२६ कात्तिक, काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको चर्चाप्रति टिप्पणी गर्दै आन्दोलनभन्दा जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।
‘अहिले आन्दोलनको आवश्यकता छैन। आन्दोलन गरेर देश निर्माण हुँदैन,’ उनले भने ।
उनले सरकार ढाल्ने उद्देश्यले आन्दोलन गर्नुभन्दा सुकुमवासीलाई घर उपलब्ध गराउन र बाढीपीडितको पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
‘अहिले सरकार ढाल्न आन्दोलन गर्ने होइन, सुकुमवासीलाई घर बनाइदिन आन्दोलन गर्नुपर्यो,’ उनले भने ।
धमलाले सरकारलाई सुशासन स्थापना गर्न, बढ्दो महँगी नियन्त्रण गर्न तथा सुकुमवासी र बाढीपीडितका समस्या समाधान गर्न आग्रह गरे । प्रधानमन्त्री र अर्थमन्त्रीले मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो ।
बाढीपीडितको पुनःस्थापना तथा पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले आगामी ६ महिनाभित्र पीडितका लागि घर निर्माण गरिसक्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4