News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी-६ चिसापानीगढी दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई तत्काल उचित राहत दिन सरकारसँग माग गरेको छ।
- कांग्रेसले दुर्घटनामा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न आग्रह गरेको छ।
- बिहीबार बिहान काठमाडौंबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकातर्फ जाँदै गरेको माइक्रोबस चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु र ६ जना गम्भीर घाइते भएका थिए।
२७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी—६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न माग गरेको छ ।
कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत सरकारसँग बिहीबार चिसापानीगढीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न माग गरेको हो ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा दुर्घटनाका घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको प्रबन्ध गर्न पनि माग गरिएको छ ।
पछिल्लो समय देशभर सडक दुर्घटनाका घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको भन्दै कांग्रेसले सडक दुर्घटनाको बढ्दो जोखिमलाई न्यूनीकरणका लागि तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
‘यस्ता दुर्घटनाका कारणहरूको गहन अध्ययन गर्नुका साथै सडक सुरक्षा, सवारी साधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गरी प्रभावकारी नीतिगत तथा व्यावहारिक सुधारका उपाय अवलम्बन गर्न नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ कांग्रेसले भनेको छ ।
काठमाडौंबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकाको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी-६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ६ जना गम्भीर घाइते भएका थिए ।
प्रतिक्रिया 4