+
+
Shares

बिक्दैन भनेको एक डोको रुख टमाटर, जसले फेरिदियो लक्ष्मीको दैनिकी

लक्ष्मीले १४-१५ रोपनी जग्गामा करिब १ हजार ५ सय रुख टमाटरका बिरुवा रोपेकी छिन् । रुख टमाटर रोपेपछि आम्दानी मात्रै बढेको छैन, वन्यजन्तुको आतंक पनि रोकिएको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८३ कात्तिक ४ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुम छथर गाउँपालिका–२ की लक्ष्मीकुमारी थापा ठकुरीले १४–१५ रोपनीमा करिब १ हजार ५ सय रुख टमाटरका बिरुवा रोपेर वार्षिक आम्दानी बढाएकी छिन् ।
  • उनका अनुसार एउटा सिजनमा साढे ४ लाखजतिको बिक्री हुन्छ र एउटै बोटबाट ४० देखि ५० किलोसम्म टमाटर उत्पादन हुन्छ ।
  • बाँदर, दुम्सी र मृगले बाली नष्ट गरेपछि सुरु गरिएको रुख टमाटर खेती देखेर गाउँका अरू किसानले पनि व्यावसायिक रूपमा लगाउन थालेका छन् ।

४ कात्तिक, विराटनगर । पाँच वर्षअघि दसैंका बेला बारीका ३–४ वटा बोटमा रुख टमाटर लटरम्म फलेका थिए ।

तेह्रथुम छथर गाउँपालिका–२ की लक्ष्मीकुमारी थापा ठकुरीले ती फल टिपेर डोकोमा हालिन् र बजार लैजाने तरखर गरिन् । त्यो देखेर श्रीमानले भनेका थिए, ‘किन दु:ख गर्छौ,  बिक्दैन !’

तर, डोको बोकेर नजिकैको शुक्रबारे बजार पुगिन् । नभन्दै, बजार पुर्‍याएको केही बेरमै त्यो एक डोको टमाटर बिक्री भयो र उनको हातमा झन्डै ३ हजार रुपैयाँ पर्‍यो ।

त्यही एक डोको टमाटर बिक्रीले लक्ष्मीको सोच नै बदलिदियो । उनले सोचिन् रुख टमाटरमा राम्रो सम्भावना पो रहेछ । त्यसपछि उनले घरकै बोटका पाकेका फलबाट बिउ (दल) राखिन् र बिरुवा उमारिन् । पहिले मकै, कोदो र आलु फल्ने सबै बारीमा अहिले रुख टमाटरका बोट छन् ।

१४–१५ रोपनी जग्गामा उनले करिब १ हजार ५ सय रुख टमाटरका बिरुवा रोपेकी छिन् । रुख टमाटर रोपेपछि आम्दानी मात्रै बढेको छैन, वन्यजन्तुको आतंक पनि रोकिएको छ ।

‘पहिले खेती सबै बाँदर, दुम्सी र मृगले खान्थे अहिले त्यस्तो  छैन,’ उनी भन्छिन्, ‘आम्दानी पनि राम्रो हुन्छ ।’

बारीमा उनले ७–८ फिटको अन्तरमा रुख टमाटर रोपेकी छिन् । बारीभित्र घुसुवा बालीको रूपमा अकबरे खोर्सानी पनि रोपेकी छिन् ।

ठकुरीका अनुसार रुख टमाटर बाह्रै महिना फल्छ । अहिले सिजनमा भने अलिक बढी फल्छ । रुख टमाटर बोटबाट टिपेको लामो समयसम्म ताजै रहने भएकाले बिग्रिने डर नहुने उनी बताउँछिन् ।

‘एउटा सिजनमा साढे ४ लाखजतिको बिक्री हुन्छ, बजारको समस्या पनि छैन,’ उनी भन्छिन्, ‘विशेष यसको अचार नै हो, माग धेरै भएका कारण पुर्‍याउन सकेको छैन ।’

उनका अनुसार नियमित गोडमेल र स्याहारका कारण एउटै बोटबाट ४० देखि ५० किलोसम्म टमाटर उत्पादन हुन्छ । बाँदर, दुम्सी र मृगले मकैबाली नष्ट गरेपछि विकल्प खोज्दै  सुरु गरेको रुख टमाटर देखेर गाउँमा अरू किसानले पनि खेती सुरु गरेका छन् ।

‘हामीले गर्दा हुने रहेछ, पहिले मान्छेलाई थाहा थिएन होला, १–२ बोट रोप्थे अचार खानलाई, यसो कोसेली ल्याइदिने, त्यहाँभन्दा बढी थिएन यसको,’ उनले भनिन्, ‘मैले गरेको देखेपछि गाउँमा अरूले पनि लगाउनुभएको छ, प्रेरणाको स्रोत चाहिँ म नै भन्नुपर्छ ।’

शुक्रबारे बजारका प्रकाश लिम्बूका अनुसार लक्ष्मीको मिहिनेत देखेर अन्य किसानले पनि व्यावसायिक रुख टमाटर खेती सुरु गरेका छन् । बजार राम्रो भएकाले आम्दानी पनि राम्रो भइरहेको छ ।

पहिलो वर्ष २२ क्विन्टल टमाटर प्रतिकिलो ८५ देखि ९० रुपैयाँका दरले बिक्री गरेकी थिइन् । गत वर्ष राम्रो भाउ पाइन् । प्रतिकिलो १ सय २५ रुपैयाँसम्ममा बिक्री गर्दा एकै सिजनमा साढे ४ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको उनले बताइन् । पहिलो वर्ष उत्पादित टमाटर हङकङसम्म समेत पुगेको थियो ।

रुख टमाटर वर्षैभरि फल्ने भएकाले नियमित आम्दानीको राम्रो माध्यम बनेको छ । अचार र तरकारी बनाउन हुने भएकाले बजारमा माग उच्च छ ।

स्थानीयस्तरमै मिहिनेत गरे विदेश जानु नपर्ने उनको सुझाव छ । ‘मिहिनेत त जुनसुकै काममा पनि गर्नैपर्छ,’ उनले भनिन्, ‘ऋण लिएर सही ठाउँमा लगानी गर्‍यौं भने स्वदेशमै पैसा कमाउन गाह्रो छैन ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?