News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि शुक्रबार निलम्बन गरेको छ।
- मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ अनुसार दिएको निर्देशन बारम्बार पालना नगरेको र छलफलमा नआएको भन्दै निलम्बनको कारण जनाएको छ।
- गीता राणा समूहले चितवनमा कात्तिक १४ र १५ गते गर्ने विशेष विधान महाधिवेशन नरोकिने बताएको छ।
१३ कात्तिक, काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) दुई वटा समूहको समानान्तर गतिविधिले निलम्बनमा परेको छ ।
गीता राणा समूहले यही कात्तिक १४ र १५ गते चितवनमा विशेष विधान महाधिवेशनको आयोजना गर्दै थियो ।
त्यसको पूर्वसन्ध्यामा गृह मन्त्रालयले एनप्याब्सनलाई शुक्रबार निलम्बन गर्यो । संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम यस मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको भन्दै निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।
सरोकारवाला पक्षहरूलाई छलफल गराइ निर्देशन बमोजिमका कार्य गर्न आग्रह गर्दा नमानेकाले निलम्बन गरिएको गृहको दाबी छ ।
‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
तर राणा समूहले गृहमन्त्रालयले निलम्बन गरेपनि आफूहरूको कार्यक्रम नरोकिने बताएको छ । ‘गृह मन्त्रालयकै निर्देशन अनुसार गर्न लागेका हौँ । भोलि र पर्सिको कार्यक्रम हो,’ पूर्वअध्यक्ष पाण्डव हमालले भने, ‘वर्षिक साधनरण सभा गर्न लागेका हौँ ।’
विवाद के हो ?
एन प्याब्सनको ७ औँ महाधिवेशनपछि विवाद सुरु भएको हो । २०७८ साल फागुन २२ र २३ गते नेपालगञ्जमा भएको महाधिवेशनमा अध्यक्षमा पाण्डव हमाल र सहअध्यक्षमा सुवास न्यौपाने चयन भएका थिए ।
तर अध्यक्षमा दुई जनाले १८/१८ महिना चलाउने भद्र सहमति भएको एनप्याब्सनमा न्यौपाने समूहको दाबी छ । १८ महिना समय बितेपछि हमाललले अध्यक्ष छोड्नन् ।
त्यसपछि पाण्डव समूहले पद हस्तान्तरण नगरेको भन्दै अध्यक्षमा न्यौपानेसहति अर्को कार्यसमिति घोषणा भयो । र, दुई वटा समानान्तर कार्यसमिति चल्यो ।
७औँ महाधिवेशनपछि समानान्तर कार्यक्रम भएको दुबै समूहले स्वीकार गरेका छन् । ‘दुई वटा समानान्तर भएको हो,’ हमालले भने, ‘सिंगो कार्यकाल हुँदा हुदै उहाँले (न्यौपाने)छुट्टै खोल्न भयो ।’
तर, दुवै पक्षले आफूहरू आधिकारिक रहेको दाबी पनि गरिरहेका छन् । ‘हामी आधिकारिक हौँ । उहाँहरूले नियम विपरीत समानान्तर कार्यक्रम गरिरहनु भएको हो,’ न्यौपानले भने ।
त्यसिपछि २०८१ फागुनमा ८ औं महाधिवेशन भयो । दुवै समूहले छुट्टछुट्टै महाधिवेशन गरेका थिए । एउटा समूहबाट गीता राणा अध्यक्ष बनिन् । अर्को समूहबाट न्यौपाने अध्यक्ष बने ।
निलम्बनका गीता राणा समूहले चितवनमा गर्न लागेको कार्यक्रम नरोकिने बताएको छ ।
‘हामी कार्यक्रमको लागि चितवन जाँदै छौँ । गृह मन्त्रालयकै सहमतिमा गर्न लागेका हौँ,’ हमालले भने, ‘गृहको सूचनामा कुनै हस्ताक्षर केही छैन । हाम्रो कार्यक्रम रोकिदैन ।’
न्यौपाने समूहले भने चितवनको कार्यक्रम नियम विपरीत भएको दाबी गरेको छ । ७ औँ महाधिवेशनसम्म एनप्याब्सनमा ११४७ प्रतिनिधि थिए । ८ औँ बाट विवाद भएपछि प्रतनिधि दुईतिर विभाजित भएका छन् ।
प्रतिक्रिया 4