+
+
Shares

एक महिनामै भित्रिए १ लाख ३२ हजार पर्यटक, भारतीयलाई उछिन्दै अमेरिकी अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अक्टोबर २०२६ मा १ लाख ३२ हजार ८१४ पर्यटक नेपाल आएका छन्, जसमा १७ हजार ४३७ अमेरिकी पर्यटक पहिलो स्थानमा रहेका छन् ।
  • त्यही महिनामा १२ हजार ९७ भारतीय पर्यटक आएका छन्, अघिल्लो वर्षको सोही महिनाको १७ हजार २९८ बाट ठूलो गिरावट आएको छ ।
  • यस वर्ष अक्टोबरमा चीनबाट ११ हजार ६९५, बेलायतबाट ९ हजार ३८५ र अष्ट्रेलियाबाट ९ हजार ३५२ पर्यटक नेपाल आएका छन् ।

१६ कात्तिक, काठमाडौं । नेपालको छिमेकी मुलुक भारतलाई उछिन्दै अमेरिकी पर्यटक एक महिनामा सर्वाधिक संख्यामा नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२६ मा कुल १ लाख ३२ हजार ८१४ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये पहिलो नम्बरमा अमेरिकी पर्यटक आगमन भएको हो । यस महिनामा १७ हजार ४३७ अमेरिकी नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष यसै महिनामा अमेरिकी पर्यटक १३ हजार २८६ आएका थिए ।

यस वर्ष अमेरिकी पर्यटकको आगमन उल्लेख्य बढेको हो । उता, भारतीय पर्यटकको आगमनमा भने ठूलो गिरावट आएको देखिएको छ । यस महिनामा १२ हजार ९७ जना भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्षको अक्टोबर महिनामा भारतीय पर्यटक आगमन १७ हजार २९८ थियो । अमेरिकी पर्यटक आगमन सेप्टम्बर २०२६ को तुलनामा समेत वृद्धि भएको छ । अघिल्लो महिना ८ हजार २९९ अमेरिकी नेपाल भ्रमणमा आएका थिए ।

अक्टोबरमा कुल पर्यटक आगमनमा ३.४ प्रतिशतको सुधार देखिएको छ । अघिल्लो वर्षको अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटक नेपाल भ्रमणमा आएका थिए । यस वर्ष यो संख्या १ लाख ३३ हजार नजिक पुगेको हो । यस महिनामा चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष अक्टोबरमा ६ हजार ७५५ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

चौथो स्थानमा बेलायती पर्यटकको आगमन भएको छ । अक्टोबरमा ९ हजार ३८५ बेलायती पर्यटक आएका छन् । अष्ट्रेलियाबाट ९ हजार ३५२, जर्मनीबाट ६ हजार ११४ पर्यटक नेपाल आएका छन् ।

श्रीलंका समेत टप टेनमा अटाएको छ । यस मुलुकबाट ५ हजार ५६०, बंगलादेशबाट ४ हजार ८९३, फ्रान्सबाट ४ हजार १६४ र म्यानमारबाट ३ हजार २५ पर्यटक आएको तथ्यांक छ ।

भारतीय घट्दा सार्कको हिस्सा खस्कियो, अमेरिकी र यूरोपेलीको हिस्सा वृद्धि

अक्टोबर महिनामा भारतीय पर्यटकको आगमन घट्दा सार्क क्षेत्रको समग्र आगमन खस्किएको छ । यस वर्ष अक्टोबरमा सार्क क्षेत्रबाट २४ हजार ५३ पर्यटक आए । गत आवमा यो संख्या २९ हजार ६० थियो ।

यस वर्ष सार्कबाट १७.२ प्रतिशतको गिरावट आएको छ । यूरोपबाट यस वर्ष ३९ हजार ८७७ पर्यटक आएका छन् । गत आवमा यो संख्या १५ हजार १४८ मात्र थियो । अमेरिकी मुलुकहरूबाट पर्यटक आगमन यस वर्ष अक्टोवरमा २१ हजार २७० जना रह्यो । गत वर्ष सोही महिनामा १६ हजार ४०७ पर्यटक आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?