१५ कात्तिक, सुर्खेत । आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेका छन् ।
शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित दानिगढ क्षेत्रमा फसेका उनीहरूको उद्धार हुन सकेको छैन । उनीहरू फसेको जानकारी जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा प्राप्त भएको थियो ।
दुई महिला र चार पुरुषसहितका भारतीय पर्यटक डोल्पोबुद्ध गाउँपालिकाको धोबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा हिमपातमा परेका हुन् । शे–फोक्सुण्डो गाउँपालिका–४ को सल्दाङ र वडा नम्बर ८ बीचको हिमाली क्षेत्रमा पर्ने दानिगढमा बाक्लो हिउँ जमेर आवतजावत अवरुद्ध भएपछि उनीहरू त्यहाँ रोकिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार फसेका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजल त्रिवेद कुमार, आदित्य सिंह, दिपलीना बिस्वास र राजेश दे रहेका छन् ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भए पनि सुर्खेतस्थित सेनाको हवाई बेसमा रहेको हेलिकप्टरमा प्राविधिक समस्या आएपछि उद्धारमा ढिलाइ भएको हो । निजी क्षेत्रका हेलिकप्टरसमेत सुर्खेतमा उपलब्ध नहुँदा तत्काल वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल धाकालले बताइन् ।
मौसमको चेतावनी बेवास्ता
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार भारतीय पर्यटकहरू आवश्यक प्रशासनिक अनुमति नलिई डोल्पा पुगेका थिए । उनीहरूले पर्यटकका लागि निर्धारित नियमित पदमार्ग प्रयोग नगरी वैकल्पिक बाटो हुँदै हिमाली क्षेत्रमा यात्रा गरेका थिए ।
खराब मौसम र भारी हिमपातको जोखिम रहेकाले हिमाली क्षेत्रमा नजान सुझाव दिइएको अवस्थामा पनि उनीहरूले यात्रा अघि बढाएका थिए । स्थानीयस्तरबाट समेत मौसम प्रतिकूल रहेकाले जोखिमपूर्ण बाटो प्रयोग नगर्न सुझाव दिइएको थियो । तर, उक्त सुझावलाई बेवास्ता गर्दै यात्रा गर्दा उनीहरू हिमपातमा फसेको प्रशासनको भनाइ छ ।
नियमित पदमार्गभन्दा फरक बाटो प्रयोग गरेर यात्रा गर्दा पर्यटकको अवस्थाबारे जानकारी लिन र आपत्कालीन उद्धारको समन्वय गर्न थप कठिनाइ हुने गरेको छ । विशेषगरी सञ्चार सम्पर्क कमजोर रहेको उपल्लो डोल्पाका हिमाली क्षेत्रमा भारी हिमपातपछि पदमार्ग अवरुद्ध हुँदा उद्धार थप चुनौतीपूर्ण बन्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार उपल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा नेपाली १४९, सार्क मुलुकका ४४ र अन्य विदेशी ५१ गरी २४४ जना पर्यटक रहेका थिए । हिमपातका कारण फसेका छ जना भारतीय पर्यटक पनि यही संख्याभित्रका हुन् ।
उपल्लो डोल्पा प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, बौद्ध संस्कृति र शे–फोक्सुण्डो तालका कारण विदेशी पर्यटकको आकर्षणको केन्द्र हो । तर, पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा, पदमार्गको निगरानी र आपत्कालीन उद्धारको तयारी पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ ।
दुर्गम भूगोलका कारण उपल्लो डोल्पामा भारी हिमपात हुँदा पदमार्ग अवरुद्ध हुने र सञ्चार सम्पर्कसमेत विच्छेद हुने गर्छ । यस्तो अवस्थामा उद्धारको मुख्य विकल्प हेलिकप्टर हुने भए पनि आवश्यक परेको समयमा हेलिकप्टर उपलब्ध नहुँदा पर्यटकको सुरक्षामा चुनौती थपिएको छ ।
प्रतिक्रिया 4