News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग ९ रनले हार्दै लगातार दोस्रो हार बेहोरेको छ।
- पोखराले १४८ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ९ विकेट गुमाएर १३८ रनमात्र बनायो, जहाँ कप्तान कुशल भुर्तेलले ३५ रन बनाए पनि अन्य ब्याटरले साथ दिएनन्।
- जनकपुरका तृतराज दासले ५५ बलमा ६१ रन बनाएर टोलीलाई १४७ रनसम्म पुर्याए र प्लेयर अफ द म्याच भए।
१५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पोखरा एभेन्जर्सको कमजोर ब्याटिङले निरन्तरता पाउँदा टोलीले लगातार दोस्रो हार बेहोरेको छ।
आइतबार जनकपुर बोल्ट्ससँग ९ रनले पराजित भएको पोखरा जितका लागि १४८ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ९ विकेट गुमाएर १३८ रनमा सीमित भयो।
बलिङमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको पोखराले ब्याटिङमा भने फेरि निराशाजनक प्रदर्शन गर्यो। कप्तान कुशल भुर्तेलबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
जनकपुरले दिएको लक्ष्य पछ्याउँदा पोखराको ब्याटिङ सुरुदेखि नै दबाबमा परेको थियो। नियमित अन्तरालमा विकेट गुमाएको पोखराले लक्ष्यसम्म पुग्न सकेन।
यसअघि आफ्नो पहिलो खेलमा पोखराले सुदूरपश्चिम विरुद्ध २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो, जसलाई सुदूरपश्चिमले चेज गरेको थियो ।
आजको खेलमा पोखराले १४८ रनको लक्ष्य पूरा गर्न सकेन । टसका क्रममा कप्तान कुशलले बेलुका डिउ आउने र चेज गर्न सहज हुने बताएपनि ब्याटिङमा भने त्यस्तो देखिएन ।
अर्कोतर्फ पोखराका फिल्डरले धेरै मिसफिल्ड हरू गरेका थिए भने ओभर थ्रो पनि गइरहेका थिए जसका कारण केही रनहरू बढी खर्चिए ।
यस जितसँगै जनकपुरले तीन खेलमा दोस्रो जित निकालेको छ। पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ।

विदेशी बलर चले, ब्याटिङ फेरि कमजोर
पोखराका विदेशी बलरले जनकपुरको सुरुवाती आक्रामक ब्याटिङलाई रोकेका थिए। शाकिब अल हसनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। चमिका करुणारत्नेले २ तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले १–१ विकेट लिए।
जनकपुरले पहिलो पाँच ओभरमा विकेट नगुमाई ४५ रन बनाएको थियो। तर पोखराका महेदी हसनले पावरप्लेको अन्तिम ओभर मेडन राख्दै दबाब सिर्जना गरे।
सातौं ओभरमा शाकिबले विकेट लिए भने नवौं ओभरमा शाकिबले नै अर्को विकेट निकाले। पाँच ओभरमा ४५ रन बनाएको जनकपुर १० ओभरमा २ विकेट गुमाएर ५७ रनमा पुगेको थियो।
बलिङमा जनकपुरलाई रोकेको पोखराले ब्याटिङमा भने त्यही प्रदर्शन दोहोर्याउन सकेन। ओपनर महेदी हसन ४ बलमा ८ रन बनाएर आउट भए। दिनेश खरेल ८ बलमा ३ रन बनाएर स्टम्पिङ भए।
कप्तान कुशल भुर्तेलले केहीबेर आक्रामक शट खेल्दै इनिङ सम्हाले पनि उनी ३५ रन बनाएर आउट भएपछि पोखरा ७ ओभरमा ५३ रनमा ३ विकेट गुमाएको अवस्थामा पुग्यो।

भुर्तेलको विकेटपछि पोखराको रनगति सुस्त बन्यो। अर्जुन घर्ती १५ बलमा ७ रन बनाएर आउट भए। शाकिब अल हसनले १७ बलमा ९ रन मात्र बनाउन सके। त्यसपछि किरण ठगुन्नाले दुई चौका र एक छक्का प्रहार गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे पनि १३औँ ओभरमा आउट भए।
मोहम्मद सैफुद्दिन १०० रन नपुग्दै सातौँ विकेटका रूपमा बोल्ड भए। चमिका करुणारत्ने पनि १६.३ ओभरमा हर्मीत सिंहको बलमा क्याच आउट भए। त्यसपछि बिपिन खत्री र बिपिन आचार्यले टोलीलाई अन्तिम ओभरसम्म पुर्याए पनि जित दिलाउन सकेनन्।
जनकपुरका लागि भने ९ मध्ये ८ विकेट विदेशी खेलाडीले नै लिए । मोइन अलीले ३ विकेट लिँदा हर्मीत सिंह र सेफ हसनले २-२ तथा जिमी नीशमले १ विकेट लिएका थिए । अर्को एक विकेट ललित राजवंशीको नाममा रह्यो ।
पोखराका बलर बिपिन खत्रीले भने पावरप्लेमा विकेट निकाल्न नसक्नु टोलीका लागि कमजोरी बनेको बताए। उनका अनुसार पिच केही सुस्त भएकाले ब्याटिङ सहज थिएन। तर जनकपुरका ब्याटरले धैर्यताका साथ खेलेको उनले स्वीकार गरे।
तृतराजको धैर्यवान् इनिङ
जनकपुरले सुरुवातमा आक्रामक ब्याटिङ गरे पनि पोखराका बलरले लगातार विकेट निकाल्दा ठूलो स्कोर बनाउन सकेन। तर तृतराज दासले एक एन्ड सम्हाल्दै धैर्यपूर्ण ब्याटिङ गरे।
उनले ५५ बलमा ६१ रन बनाए। उनको इनिङकै मद्दतमा जनकपुरले पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
तृतराज खेलका प्लेयर अफ द म्याच घोषित भए। विदेशी खेलाडीसँगै क्रिजमा खेल्न पाउँदा र टोलीको जितमा योगदान दिन पाउँदा खुसी लागेको उनले बताए।

‘विदेशी स्टारसँगै क्रिजमा खेल्न पाउँदा र टिमको जितमा राम्रो इनिङ खेल्न पाउँदा खुसी लागेको छ। आत्मविश्वास पनि बढेको छ। यही लय कायम राख्ने प्रयास गर्नेछु,’ उनले भने।
पावरप्लेपछि एक तर्फबाट नियमित विकेट गइरहँदा पनि तृत क्रिजमा टिकेर खेलिरहेका थिए । त्यही इनिङ मद्दतमा जनकपुरले २० ओभरमा १४७ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्न सक्यो ।
प्रतिक्रिया 4