदीय समितिबाट प्रस्तावित राजदूतको नाम अनुमोदन नगर्ने यो पहिलो निर्णय हो ।
उनका अनुसार नेपालमा संसदीय सुनुवाइको इतिहास २०६३ सालको अन्तरिम संविधानबाट प्रारम्भ भएको हो । कार्यकारी प्रमुख र संवैधानिक अंगमा हुने नियुक्तिलाई पारदर्शी, उत्तरदायी र राजनीतिक हस्तक्षेपमुक्त बनाउन अमेरिकाको ‘कन्फर्मेसन सुनुवाइ’ अभ्यासबाट प्रभावित भएर यो प्रणाली नेपालमा भित्र्याइएको हो ।
‘त्यसयता राजदूतको हकमा संसदीय सुनुवाइ समितिबाट नाम अस्वीकृत भएको मलाई याद छैन’ उनले अनलाइनखबरसँग भने ।
पूर्वसांसद विरोध खतिवडा राजूतको हकमा संसदीय सुनुवाइ समितिबाट नाम अस्वीकृत भएको पहिलो पटक भएको बताउँछन् ।
‘नाम फिर्ता लिएका केही उदाहरण छन् । तर राजदूतको हकमा संसदीय सुनुवाइ समितिबाट नाम अस्वीकृत भएको पहिलो पटक हो ।’
पूर्व सांसद खतिवडाका अनुसार पहिले सत्तापक्षले भद्र पक्ष गर्दथे । राजदूत भएर गएपछि के गर्ने ? फर्केर आउँदा कस्तो परिणाम आउँछ भनेर सरल ढंगबाट आफ्ना कुरा राख्दथे विपक्षीले अलि कडा प्रश्न गर्थे । ‘यसपटक प्रश्न गर्ने ठाउँमा सत्तापक्षले पनि मज्जैले प्रश्न गरेको देखियो । यो सुनुवाइ समितिमा देखिएको फरक दृश्य हो’ पूर्वसांसद खतिवडाले भने ।
संसदीय सुनुवाइको इतिहासमा यसअघि समितिले प्रधान्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गरेको थियो ।
त्यस्तै विवादमा परेपछि निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधान र राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको नाम अस्वीकार गरेको थियो ।
त्यस्तै ४५ दिन सम्म सुनुवाइ नै नभएका कारण मुस्लिम आयोगका अध्यक्षमा समिम मिया अन्सारी स्वत: अनुमोदन भएका थिए ।
यी हुन् संसदीय समितिबाट अनुमोदन भएका नामहरू–
डा. निश्चलनाथ पाण्डे भारत
कल्याणराज शर्मा, चीन
चिरनजंग थापा, अमेरिका
गौरवशमशेर जबरा, बेलायत
सरु जोशी, जर्मनी
सुरेश कुमार कर्ण, इजरायल
पद्माक्षी राणा, ओमान
संगम श्रेष्ठ, दक्षिण कोरिया
प्राप्ति शेरचन, स्पेन
डा. मञ्चला झा, श्रीलंका
प्रतिक्रिया 4