+
दशौं राष्ट्रिय खेलकुद : :

करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

२०८३ कात्तिक  २८ गते १९:०८ २०८३ कात्तिक २८ गते १९:०८

महासचिवले उमेर हद नराख्न पत्र पठाएपछि अध्यक्षले सामाजिक सञ्जालबाटै विश्व कराते महासंघको नियमाअनुसार गर्न निर्देशन दिएका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशौं राष्ट्रिय खेलकुदमा कराते खेलका लागि उमेर हद राख्ने कि नराख्ने भन्ने विवादमा राष्ट्रिय खेलकुद परिषद् र नेपाल कराते महासंघबीच मतभेद देखिएको छ।
  • प्राविधिक उपसमितिले विश्व कराते महासंघको नियमअनुसार कातामा १६ वर्ष र कुमुतेमा १८ वर्षको उमेर हद तोके पनि पछि त्यो हटाएर पत्राचार गरेको छ।
  • कराते महासंघका अध्यक्ष युवराज लामाले उमेर हदविना कराते हुन नसक्ने बताउँदै विश्व कराते महासंघ र एसियन कराते महासंघको नियमअनुसार खेलाउनुपर्ने जिकिर गरेका छन्।

२८ कात्तिक, काठमाडौं । १२ असोजमा दशौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल संघको नियमको आधारमा ३२ वटै खेलको उमेर हद कायम गर्‍यो ।

जसमा विश्व कराते महासंघको नियमअनुसार करातेतर्फ कातामा कम्तीमा १६ वर्ष र कुमुतेमा कम्तीमा १८ वर्ष हुनुपर्ने व्यवस्था गरियो ।

तर, २२ असोजमा करातेमा कुनै पनि उमेर समूह आवश्यक नपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदेश खेलकुद परिषद्लाई पत्र पठायो ।

दशौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिको कार्यादेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल संघको नियमानुसार खेल सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।

तर, राखेपले करातेमा विश्व कराते महासंघको व्यवस्था विपरित उमेरसमूह आवश्यक नपर्ने भन्दै पत्र पठाउन पुग्यो ।

त्यसैबेला कराते महासंघका अध्यक्ष युवराज लामाले सामाजिक सञ्जालमार्फत नै जिल्ला तथा प्रदेश विश्व कराते महासंघ र एसियन कराते महासंघको नियमअनुसार गर्न निर्देशन जारी गरे ।

दशौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिका संयोजक धनिराम चौधरी सुरुमा विश्व कराते महासंघको नियमअनुसार उमेर हद कायम गरिएको भएपनि नेपाल कराते महासंघका महासचिव दाबा गुरुङको पत्रपछि हटाइएको बताउँछन् ।

‘पहिलो विश्व कराते महासंघको नियमअनुसार राखेका थियौं । पछि कराते महासंघको महासचिव दाबा गुरुङले खेलाडी १४/१५ वर्षका छन्, उमेर हद राख्नुहुँदैन भनेर पत्र पठाउनुभयो । कराते महासंघले नै पत्र पठाएपछि त्यही अनुसार नै गरौं भन्ने कुरा भयो र उमेर हद हटाएर पत्र पठायौं,’ उनी भन्छन् ।

चौधरीकाअनुसार नेपाल कराते महासंघका महासचिव गुरुङले उमेर हद हटाउन पत्राचार गरेका थिए । तर, महासंघका अध्यक्ष लामा भने उमेर हदविना कराते हुन नसक्ने जिकिर गर्छन् ।

‘उमेर हद नभए त कराते हुँदै हुँदैन नि । पीएचडीसँग १० क्लास भिडाएर हुन्छ ?’ उनले प्रश्न गरे । सिनियर र जुनियर एकै ठाउँमा खेल्ने भन्ने विषयमा आफ्नो विमति रहेको अध्यक्ष लामाको तर्क छ ।

