News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ मा ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटक भारत गएका र नेपाल टप टेनमा परेर १०औं स्थानमा पुगेको छ ।
- सन् २०२५ मा २ लाख १८ हजार ६ सय ४१ नेपालीले भारत भ्रमण गरे, जुन अघिल्लो वर्षको २ लाख २ हजार ५ सय १ भन्दा बढी हो ।
- भारतीय पर्यटन मन्त्रालयका अनुसार नेपाली पर्यटकको प्रमुख सिजन सेप्टेम्बर र कम जाने समय मे देखिएको छ ।
२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् ।
नेपालबाट स्वास्थ्योपचार, धर्मकर्म र घुमफिरमा बढी नेपाली पर्यटक भारत जाने गर्छन् । गत वर्ष २ लाख १८ हजार ६ सय ४१ नेपालीले भारत भ्रमण गरे । यो संख्या भारत भ्रमण गर्ने टप टेन देशभित्र पर्न सफल भएको छ । जुन कुल पर्यटक आगमनको २.४ प्रतिशत हिस्सा हो ।
भारतीय पर्यटन मन्त्रालयको वार्षिक तथ्यांक अनुसार सन् २०२४ को तुलनामा २०२५ मा भारत भ्रमणमा जाने नेपाली पर्यटक संख्या बढेको छ । अघिल्लो वर्ष २ लाख २ हजार ५ सय १ नेपालीले भारत भ्रमण गरेको तथ्यांक छ । त्यस वर्ष नेपाल ११औं स्थानमा थियो । नेपालीले भारत भ्रमण गर्ने प्रमुख सिजन सेप्टेम्बर देखिएको छ । कम जाने समय भने मे हो ।
२०२५ मा भारत भ्रमणमा जाने पर्यटकको पहिलो स्थानमा अमेरिका छ । अमेरिकी पर्यटक १८ लाख ८१ हजार ७ सय ७२ जना भारत भ्रमणमा गएका थिए । जुन कुल आगमनको २०.१ प्रतिशत बराबर हो ।
दोस्रो स्थानमा बेलायत छ । २०२५ मा बेलायतबाट १० लाख ८४ हजार ३ सय १० पर्यटकलाई भारतले स्वागत गरेको थियो । तेस्रो स्थानमा अस्ट्रेलिया छ । त्यहाँबाट ५ लाख ४५ हजार ४ सय ३८ पर्यटक भारत भ्रमण गरेको मन्त्रालयको तथ्यांक छ ।
त्यसैगरी क्यानडा चौथो स्थानमा छ । क्यानडाबाट ५ लाख ४४ हजार ३ सय २६ पर्यटक भारत भ्रमणमा आएका छन् । छिमेकी बंगलादेशबाट ४ लाख ६८ हजार ६ सय २१ पर्यटकलाई भारतले स्वागत गरेको छ ।
अघिल्लो वर्ष २०२४ मा बंगलादेश दोस्रो स्थानमा थियो । त्यस वर्ष १७ लाख ५० हजार १ सय ६५ बंगलादेशी पर्यटक भारत भ्रमणमा गएकोमा २०२५ मा यो संख्यामा भारी गिरावट देखिएको छ ।
२०२५ मा भारत भ्रमण गर्ने पर्यटक (प्रमुख १० देश)
| देश | पर्यटक संख्या |
| अमेरिका | १८,४१,७७२ |
| बेलायत | १०,८४,३१० |
| अस्ट्रेलिया | ५,४५,४३८ |
| क्यानडा | ५,४४,३२६ |
| बंगलादेश | ४,६८,६२१ |
| मलेसिया | ३,३६,८३२ |
| श्रीलंका | ३,०६,४२१ |
| जर्मनी | २,७३,५२६ |
| जापान | २,१९,१७४ |
| नेपाल | २,१८,६४१ |
२०२५ मा विश्वभरि डेढ अर्ब मानिस घुमफिरमा निस्किएका थिए । त्यसमध्ये धेरै विदेशी पर्यटक आकर्षित गर्ने देशमध्ये भारत २२औं स्थानमा थियो ।
प्रतिक्रिया 4