२ कात्तिक, सुर्खेत । जुम्लाको हिमा गाउँपालिका-२, ओदीमा द्वन्द्वकालीन समयमा बारुद भरिएको आशंका गरिएको पाइप विस्फोट हुँदा दुई जना बालक घाइते भएका छन्। घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ।
आज सोमबार पाइप काट्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पाइप काट्ने क्रममा विस्फोट हुँदा दुई बालक घाइते भएका हुन्।
उनका अनुसार पाइपभित्र धेरै समयअघि बारुद भरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। विस्फोटको वास्तविक कारण र पाइपभित्र रहेको पदार्थबारे भने अनुसन्धानबाट थप खुल्नेछ।
स्थानीय तारा रोकायाका अनुसार दलबहादुर रोकायाका अन्दाजी १४ वर्षीय छोरा बलबहादुर रोकाया गम्भीर घाइते भएका छन्। विस्फोटमा उनको बुढीऔँलामा गम्भीर चोट लागेर छियाछिया भएको छ।
गम्भीर घाइते बालकलाई सिंजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला पुर्याइएको छ। अस्पतालमा उनको उपचार सुरु गरिएको छ।
द्वन्द्वकालमा प्रयोग भएका विस्फोटक पदार्थ तथा बारुद भरिएका वस्तु लामो समयसम्म असुरक्षित अवस्थामा रहँदा यस्ता घटना हुन सक्ने जोखिम देखिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया 4