News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर कपूर स्टारर ‘रामायण’ले पहिलो दिन विश्वभर ७७ करोड ५० लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
- सैकनिल्कका अनुसार फिल्मले भारतमा मात्रै ६४ करोड ८५ लाख भारु नेट कमाइ गर्दै सन् २०२६ को दोस्रो ठूलो हिन्दी ओपनिङ गरेको छ ।
- फिल्मले ‘पठान’ र ‘एनिमल’लाई उछिने पनि ‘आदिपुरुष’ र ‘धुरन्धर : द रिभेन्ज’को पहिलो दिनको रेकर्ड तोड्न सकेन ।
- २५ हजार २०० शोमा प्रदर्शन भएको फिल्मको कमाइमा हिन्दी संस्करणले ४७ करोड ५० लाख भारु नेट कलेक्सनसहित सबैभन्दा ठूलो योगदान दिएको छ ।
रणवीर कपूर स्टारर फिल्म ‘रामायण’ले प्रदर्शनको पहिलो दिनमै विश्वभरबाट ७७ करोड ५० लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
सैकनिल्कको प्रारम्भिक आँकडाअनुसार फिल्मले भारतमा मात्रै ६४ करोड ८५ लाख भारुको नेट कमाइ गरेको हो ।
यो कमाइसँगै ‘रामायण’ सन् २०२६ मा सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्ममध्ये दोस्रो स्थानमा पुगेको छ ।
यद्यपि, पहिलो दिनको कमाइका हिसाबले फिल्मले प्रभास स्टारर ‘आदिपुरुष’को रेकर्ड भने तोड्न सकेन । सन् २०२३ मा प्रदर्शन भएको ‘आदिपुरुष’ले पहिलो दिन सबै भाषामा ८६ करोड ७५ लाख भारु ग्रस कमाइ गरेको थियो ।
२५ हजारभन्दा बढी शोमा प्रदर्शन, हिन्दी संस्करणको दबदबा
फिल्म देशभर २५ हजार २०० शोमा प्रदर्शन भएको थियो । यसको कमाइमा हिन्दी संस्करणको सबैभन्दा ठूलो योगदान देखिएको छ ।
हिन्दी संस्करणले २० हजार ६७८ शोबाट ४७ करोड ५० लाख भारु नेट कलेक्सन गरेको छ ।
त्यस्तै, कन्नड संस्करणबाट ७ करोड २५ लाख, तेलुगुबाट ६ करोड, तमिलबाट २ करोड ६० लाख र मलयालमबाट १ करोड ५० लाख भारु कमाइ भएको छ ।
विदेशी बजारबाट पनि फिल्मले २० देखि ४० करोड भारुसम्म कमाउने अनुमान गरिएको छ । यो अनुमान पूरा भए फिल्मको विश्वव्यापी कमाइ १०० करोड भारु नाघ्नेछ ।
‘पठान’ र ‘एनिमल’लाई उछिन्यो, ‘आदिपुरुष’भन्दा पछि
पहिलो दिनको कमाइका आधारमा ‘रामायण’ले शाहरुख खानको ‘पठान’ र रणवीर कपूरकै फिल्म ‘एनिमल’को ओपनिङ कलेक्सनलाई पछाडि पारेको छ ।
तर, सन् २०२६ कै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म ‘धुरन्धर : द रिभेन्ज’को रेकर्ड भने तोड्न सकेन । उक्त फिल्मले पहिलो दिन १०२ करोड ५५ लाख भारु नेट कमाइ गरेको थियो ।
महँगो टिकट र चाडपर्वको तयारीले प्रभावित भयो कमाइ ?
फिल्मको पहिलो दिनको कमाइ अपेक्षाभन्दा केही कम हुनुमा विभिन्न कारण रहेको व्यापार विश्लेषकहरूको भनाइ छ । बिहीबार प्रदर्शनमा आएको फिल्म हेर्न दीपावलीको तयारी र यात्राका कारण धेरै परिवार पहिलो दिन नै हलसम्म पुग्न सकेनन् ।
त्यसैगरी, महँगो टिकट मूल्य, प्रचारप्रसारको सीमितता र यसअघि ‘आदिपुरुष’ले दर्शकमा पारेको नकारात्मक प्रभावले पनि केही दर्शकलाई फिल्मप्रति सुरुवातमै सतर्क बनाएको विश्लेषण गरिएको छ ।
रणवीर र यशको अभिनयको चर्चा, दृश्य प्रभावको प्रशंसा
फिल्म प्रदर्शनमा आएसँगै यसको दृश्य प्रभाव (भीएफएक्स) र कलाकारको अभिनयबारे दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । विशेषगरी भगवान् रामको भूमिकामा रणवीर कपूर र रावणको भूमिकामा देखिएका यशको अभिनयले चर्चा पाएको छ ।
फिल्ममा साई पल्लवी सीताको भूमिकामा र रवि दुबे लक्ष्मणको भूमिकामा देखिएका छन् । पौराणिक कथालाई ठूलो पर्दामा प्रस्तुत गरिएको यसको दृश्य प्रभावलाई पनि दर्शकले प्रशंसा गरेका छन् ।
‘रामायण’लाई भारतीय चलचित्र इतिहासकै महँगो परियोजनामध्ये एक मानिएको छ । विभिन्न सञ्चारमाध्यमका रिपोर्टअनुसार फिल्मका दुवै भागको कुल बजेट करिब ४ हजार करोड भारु रहेको छ ।
ठूलो बजेट, चर्चित कलाकार र पौराणिक कथामा आधारित भएकाले प्रदर्शनअघि नै फिल्मप्रति दर्शकको उत्सुकता उच्च थियो । अब पहिलो दिनको कमाइपछि फिल्मले आगामी दिनमा कस्तो व्यापार गर्छ भन्ने चासो बढेको छ ।
प्रतिक्रिया 4