उनी भन्छन्, ‘प्रदेशका साथीहरुले तल्लो तौल समूहमा पनि खेल्न पाउँ भनिसकेपछि राष्ट्रिय खेलकुद परिषद्लाई लेखेको पत्र हो । त्यो कुरामा विमति होइन । सिनियर र जुनियर एकै ठाउँमा खेल्ने भन्नेमा विमति हो ।’

विश्व कराते महासंघको नियम नै आधिकारिक हुने अध्यक्ष लामाको भनाइ छ । तर, महासचिव गुरुङको तर्क भने फरक छ । आयोजक राखेपको निर्णयअनुसार खेल हुने दाबी गर्छन् ।

‘यो राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय गेम हो । उहाँहरूले जे भन्नुहुन्छ । त्यहीअनुसार हुन्छ,’ उनी भन्छन् । दशौं खेलकुद सबैले खेल्न पाउनुपर्ने महासचिव गुरुङको तर्क छ ।

‘सबै खेलाडीले खेल्ने हो । उनीहरूलाई कुन क्याटेगोरीमा राख्ने त्यो हाम्रो अधिकारको कुरा हो । यो खेल्न पाउँछ, यो खेल्न पाउँदैन भनेर करातेको नाममा ठगी गरेर खाने मान्छेले त्यो भन्न मिल्दैन,’ उनी भन्छन्, ‘हामीले के गर्ने के नगर्ने भन्ने कुरा जिल्लादेखि प्रदेश कमिटीहरुलाई जानकारी भइसकेको छ ।’

अहिले दशौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमिति नै करातेमा उमेर समूह राख्ने वा नराख्ने भन्नेमा दुविधामा छ । कराते महासंघको महासचिवको पत्रमार्फत उमेर हद हटाएको राखेपलाई पछि अध्यक्ष लामाले आफुलाई थाहा नै नभएको बताएका थिए ।

‘महासचिवको पत्रअनुसार उमेर हद संशोधन गर्‍यौं । तर, पछि अध्यक्षले नै मलाई थाहा छैन भन्नुभयो । त्यसो हो भने पत्राचार गरिदिनुस् । हामी म्यासेज सर्कुलर गरिदिन्छौं भनेको थियौं । उहाँहरू पत्र नै पठाउनुभएन,’ प्राविधिक उपसमिति संयोजक चौधरीले भने ।

निर्णय राखेपको भएपनि विवाद संघका दुई पदाधिकारीहरूको हो । कराते महासंघका अध्यक्ष लामा र महासचिव गुरुङबीच मतभेद हुँदा त्यसको चपेडामा राखेप परिरहेको छ । चौधरीले भने, ‘हामी पनि दुविधामा छौं । छलफल पनि धेरै गर्‍यौं । धेरै आग्रह गर्‍यौं । उहाँहरूले पत्राचार नै गर्नुभएन । पत्राचार नगरिकन हामीले कसरी अर्काे निर्णय गर्ने ?’

नियमविपरित खेलाउँदा विश्व कराते महासंघबाट मान्यता नपाउने डर करातेमा छ । १४औं दक्षिण एसियाली खेलकुदका लागि दशौं राष्ट्रिय खेलकुद छनोट प्रतियोगिता पनि हुनसक्ने भन्दै नियमअनुसार नै खेल खेलाउनु महासंघकै पदाधिकारी बताउँछन् ।

‘एक/दुइटा खेलाडीलाई खेलाउनका लागि अन्तर्राष्ट्रिय संघविपरीत खेलाउन मिल्दैन । क्याडेट, जुनियर र सिनियरको छुट्टाछुट्टै नै हुन्छ । यो राष्ट्रिय प्रतियोगिता हो,’ कराते महासंघका एक पदाधिकारीले भने ।

उक्त विषयमा छलफल गर्न आइतबार बैठक डाकिएको प्राविधिक उपसमिति संयोजक चौधरी बताए ।

‘कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न भोलि बैठक बोलाएका छौं । त्यहाँबाट केही निचोड निस्किएला,’ उनले भने ।

उमेर हद कराते दशौँ राष्ट्रिय खेलकुद विश्व कराते महासंघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय