News Summary
Generated by OK AI. Editorially reviewed.- सांग्रिला मोटर्सले नेपालमा लिपमोटर बी ०३ एक्स ग्राहकलाई हस्तान्तरण गर्न शुरू गरेको छ, र पहिलो समूहका ग्राहकले गाडी पाइसकेका छन्।
- कम्पनीले काठमाडौंमा सफल सडक परीक्षण र औपचारिक सार्वजनिक प्रदर्शनपछि बुकिङ गर्ने ग्राहकलाई गाडी उपलब्ध गराउन थालेको हो।
- लिपमोटर बी ०३ एक्समा १४५ किलोवाट मोटर, ५३ किलोवाट घण्टा ब्याट्री, १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ५०५ किलोमिटर रेन्ज रहेको कम्पनीले जनाएको छ।
१६ कात्तिक, काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी ०३ एक्स ग्राहकलाई हस्तान्तरण सुरु गरेको छ। ग्राहकको उत्साहजनक माग र प्रारम्भिक बुकिङपछि कम्पनीले गाडी हस्तान्तरण प्रक्रिया अघि बढाएको हो।
काठमाडौंमा सफल सडक परीक्षण तथा औपचारिक सार्वजनिक प्रदर्शन सम्पन्न भएपछि कम्पनीले गाडी हस्तान्तरण सुरु गरेको हो। पहिलो समूहका ग्राहकले गाडी प्राप्त गरिसकेका छन्। यससँगै लिपमोटर बी ०३ एक्स नेपाली सडकमा गुड्न थालेको छ।
सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले सुरुदेखि नै बी ०३ एक्सप्रति ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको बताए। बुकिङपछि गाडी हस्तान्तरणको चरणमा प्रवेश गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले ग्राहकलाई आधुनिक प्रविधि र उच्च गुणस्तरको विद्युतीय सवारी अनुभव प्रदान गर्ने उद्देश्य रहेको बताए।
कम्पनीप्रति विश्वास व्यक्त गर्ने ग्राहकलाई धन्यवाद दिँदै उनले गाडीको प्रतीक्षामा रहेका अन्य ग्राहकलाई पनि छिटो र सहज रूपमा गाडी उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जानकारी दिए।
नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर तयार गरिएको लिपमोटर बी ०३ एक्समा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ। यसमा १९० मिलिमिटरको भुइँदेखि गाडीको तल्लो भागसम्मको उचाइ रहेको छ भने एकपटक पूर्ण चार्ज गर्दा चिनियाँ परीक्षण मापदण्डअनुसार ५०५ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ।
यस गाडीमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १६ मिनेट मात्रै लाग्ने द्रुत चार्जिङ सुविधा रहेको छ। भित्री भागमा १४।६ इन्चको स्पर्शपर्दा, १२ वटा ध्वनिवाहकयुक्त ध्वनि प्रणाली तथा दोस्रो तहको उन्नत चालक सहायता तथा सुरक्षा प्रविधि समावेश गरिएको छ।
त्यस्तै, सामान राख्ने पछाडिको भागमा ५१० लिटर क्षमता रहेको छ। पछाडिका सिटहरू मिलाएर राख्दा उक्त क्षमता बढेर १ हजार ६०५ लिटरसम्म पुग्ने कम्पनीले जनाएको छ।
विश्वप्रसिद्ध अटोमोबाइल समूह स्टेलान्टिसको विश्वव्यापी सहयोग प्राप्त लिपमोटर चीनको प्रमुख नयाँ ऊर्जा सवारीसाधन उत्पादक कम्पनीमध्ये एक हो। स्टेलान्टिस समूहअन्तर्गत मासेराती, अल्फा रोमियो र प्युजो लगायतका १४ वटा सवारी ब्रान्ड रहेका छन्।
कम्पनीका अनुसार लिपमोटरले विश्वभर १९ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। सन् २०२५ को जुलाइदेखि अक्टोबरसम्म लगातार चार महिना प्रत्येक महिना एक लाखभन्दा बढी सवारीसाधन बिक्री गर्न कम्पनी सफल भएको थियो ।
हाल कम्पनीको बिक्री तथा सेवा सञ्जाल ४५ भन्दा बढी देशमा फैलिएको छ। विश्वभर दुई हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत कम्पनीले ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया 4