+
+
Shares

बलिउड अभिनेत्रीहरूले ‘पटका नपड्काउनु’ भन्दा किन चर्काइयो बहस ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिया मिर्जाले प्रदूषणरहित दिपावली अभियानका लागि बनाएको भिडियो आलोचनापछि हटाइएपछि पटाका नपड्काउन आग्रह गरेकी छिन् ।
  • सोनी राजदानले पटका पड्काउनु जीवनविरोधी, स्वास्थ्यविरोधी र राष्ट्रविरोधी भएको भन्दै बालबालिकाको स्वास्थ्यलाई जोखिममा नपार्न आग्रह गरेकी छिन् ।
  • सुनिता आहुजाले कुकुर, ज्येष्ठ नागरिक र बिरामीलाई असर हुने भन्दै पटका बिना परिवारसँग घरमै दिपावली मनाउन सुझाव दिएकी छिन् ।

एकथरीले दिपावलीको उत्सव मनाइरहँदा अर्कोथरीका लागि पटका आतंक बन्छ । प्रकृति र प्राणीबीचको घनिष्ठतालाई उजागर गर्ने यो पर्वमा पटकाले धेरैलाई अत्याउने गर्छ । बुढापाका, सुत्केरी र साना बालबच्चाहरू यसको मारमा पर्ने गर्छन् ।

सबैभन्दा बढी चाहिँ यसले कुकुर, काग, परेवालगायत मानव बस्तीमा आश्रय लिने पशुपन्छीलाई तर्साउने गर्छ । ध्वनि र वायु प्रदूषणका लागि त यो जिम्मेवार छँदैछ ।

यही कारण तिहारको तिथि नजिकिँदै जाँदा धेरैजसो मानिस पटाकाको सम्भावित आतंकबाट विचलित हुन पुग्छन् । उनीहरूले पटका नपड्काउनका लागि हारगुहार पनि गर्छन् । तर, एकथरी जमातले भने यसको विरोधमा चर्को स्वर उठाउने गर्छन् ।

यतिबेला बलिउड सेलिब्रेटीबीच यही बहस छेडिएको छ ।

पटाकाले प्राणी र प्रकृतिमा पुर्‍याउन सक्ने सम्भावित हानिबारे केही दिनअघि अभिनेत्री दिया मिर्जाले भिडियो सन्देश बनाएकी थिइन्। दिपावलीका बेला पड्काइने पटाकाले मानिस मात्र होइन, पशुप्राणी र प्रकृतिलाई समेत कति घातक असर गर्छ भन्ने बताउँदै उनले त्यसो नगर्न आग्रह गरेकी थिइन्। उनले बृहन्मुम्बई महानगरपालिका (बीएमसी) र बम्बई उच्च अदालतको आग्रहमा ‘प्रदूषणरहित दिपावली अभियान’ का लागि बनाएको सचेतनामूलक भिडियोको एउटा समूहले व्यापक आलोचना गरेको थियो । त्यसपछि सो भिडियो सामाजिक सञ्जालबाट हटाइएको थियो ।

पछि यो विवाद कानुनी प्रक्रियासम्म पुग्यो ।

यद्यपि, सो भिडियो हटाइएपछि पटाकाको विषयमा बहस झन् चर्किएको छ । यसमा अन्य अभिनेत्रीहरूले पनि ‘पटका पड्काउनु हुँदैन’ भन्दै आवाज उठाउन थालेका छन् ।

दिया मिर्जा यो विवादबाट पूर्ण रूपमा बाहिर निस्कन नपाउँदै बलिउडकी अर्की चर्चित अभिनेत्रीले पनि यस्तै धारणा सार्वजनिक गरेकी छिन् । अभिनेत्री आलिया भट्टकी आमा तथा वरिष्ठ अभिनेत्री सोनी राजदानले पनि पटका नपड्काउने विषयमा खुलेर आफ्नो धारणा राखेकी छिन् ।

सोनीले आफ्नो भनाइ स्पष्ट पार्दै साना बालबालिकाका अभिभावकलाई सोध्न आग्रह गरेकी छिन् । उनीहरूलाई मात्र थाहा हुन्छ कि विषाक्त हावा र वायु प्रदूषणका कारण निर्दोष बालबालिकाले कति सास्ती भोगिरहेका छन् । खराब हावाका कारण बिरामी परेर बालबालिका कैयौँ दिनसम्म विद्यालय जान पाउँदैनन् । यसले उनीहरूको पढाइमा समेत ठूलो असर पारिरहेको छ ।

बालबालिकालाई सास फेर्नसमेत गाह्रो भइरहेको अवस्थामा मनोरञ्जन वा उत्सवका नाममा पटका पड्काउनु कुनै पनि हिसाबले बुद्धिमानीपूर्ण काम नहुने अभिनेत्रीको भनाइ छ ।

आफ्नो पोस्टमा सोनी राजदानले कडा शब्दमा लेखेकी छिन्, ‘यस्तो गम्भीर अवस्थामा पनि कसैले एउटा मात्र पटका पड्काउनु ठीक हो भन्छ भने मेरो जवाफ छ, यस्तो सोच पूर्ण रूपमा जीवनविरोधी, स्वास्थ्यविरोधी र राष्ट्रविरोधी हो ।’

उनले राम्रो स्वास्थ्य कुनै बाध्यता नभई आफू र आफ्ना भावी पुस्ताका बालबालिकाका लागि गरिने छनोट भएको बताएकी छिन् । यदि हामी आफैँले आफ्ना बालबालिकाको स्वास्थ्यलाई जोखिममा पार्छौँ भने त्यो जीवन र मानवता दुवैविरुद्धको गलत निर्णय हुने उनको भनाइ छ ।

सोनी राजदानको यो पोस्ट अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ ।

दिपावलीमा पटका पड्काउने र प्रदूषणको विषयमा बहस चलिरहेका बेला सुनिता आहुजाले पनि पटका नपड्काई पर्व मनाउन सबैलाई आग्रह गरेकी छिन् । उनले पटाकाको ठूलो आवाजले कुकुरलगायत अन्य जनावरहरू डराउने र त्रासमा पर्ने बताएकी छिन् । यसले ज्येष्ठ नागरिक र बिरामी व्यक्तिहरूलाई समेत असहज हुने उनको भनाइ छ ।

उनले पटका पड्काउनुको सट्टा परिवार र साथीभाइसँग घरमै बसेर मिठा परिकार खाने, संगीत सुन्ने, नाच्ने र तास खेलेर दिपावली मनाउन सुझाव दिएकी छिन् । उनको सन्देश सरल छ, दिपावली खुसी साटासाट गर्ने पर्व हो । तर, आफ्नो खुसी मनाउँदा ठूलो आवाजका कारण पीडा भोग्नुपर्ने मानिस र जनावरलाई पनि ध्यान दिनुपर्छ ।

यी अभिनेत्रीहरूको अपिलसँगै प्रदूषण, जनावर र संवेदनशील अवस्थामा रहेका मानिसहरूलाई ध्यानमा राखेर पर्व मनाउने विषयमा फेरि बहस सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?