News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ वा धरपकड गर्नु पार्टीको नीति, सिद्धान्त र संविधानविपरीत हुने बताएका छन्।
- उनले समाचार कक्षमा प्रवेश गरेर दबाब दिने, प्रभाव पार्ने वा सोधीखोजी गर्ने कार्य पनि पार्टीको आधिकारिक लाइन नभएको स्पष्ट पारेका छन्।
- खरेलले पछिल्लो पत्रकार पक्राउ र धरपकडबारे पार्टीले आन्तरिक छलफल गरिरहेको र वास्तविकता बुझेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने बताए।
१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्।
पत्रकारलाई समाचारकै विषयमा पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको समेत विपरीत हुने उनको भनाइ छ।
खरेलले नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको उल्लेख गर्दै रास्वपा त्यसको पक्षमा स्पष्ट रहेको बताए।
उनले अनलाइनखबरसँग भने, ‘पत्रकारलाई कुनै पनि बहानामा समाचारकै आधारमा पक्राउ गर्नु चाहिँ त्यो पार्टीको हाम्रो नीतिमा पनि छैन, सिद्धान्तमा पनि छैन। नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई जुन मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको छ, त्यसको स्पष्ट पक्षमा पार्टी छ।’
समाचार लेखेकै विषयमा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने, प्रभाव पार्ने वा धरपकड गर्ने कार्य पार्टीको आधिकारिक लाइन नभएको उनले स्पष्ट पारे।
‘समाचार लेखेकै आधारमा, समाचारकै विषयमा समाचार कक्षमा गएर धरपकड गर्ने अथवा पक्राउ गर्ने अथवा सोधीखोजी गर्ने भन्ने कुराहरू पार्टीको नीति विपरीत छ। पार्टीको सिद्धान्तविपरीत छ। संविधानविपरीत छ। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विपरीत छ भन्ने कुरामा पार्टी स्पष्ट छ,’ खरेलले भने।
यद्यपि, पछिल्लो समय सञ्चारकर्मी पक्राउ तथा धरपकडका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विवरणबारे पार्टीले आन्तरिक रूपमा छलफल गरिरहेको उनले जानकारी दिए।
विशेष घटनामा के भएको हो, पत्रकारलाई किन पक्राउ गरियो र धरपकड गर्नुको कारण के थियो भन्ने विषयमा सबै विवरण नबुझी निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ।
‘सम्बन्धित केसमा किन लगियो, कसरी धरपकड गरियो, के कारणले गरियो भन्ने कुराहरू सञ्चारमाध्यममा आएकै आधारमा सबै कुरा भन्ने कुरा त भएन,’ उनले भने।
खरेलका अनुसार पार्टीले सम्बन्धित घटनाको वास्तविकता बुझेर छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्नेछ। तर, कुनै पनि पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने वा समाचारकै विषयमा धरपकड गर्ने कार्य स्वीकार्य नहुने विषयमा पार्टीको धारणा स्पष्ट रहेको उनले दोहोर्याए।
उनले संविधानले दिएको मौलिक अधिकारको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको पनि बताए।
आजै नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उता नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन् । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै त्यहीँ बसेका छन् ।
प्रतिक्रिया 4