+
+
Shares

प्रहरीका निःशुल्क बस सेवाबाट ३५८५ यात्रु लाभान्वित

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ५ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बडादसैँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बस सेवाबाट काठमाडौं उपत्यकामा ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्।
  • नेपाल प्रहरीले महानवमी र विजयादशमीमा तीन बस चलाएर १ हजार ४०६ जनालाई सेवा दिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
  • सशस्त्र प्रहरीले सोमबारदेखि दुई बसमार्फत सञ्चालन गरेको निःशुल्क सेवाबाट बुधबारसम्म २ हजार १७९ जना सर्वसाधारण लाभान्वित भएका छन्।

५ कात्तिक, काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्।

दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणको आवतजावत सहज बनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट एक हजार ४०६ जना नागरिक लाभान्वित भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा तीनवटा बस निःशुल्क सञ्चालन गरिएका थिए। महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले उक्त सेवा लिएका थिए।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट बुधबारसम्म दुई हजार १७९ जना सर्वसाधारण लाभान्वित भएका छन्। सशस्त्र प्रहरीले गत सोमबारदेखि दुईवटा बसमार्फत सञ्चालन गरेको सेवा शुक्रबारसम्म जारी रहने जनाएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सोमबार ४५० जना, मङ्गलबार ६१६ जना र बुधबार अर्थात् विजयादशमीका दिन एक हजार ११३ जना नागरिकले निःशुल्क बस सेवा लिएका थिए।

सहायक प्रवक्ता थापाले सोमबारदेखि सुरु भएको निःशुल्क बस सेवा शुक्रबारसम्म सञ्चालन हुने जानकारी दिँदै बिहीबार पनि सेवा जारी रहेको बताउनुभयो।

दसैँका बेला टीका थाप्न जाने यात्रुलाई निःशुल्क रूपमा सहज र सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले दुई प्रहरी सङ्गठनले केही वर्षदेखि यस्तो सेवा सञ्चालन गर्दै आएका छन्। यसबाट नागरिकलाई आवतजावतमा सहज भएको र सार्वजनिक यातायातका सवारीसाधनले मनपरी भाडा असुल्ने क्रमसमेत रोकिएको सर्वसाधारणको भनाइ छ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?