+
एनपीएल २०२६ :

एनपीएल अब ‘बिजनेस एन्ड’ तर्फ, कसको प्लेअफ सम्भावना कति ?

२०८३ कात्तिक  २२ गते ११:५४ २०८३ कात्तिक २२ गते ११:५४

अब लिग चरणका १० खेल बाँकी छन् भने हालसम्म कुनै पनि टोलीको प्लेअफमा स्थान पक्का भएको छैन । कुनै टोली बाहिरिसकेका पनि छैनन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगमा लिग चरणका १८ खेल सकिँदा लुम्बिनी लायन्स सात अंकसहित शीर्षस्थानमा र पोखरा एभेन्जर्स अंकविहीन अवस्थामा छ।
  • अब बाँकी १० खेलपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्, र हरेक खेलले अंकतालिका तथा समीकरणमा ठूलो प्रभाव पार्नेछ।
  • सोमबार कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच खेल हुनेछ, मंगलबार जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

२२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका १८ खेलहरू सकिइसकेका छन् । कात्तिक ९ देखि सुरु भएको प्रतियोगितामा २१ गतेसम्म १८ खेल सकिँदा अब लिग चरणमा १० खेल मात्र बाँकी छन् ।

आइतबार लक्ष्मीपूजाको दिन भएकाले रेस्ट डे राखिएको छ, कुनै खेल हुने छैनन् । बुधबार भाइटीकाको दिन अर्को रेस्ट डे छ । आज र बुधबारबाहेक अन्य दिन १० खेलहरू सम्पन्न हुनेछन् र अर्को आइतबारसम्म लिग चरणका २८ वटै खेल सकिनेछन् ।

आठ टोलीमध्ये चार टोली प्लेअफमा पुग्नेछन्। अहिलेसम्म लुम्बिनी लायन्स सात अंकसहित शीर्षस्थानमा रहँदा काठमाडौं गोर्खाज ४ खेलमा र सुदूरपश्चिम रोयल्स ५ खेलमा समान ६ अंकसहित क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। चितवन राइनोज चार खेलमा पाँच अंकसहित चौथो स्थानमा छ।

जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किङ्स समान चार अंकसहित प्लेअफ दौडमा छन्। चार खेल खेलेको पोखरा एभेन्जर्स भने अहिलेसम्म अंकविहीन छ।

लिग चरणमा अब १० खेल मात्र बाँकी रहँदा प्लेअफ समीकरण पनि अब विस्तारै बन्दै जानेछन् । अब हुने हरेक खेल प्लेअफको समीकरणका लागि महत्त्वपूर्ण हुनेछन् ।

बाँकी खेलको नतिजाले शीर्ष चारको समीकरणमा ठूलो प्रभाव पार्नेछ। दुई टोली विजोर अंकमा रहेकाले त्यसले पनि अंकतालिकामा रोमाञ्च थप्ने सम्भावना उत्तिकै छ ।

हालसम्मको अवस्थामा प्लेअफ पुग्ने कुन टिमको सम्भावना कति छ भन्नेबारे चर्चा गरेका छौं ।

लुम्बिनी लायन्स

शनिबार आफ्नो पहिलो हार बेहोरेको लुम्बिनी पाँच खेलमा सात अंकसहित अंकतालिकाको शीर्षस्थानमा छ। टोलीले तीन खेल जितेको छ भने एक खेल नतिजविहीन भएको छ। लुम्बिनीले अब कर्णाली याक्स र विराटनगर किङ्ससँग खेल्न बाँकी छ।

बाँकी दुवै खेल जिते लुम्बिनी ११ अंकमा पुग्नेछ। एक खेल जिते पनि टोलीको अंक ९ हुनेछ। शीर्ष चारमा रहेको लुम्बिनीका लागि अबको लक्ष्य शीर्षस्थान कायम राख्दै प्लेअफ स्थान सुरक्षित गर्नु हुनेछ।

तर, बाँकी दुवै खेलमा हार बेहोरे अन्य टोलीको नतिजामा निर्भर रहनुपर्नेछ।

खेल बाँकी : २, प्लेअफ सम्भावना : ६०%

काठमान्डु गोर्खाज

काठमान्डु चार खेलमा तीन जित र एक हारसहित ६ अंक जोडेर दोस्रो स्थानमा छ। टोलीले चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ।

काठमान्डुले तीनवटै खेल जिते टोली १२ अंकमा पुग्नेछ र शीर्षस्थानमा उक्लिने सम्भावना पनि रहनेछ। दुई खेल जिते १० अंक हुनेछ।

त्यसैले काठमान्डुसँग प्लेअफ स्थान सुरक्षित गर्ने मात्र नभई लिग चरणको शीर्ष स्थानका लागि प्रतिस्पर्धा गर्ने अवसर पनि छ।

काठमान्डुले तीनवटै खेल जित्नुको अर्थ चितवन, सुदूरलाई प्लेअफ सम्भावनामा धक्का लाग्नेछ ।

खेल बाँकी : ३, प्लेअफ सम्भावना : ६०%

सुदूरपश्चिम रोयल्स

सुरुवाती दुई सिजन लिग चरणमा डोमिनेट गरेको सुदूरपश्चिम यसपटक अलि फरक लयमा देखिएको छ । पाँच खेलमा तीन जितसहित ६ अंक जोडेर सुदूर तेस्रो स्थानमा छ। टोलीले अब जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजसँग खेल्न बाँकी छ।

यी दुई खेलले सुदूरपश्चिमसँगै विपक्षी टोलीको प्लेअफ यात्रामा पनि अर्थ राख्नेछ । सुदूरको कोणबाट हेर्दा दुई खेल जिते १० अंकमा पुग्नेछ। एक खेल जिते आठ अंक हुनेछ, जुन पर्याप्त नबन्न पनि सक्छ।

