काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को गीत ‘बाँसैको सुप्लाखे’ दर्शकले रुचाएका हुन् । युट्युब राखिएको ५ दिनमा यो गीत २३ लाख बढीले हेरेका छन् ।
गीतले सिनेमाप्रति उत्सुकता जगाएको दर्शकले बताइरहेका छन् ।
गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ । यो गीत टिकटकमा मात्रै २० हजार भन्दा बढी भिडियोमा प्रयोग भइसकेको छ । प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ । प्रेममा रहेका युवायुवतीले इसारा इसारैमा पोखेको मनको भाव छ ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय विजय बराल र अञ्जना बराइली छन् । उनीहरूको नृत्यको पनि दर्शकले तारिफ गरिरहेका छन् ।
‘सिन्दुरे जात्रा’ लाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन् । उनीहरूको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली फिल्म इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’ मा सँगै काम गरेको थियो ।
फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ ।
फिल्म मंसिर १८ गते रिलिज हुँदैछ ।
प्रतिक्रिया 4