News Summary
Generated by OK AI. Editorially reviewed.- एलन मस्कले स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध लगाएको र युक्रेनले सेवा सर्त उल्लङ्घन गरेको बताएका छन्।
- मस्कले अमेरिकाको सैन्य-ग्रेड नेटवर्क स्टारसिल्डमा आएको समस्याका लागि आफू जिम्मेवार नभएको दाबी गरेका छन्।
- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारलिंक र स्टारसिल्ड सेवा सुचारु भएपछि अमेरिकालाई धन्यवाद दिएका छन्।
८ कात्तिक, काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध लगाएको बताएका छन्।
मस्कले युक्रेनमाथि स्टारलिंकको सेवा सर्त उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनका अनुसार, युक्रेनले यस सेवाको प्रयोग सैन्य गतिविधिहरूका लागि गरिरहेको थियो।
यद्यपि, उनले अमेरिकाको सैन्य-ग्रेड नेटवर्क स्टारसिल्डमा आएको समस्याका लागि आफू जिम्मेवार रहेको कुरालाई भने अस्वीकार गरेका छन्।
मस्कको पछिल्लो दाबीमाथि युक्रेनको तर्फबाट हालसम्म कुनै आधिकारिक जवाफ आएको छैन। तर, युक्रेनी राष्ट्रपतिका सल्लाहकार सेरही बेस्क्रेस्तनोभले मस्कको पोस्टलाई निकै अनौठो भनेका छन्।
यसअघि मस्कले जानीजानी युक्रेनको इन्टरनेट कनेक्सनको स्पिड कम गरिदिएको आरोपलाई खारेज गरेका थिए। युक्रेनको भनाइअनुसार, यस समस्याका कारण उसले एक साताभन्दा बढी समयसम्म आफ्ना रक्षात्मक सैन्य गतिविधि सञ्चालन गर्न कठिनाइको सामना गर्नुपरेको थियो।
स्टारलिंक र स्टारसिल्ड इन्टरनेट सेवाको स्पिड पुनः सुचारु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समा पोस्ट गर्दै अमेरिकालाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, ‘यो हाम्रो अग्रपङ्क्तिमा तैनाथ लजिस्टिक प्रणालीका लागि अत्यन्तै महत्त्वपूर्ण छ। साथै, जेट इन्जिनबाट सञ्चालित शाहेद ड्रोन आक्रमणविरुद्ध युक्रेनको रक्षाका लागि पनि यो आवश्यक छ।‘
गत साता रुसी तेल पूर्वाधारहरूमाथि युक्रेनी आक्रमणलाई लिएर अमेरिका र युक्रेनबीच तनाव बढिरहेको समयमा यो विवाद बाहिर आएको थियो।
प्रतिक्रिया 4