शीर्ष चारमा रहेको सुदूरपश्चिमका लागि बाँकी दुई खेलको नतिजा महत्त्वपूर्ण छ। विशेषगरी काठमाडौंसँगको खेलले अंकतालिकाको माथिल्लो स्थानमा रहने टोलीको टुंगो लगाउन प्रभाव पार्न सक्छ।

खेल बाँकी : २, प्लेअफ सम्भावना : ५०%

चितवन राइनोज

चितवन चार खेलमा दुई जित, एक हार र एक बराबरीसहित पाँच अंक जोडेर चौथो स्थानमा छ। टोलीले अब काठमान्डु, जनकपुर र कर्णालीसँग खेल्न बाँकी छ।

तीनवटै खेल जिते टोली ११ अंकमा पुग्नेछ। दुई खेल जिते नौ अंक हुनेछ। अहिले शीर्ष चारमा रहे पनि चितवनको स्थान सुरक्षित भइसकेको छैन।

बाँकी खेलमा राम्रो नतिजा निकाल्न सके टोलीसँग शीर्ष स्थानमा पुग्ने सम्भावनासमेत छ।

खेल बाँकी : ३, प्लेअफ सम्भावना : ५०%

जनकपुर बोल्ट्स

जनकपुर पाँच खेलमा दुई जित र तीन हारसहित चार अंक जोडेर पाँचौं स्थानमा छ। टोलीले अब सुदूरपश्चिम र चितवनसँग खेल्न बाँकी छ।

जनकपुरले दुवै खेल जिते आठ अंकमा पुग्नेछ। एक खेल मात्र जिते ६ अंक हुनेछ। त्यसैले जनकपुरका लागि बाँकी दुवै खेल निकै महत्त्वपूर्ण छन्।

दुवै खेल जिते पनि शीर्ष चारमा पुग्न अन्य टोलीको नतिजा र नेट रनरेटले प्रभाव पार्नेछ।

खेल बाँकी : २, प्लेअफ सम्भावना : ४०%

कर्णाली याक्स

कर्णाली चार खेलमा दुई जित र दुई हारसहित चार अंक जोडेर छैटौं स्थानमा छ। टोलीले पोखरा, लुम्बिनी र चितवनसँग खेल्न बाँकी छ।

कर्णालीसँग तीन खेल बाँकी रहेकाले प्लेअफमा पुग्ने बलियो सम्भावना कायमै छ। तीनवटै खेल जिते टोली १० अंकमा पुग्नेछ। दुई खेल जिते आठ अंक हुनेछ।

त्यसैले कर्णालीका लागि अबको प्रत्येक खेल महत्त्वपूर्ण हुनेछ। विशेषगरी लुम्बिनी र चितवनसँगका खेलले शीर्ष चारको दौडमा प्रभाव पार्नेछन्।

खेल बाँकी : ३, प्लेअफ सम्भावना : ५०%

विराटनगर किङ्स

विराटनगर पाँच खेलमा दुई जित र तीन हारसहित चार अंक जोडेर सातौं स्थानमा छ। टोलीले पोखरा र लुम्बिनीसँग खेल्न बाँकी छ।

विराटनगरले दुवै खेल जिते आठ अंकमा पुग्नेछ। तर, अब हारको विकल्प निकै कम छ। दुई खेल जिते पनि अन्य टोलीको नतिजा र नेट रनरेटमा निर्भर रहनुपर्नेछ।

त्यसैले विराटनगरका लागि बाँकी दुवै खेल जित्नु पहिलो आवश्यकता हुनेछ।

खेल बाँकी : २, प्लेअफ सम्भावना : ४०%

पोखरा एभेन्जर्स

.

पोखरा चार खेलमा चारै हार बेहोर्दै अंकविहीन छ। टोलीले कर्णाली, विराटनगर र काठमाडौंसँग खेल्न बाँकी छ।

पोखराले तीनवटै खेल जिते अधिकतम ६ अंकमा पुग्न सक्छ। तर, ६ अंकले मात्र प्लेअफ स्थान सुनिश्चित गर्दैन।

शीर्ष चारमा रहेका टोलीसहित अन्य प्रतिस्पर्धीको नतिजा पनि पोखराको पक्षमा आउनुपर्नेछ। लगातार चौथो हारपछि पोखराका लागि अब बाँकी सबै खेल जित्नुपर्ने दबाब छ।

अन्य टोलीको नतिजा अनुकूल भए मात्र उसको प्लेअफ सम्भावना जीवित रहनेछ। अब एक हारले पोखरा प्लेअफ दौडबाट बाहिरिने नै पक्का हुनेछ ।

खेल बाँकी : ३, प्लेअफ सम्भावना : १०%

***

लिग चरणका बाँकी १० खेलमध्ये सोमबार दुई र मंगलबार एक खेल हुनेछ। सोमबार कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। मंगलबार जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

यी तीन खेलपछि अंकतालिकाको अवस्था थप स्पष्ट हुनेछ। त्यसपछि बुधबार विश्राम हुनेछ। बिहीबार कर्णालीले लुम्बिनी र विराटनगरले पोखरासँग खेल्नेछन्। शुक्रबार काठमाडौं र सुदूरपश्चिम तथा चितवन र जनकपुरबीच प्रतिस्पर्धा हुनेछ। शनिबार विराटनगर र लुम्बिनी भिड्नेछन्।

लिग चरणको अन्तिम दिन आइतबार चितवन र कर्णाली तथा काठमाडौं र पोखराबीच खेल हुनेछ। त्यसपछि शीर्ष चार टोलीको टुंगो लाग्नेछ।

एनपीएल २०२६ प्लेअफ समीकरण
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय